सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव


  •    न्युजभित्तो/३ मंसिर २०८१, सोमबार १६:१९ 
  • गण्डकी, ३ मंसिर । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ ।

    प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेस गर्नुभएको हो ।

    स्रोतसाधन र बजेटको अभावमा एक हजार शय्याको विशिष्टीकृत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले भौतिक पूर्वाधार निर्माण, शय्या, औँजार, उपकरणलगायतमा चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव गरिएको मन्त्री पाठकले बताउनुभयो ।

    “प्रदेश स्थापना भएपछि पहिलो प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा विशिष्टीकृत अस्पताल बनाउने निर्णय गरे पनि स्रोतको अभावमा उक्त काम अझैसम्म अगाडि बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाका रुपमा यो अस्पताल समावेश भएर परियोजना कार्यान्वयन हुनसक्यो भने गण्डकी प्रदेशवासीले महत्वपूर्ण लाभ लिन सक्छन् ।”

    मन्त्री पाठकले गण्डकी प्रदेश चीनको भू–भागसँग जोडिएको र हालै यसै प्रदेशमा पर्ने कोराला नाकामा अध्यागमन कार्यालयसमेत स्थापना भएको अवस्थामा द्विपक्षीय लगानी तथा सहयोग आदानप्रदानमा थप सहजता थपिएको उल्लेख गर्नुभयो ।

    “विशिष्टीकृत अस्पताल निर्माणमा गण्डकी प्रदेश सरकार र चीन सरकारबीच सहकार्य हुँदाको अवस्थामा दुवै देशका स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ता र विशेषज्ञका लागि अध्ययन तथा अनुसन्धानको अवसरसमेत सिर्जना हुन्छ”, उहाँले भन्नुभयो ।

    उक्त अस्पताल स्थापना भएपछि क्यान्सर, मुटु, मिर्गौला रोग, जलन जस्ता जटिल स्वास्थ्य समस्यामा हुँदा सर्वसाधारणले प्रदेशमै गुणस्तरीय सेवा पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालमा एयर एम्बुलेन्ससहित आपतकालीन उद्धार सेवा उपलब्ध भई दुर्घटना तथा स्वास्थ्य विपद् व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ ।

    प्रस्तावित उक्त अस्पतालबाट परम्परागत चिनियाँ उपचार, आयुर्वेद चिकित्सा जस्ता सेवासमेत उपलब्ध गराउने उद्देश्य लिइएको मन्त्री पाठकले बताउनुभयो । पछिल्लो समय मुटु, मिर्गौला, क्यान्सर जस्ता रोगको बिरामीको सङ्ख्या बढ्दै गएकाले यी रोगको उपचारका लागि जिल्ला अस्पतालको रिफरल अस्पतालका रुपमा एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणको योजना अगाडि बढाइएको उहाँको भनाइ छ ।

    मन्त्री पाठकले केही समयअघि प्रधानमन्त्री ओलीलाई भेटी कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको २०० रोपनी जग्गा सोही अस्पताल निर्माण प्रयोजनका लागि प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गर्नुभएको थियो ।

    प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा विशिष्टीकृत अस्पतालको योजना समेटिँदै आए पनि जग्गा र बजेट अभावका कारण कार्यान्वयनमा आउन सकेको छैन । “प्रधानमन्त्रीसमक्ष जग्गा व्यवस्थापनलगायत विभिन्न १२ वटा माग मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, उहाँले भन्नुभयो ।

    जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पताल अत्यावश्यक रहेको मन्त्री पाठकले बताउनुभयो । स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित दुई जना पक्राउ
    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
    धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर
    • तीन दिनपछि खुल्यो बिपी राजमार्ग
    • सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
    • खाँदबारी–किमाथाङ्का सडक: ‘ट्रयाक ओपन’ सहित स्तरोन्नति सम्पन्न
    • मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.