सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्ड सरकारका ३० दिनः जनअपेक्षाका काममा भन्दा बढी स्टन्टमा केन्द्रित


  •    न्युजभित्तो/११ माघ २०७९, बुधबार १६:०२ 
  • चितवन,११ माघ । राजनीतिक जीवनको तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कार्यकालको ३० दिन पूरा गरेका छन् । गत मंसिर ४ मा भएको चुनावमा नेपाली कांग्रेससँगको गठबन्धनमार्फत् निर्वाचनमा भाग लिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले नेकपा एमालेलगायतका दलहरुसँगको गठबन्धनमार्फत् सत्तामा छन् ।

    पुस १० मा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतसँग गठबन्धन गरेपश्चात प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यस यताको ३० दिनमा उनले सर्वसाधारणलाई प्रत्यक्ष प्रभाव पार्नेभन्दा पनि लोकप्रिय बन्नका लागि विभिन्न स्टन्टकेन्द्रित कामहरु गरेका छन् ।

    प्रधानमन्त्री पदमा नियुक्त भएपछि प्रचण्डले पहिलो निर्णय नै सुशासन, सेवा प्रवाह र विकास निर्माणका लागि प्रभावकारिता अभिबृद्धि गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । पुस १० मा प्रधानमन्त्री भएपछि कार्यभार सम्हाल्दै उनले गरेको पहिलो निर्णय नै यही थियो ।

    प्रधानमन्त्री भएको दुई दिनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डको भेटघाट भएको थियो । प्रधानमन्त्रीकै निवास खुमलटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो । सुन्तला खाँदै घाम तापिरहेका दुईको तस्बिर सामाजिक सञ्जालमा निकै चर्चित पनि भएको थियो ।

    त्यसपश्चात नियमित भेटवार्तामा व्यस्त रहेका प्रचण्डले आफ्ना दैनिक काम र कार्यक्रमहरुमा नै धेरै समय बिताए । यो अन्तरालमा आम नागरिकमा प्रत्यक्ष प्रभाव पार्ने किमिसको काममा भने उनको धेरै जागरुकता देखिएको थिएन ।

    प्रधानमन्त्री भएपश्चात् प्रचण्डले गरेको पहिलो लोकप्रिय निर्णय अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय गरे । साथै, उनको क्याविनेट बैठकले चालू आर्थिक वर्षका लागि मन्त्रीहरूले वृद्धि भएको तलब नलिने निर्णय पनि गरे । । बैंकको चर्को ब्याजदरको विषयलाई लिएर व्यवसायीहरुले सडक आन्दोलन गरिरहेका बेला प्रचण्डले उनीहरुको मनोबल जितेर लोकप्रिय बन्ने प्रयास पहिलो मन्त्रिपरिषद्को बैठकमै गरे ।

    लोकप्रिय बन्ने शिलशिला अझै बढ्दै गयो । प्रधानमन्त्री प्रचण्डले ‘एमडिएमएस’ प्रणालीलाई तत्काल कार्यान्वयन नगर्न निर्देशन दिए । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस) तत्काल लागू नगर्न भन्दै सामाजिक सञ्जालमार्फत निर्देशन दिएका थिए ।

    दूरसञ्चार प्राधिकरणले पुस १५ बाट लागू गर्ने भनेको यो प्रणालीको विपक्षमा वैदेशिक रोजगारीमा रहेका कामदारहरुले ‘नो रेमिट्यान्स’ भन्ने अभियान चलाएका थिए । सोही अभियानकाबीच प्रधानमन्त्रीको यस्तो निर्देशन आएको थियो । उक्त निर्देशनकै आधारमा दूरसञ्चार प्राधिकरणले तत्काललाई यो प्रणाली लागू नगर्ने भन्दै सूचना सार्वजनिक गरेको थियो ।

    तर, सामाजिक सञ्जालमार्फत् निर्देशन दिएका प्रधानमन्त्री प्रचण्डले केही दिनपश्चात उक्त पोस्ट डिलिट गरेका थिए । प्रधानमन्त्रीले अर्थ मन्त्रालयलाई दिएको निर्देशनात्मक फेसबुक पोस्टलाई उनले चार दिनपछि डिलिट गरेका थिए ।

    त्यस्तै, प्रधानमन्त्री भएपश्चात प्रचण्डको राजनीतिक भ्रमण पनि लोकप्रियताकै लागि गरिएका स्टन्टका रुपमा थिए । पुस १६ मा प्रधानमन्त्री प्रचण्ड नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन पुगेका थिए । पुस १७ मा प्रचण्ड पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा सहभागी हुन पुगेका थिए ।

    तर, उद्घाटन भएको दुई साता बितिसक्दा पनि पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हालसम्म पनि एउटा समेत अन्तराष्ट्रिय विमान उडेको छैन । पुस १८ मा प्रचण्डले सिंहदरबारमा निर्वाचन आयोगका आयुक्तहरुसँग भेटवार्ता गरेका थिए । सोही दिन उनले नेपाल सरकारका सचिवहरुसँग पनि छलफल गरेका थिए । छलफलमा उनले सचिवहरुसँग सम्बन्धित मन्त्रालयको वस्तुस्थितिबारे रिपोर्टिङ गराएका थिए ।

    २३ पुसमा प्रचण्डले काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्न पुगेका थिए । उक्त कार्यक्रममा प्रचण्डले संघीय शिक्षा ऐन आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । उनले अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका लागि केही काम भएको तर ऐन जारी नभएकाले सो ऐनलाई जारी गर्ने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको जनाएका थिए ।

    २४ पुसमा प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँगको छलफल गरेका थिए । उनले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूमिका लागि गम्भिर भएको आश्वासन दिएका थिए ।

    २५ पुसमा प्रधानमन्त्री ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीचको एकीकृत कारोबार शुभारम्भ समारोहमा सम्म पुग्न भ्याएका थिए । सोही दिन प्रचण्ड नेतृत्वको सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका थिए । तर, सरकारको यो कार्यक्रममा पनि लोकप्रियताकेन्द्रित कार्यक्रमहरु मत्रै थिए ।

    २६ पुसमा प्रचण्डले प्रधानमन्त्री पदका लागि प्रतिनिधिसभामा विश्वासको मत मागेका थिए । जसमा उनको पक्षमा असाधारण बहुमत पाएका थिए । प्रतिपक्षमा रहने भनेको नेपाली कांग्रेसका सांसदहरुले पनि प्रचण्डलाई नै विश्वासको मत दिएका थिए ।

    २७ पुसमा प्रचण्ड गोरखा पुगेका थिए । गोर्खा महोत्सवको उद्घाटनका लागि प्रचण्ड गोरखा पुगेका थिए । २९ पुसमा प्रचण्ड नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा पुगे । उक्त कार्यक्रममा प्रचण्डले हस्तकला व्यवसायीहरुलाई हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने आश्वासन दिएका थिए ।

    ३० पुसमा प्रचण्ड भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिष्ट आन्दोलनका प्रेरक भुवन दाई’ नामक पुस्तकको लोकापर्णमा पुगेका थिए । १ माघमा राष्ट्रिय योग दिवसमा प्रचण्ड सानोठिमीमा आयोजित कार्यक्रममा भाग लिन पुगेका थिए ।

    सोही दिन पोखरामा विमान दुर्घटना हुँदा प्रचण्डले आकस्मिक रुपमा मन्त्रीपरिषदको बैठक आह्वान गरेका थिए । सो दिन प्रचण्डसँगै गृहमन्त्री रवि लामिछानेलगायतले त्रिभुवन विमानस्थलमा गई विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न उद्दार समन्वयमा गएर घटनाको विस्तृत विवरण लिएका थिए । सोही दिन मन्त्रिपरिषदको निर्णय विमान दुर्घटनालाई लिएर उच्चस्तरिय जाँचबुझ आयोग गठन गर्ने रहेको थियो ।

    सँगै सरकारले आइतबार भएको विमान दुर्घटनाका लागि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । शोक बिदाका रुपमा सरकारले गरेको निर्णयलाई लिएर सामाजिक सञ्जालमा विरोध पनि भएको थियो । ३ माघमा प्रचण्डले मिटरब्याजी समस्यामा परेकाहरुको समस्या तत्कालै समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । लामो समयदेखि मिटरब्याजी समस्याले पीडित भएका किसानहरु माइतीघरमा आई आन्दोलन गरिरहेका थिए । प्रधानमन्त्रीले उनीहरुलाई आश्वासन दिएर समस्यालाई तत्काल समाधान गर्ने आश्वासन दिएका थिए ।

    ६ माघमा प्रचण्डले आफ्नो मृत्युपश्चात सबै अंगदान गर्ने घोषणा गरेका थिए । सोही दिन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा पुगेका प्रचण्डले विदेशमा रहेका नेपालीको हितलाई आफ्नो कामको केन्द्र बनाउने भन्दै आश्वासन दिएका थिए । ७ माघमा डा. सन्दूक रुइतसँग भेट गरेर उनले तिलगंगा आँखा अस्पताललाई मानिक विश्वविद्यालय बनाउने प्रतिबद्धता दिएका थिए । ८ माघमा सोनाम ल्होछारका दिन आयोजिक कार्यक्रममा पुगेका प्रचण्डले तामाङ संस्कृतिको जर्गेना गर्ने आश्वासन दिएका थिए ।

    ३० दिने कार्यकाल पूरा हुँदासम्म प्रचण्डको व्यवस्तता देखिएको भएतापनि यसले प्रत्यक्षरुपमा आम नागरिकप्रति प्रभाव पार्ने काम गरेका देखिँदैनन् । नीतिगत सुधार होस वा सर्वसाधारणको हितमा गरिने निर्णयको पक्षमा होस, प्रचण्डको हालसम्मको कार्यकालमा यस्ता निर्णय भएका छैनन् ।

    ९ माघमा भने प्रचण्डले देश संघीयतामा गएपश्चत निरन्तर उठिरहेको मागको विषयमा बोलेका थिए । उनले सुदुरपश्चिमका मख्यमन्त्री राजेन्द्रसिंह रावललगायतको टोलीसँग भेटपछि प्रदेशमा मन्त्रालय घटाउने भनेका थिए । उक्त विषयमा अहिले विभिन्न प्रदेशमा मन्त्रालयको संख्या कम पनि भइरहेको छ ।

    प्रधानमन्त्रीमा नियुक्त भएपश्चात प्रतिनिधिसभामा बोल्दै प्रचण्डले पटकपटक आम नागरिकमाझमा आश्वासन छरिरहेका छन् ।

    पुस २५ मा प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु जनताको निगरानीमा रहने भन्दलै जनताको जीवनमा सार्थकता ल्याउन पर्ने किसिमले काम गर्ने बताएका थिए ।

    तर, व्यवहारमा भने उनले यो समयमा गरेका निर्णयहरुमा जनताको जीवनमा प्रभाव पार्ने वा भूमिका खेल्ने किसिमका नीतिगत परिवर्तन वा निर्णयहरु भने भएका छैनन् ।

    प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले भनेका थिए, ‘राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिमा केन्द्रित गर्नुछ । आर्थिक क्रान्तिको साझा संकल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु छ ।’ प्रचण्ड सरकारका मन्त्रीहरु पनि अहिले कर्मचारीलाई निर्देशन दिएर चर्चा बटुल्ने काममा सक्रिय रहन्छन् । अस्पतालमा बिरामी भेट्न जाँदासम्म पत्रकार र युट्युबरहरु लिएर जाने परिपाटीले अहिलेको सरकार काम भन्दा पनि बढी स्टन्टमा अल्झिरहेको देखिन्छ । निर्देशन दिएको भन्दै चर्चा बटुल्न खोज्नु भन्दा पनि नागरिकले अपेक्षा गरे अनुसार अनूभूति हुने गरी काम भएपछि मिडियामा बोल्नु सबैभन्दा उपयुक्त हुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.