सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आफ्नो निर्वाचन क्षेत्रको समस्या बुझ्दै गाउँगाउँमा सांसद रवि लामिछाने


  •    न्युजभित्तो/२३ मंसिर २०७९, शुक्रबार १२:५३ 
  • चितवन,२३  मंसिर । ‘नमस्कार ! आराम हुनुहुन्छ ? मलाई त चिन्नु भएको छैन होला ? म यहाँको जनप्रतिनिधि भर्खरै चुनाव जितेको ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्वर–२ का नवनिर्वाचित सांसद रवि लामिछानेले इच्छाकामना गाँउपालिका वडा नम्वर–१ का ८० वर्षीय भोटे बहादुर चेपाङसँग गरेको सम्वाद हो यो । जनताको समस्या बुझ्न आफ्नो निर्वाचन क्षेत्रको विकट गाउँमा पुग्नुभएका लामिछानेलाई घरको पिँडीमा बसिरहनुभएका भोटेबहादुरले भन्नुभयो, ‘मेरो सुखदुःख यस्तै छ । हाम्रो दुःख हेर्ने भए हेरिदिनुहोस् क्यारे ?’ चुहिने घरको छानो र कुहिएको खाँबो देखाउँदै उहाँले खरको छानो फेर्ने ठूलो धोको रहेको बताउनुभयो । ‘हावाहुरी आउँदा आगलागी हुने डर छ । सरकारले बनाइदिए हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘हाम्रो पहुँचमा छैन । टाठाबाठा ले मात्रै सुविधा लिन्छन् ।’

    जवाफमा सांसद लामिछानेले उनीहरु जस्तै गरिबदुखी र पछाडि परेको समुदायको काम गर्न राजनीतिमा आएको बताउनुभयो । ‘म काम गर्छु, तपाईँहरुको अनुहारमा हाँसो र जीवनमा खुसी ल्याउनका लागि निरन्तर खटिनेछ’ु, उहाँले भन्नुभयो । उहाँले खरको छानो हटाउने सरकारको नीति नै रहेको भन्दै त्यसका लागि पहल गर्ने आश्वासन दिनुभयो । उहाँले गाउँमा भोट माग्न आउन नपाएपनि निर्वाचित भएपछि जनताको समस्या बुझ्न आएको बताउनुभयो ।

    चेपाङ समुदायको बाक्लो बस्ती रहेको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको विभिन्न वडामा पुगेर सांसद लामिछानेले जनताको गुनासो सुन्नुभएको छ । इच्छाकामना गाउँपालिका–१ कोलभन्ज्याङकी लालमाया चेपाङले सांसद लामिछानेलाई निर्वाचनमा विजयी भए लगत्तै भेट्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले गाँउमा तीनवटा प्रमुख समस्या रहेको लामिछानेलाई सुनाउनुभयो ।

    ‘यहाँ सबैभन्दा ठूलो समस्या फोनको छ’ उहाँले भन्नुभयो, ‘घरकै सदस्य हराए पनि अत्तोपत्तो हुँदैन, फोनको सुविधा चाहियो ।’ नेटवर्क नहुँदा फोन गर्न नपाइएको भन्दै उहाँले एनटिसी अथवा एनसेलको टावर राखिदिन माग गर्नुभयो । उहाँले गाउँमा विद्युत्को पोल गाडिसकेको र तार समेत टाँगिसकेको भएपनि बिजुली नबलेको भन्दै छिट्टो उज्यालोमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो ।

    गाउँमा आएको सडक बीचको भीरमा आएर टुङ्गिएको भन्दै उहाँले सडकलाई पूर्णता दिन र नियमित रुपमा सवारीसाधन चल्ने वातावरण बनाइदिन अनुरोध गर्नुभयो । ‘गाउँमा विकास होस् चेपाङ समुदायका दुःखका दिनको अन्त्य होस्’ उहाँले भन्नुभयो । चेपाङ र जनजातिको बसोबास रहेको चितवनको पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य र खाने कुराको समस्या रहेको कालिका नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष महेन्द्र चेपाङले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अझैपनि धेरै बालबालिका शिक्षाको पहुँचबाट टाढा छन्, खान लाउन नपुगेकै कारण विद्यालयको पहुँचमा ल्याउन सकिएको छैन ।’ उहाँले ठाउँठाउँमा छरिएर रहेका चेपाङ समुदायलाई एकीकृत बस्ती बनाएर राख्नुपर्ने सुझाव सांसद लामिछानेलाई दिनुभयो । डाँडापाखामा छरिएर बसेका कारण सबै सुविधा सबै ठाउँमा पु¥याउन समस्या भएको उहाँको भनाइ छ । चेपाङ बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन आवास सुविधा सहितको विद्यालय बनाउनुपर्ने उहाँले बताउनुभयो ।
    गामबेंसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले चेपाङ जातिको उत्थान र उन्नतिका लागि काम गर्नुपर्ने बताउनुभयो । ‘तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि यहाँ ल्याएर बास बसाइयो, तर चेपाङ समुदायको जीवनस्तरमा सुधार ल्याउन सकिएन’, उहाँले भन्नुभयो । चेपाङ गाउँको सुधार गर्ने ठूलो सपना भएपनि काम गर्न नसकिएको उहाँले बताउनुभयो ।

    उहाँले कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पाँचवटा आवासीय विद्यायल सञ्चालन गर्नुपर्ने बताउनुभयो । चेपाङ बालबालिकाले पेटभरी खान पाएमात्र पढ्न विद्यालय आउने उहाँको भनाइ छ । ‘बालबालिकालाई शिक्षा दिएपछि उसको गाउँ उसैले बनाउँछ’, उहाँले भन्नुभयो’, ‘हामीले सबै चेपाङ समुदायलाई शिक्षित हुने वातावरण बनाइदिनुप¥यो ।’ स्वास्थ्यको सवालमा पनि यहाँको समुदाय पछाडि परेको भन्दै उहाँले सरकारी र नीजि दुवै अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभयो ।

    ‘आधारभूत कुराहरु मात्रै पुरा गर्न सक्यौँ भने महाभारत पर्वत श्रृङ्खलामा बसोबास गर्ने चेपाङ समुदायको उत्थान र उन्नती हुन्छ’, उहाँले भन्नुभयो । सांसद लामिछानेले जनप्रतिनिधि जनताको सेवक भएको भन्दै व्याक्तिगत जीवन त्याग्नुपर्ने बताउनुभयो । ‘हाम्रो जस्तो देशमा जनताको सेवामा नै समर्पित हुने हो’ उहाँले भन्नुभयो, ‘जनताको घरगाउँमा पुग्नसके मात्र जनताको समस्या र आवश्यकता बुझ्न सकिन्छ ।’

    उहाँले आफू नियमित रुपमा आफ्नो निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुग्ने बताउनुभयो । अभाव र गरिबीका बीचमा पनि यहाँका प्रसस्त सम्भावनाहरु रहेको सांसद लामिछानेले बताउनुभयो । ‘चेपाङ समुदायका बालबालिकाका लागि मेरो पहिलो काम नै आवासीय विद्यालय विद्यालय बनाउने हुन्छ, जग्गा खोज्दै गर्नुहोला काम सुरु हुन्छ’, उहाँले भन्नुभयो ।

    उहाँले विद्युत् र टेलिफोनको समस्या पनि छिट्टै समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘सबै राजनीतिक दलसँग सहकार्य गरेर काम गर्ने भन्दै उहाँले निर्वाचित जनप्रतिनिधि कुनै पार्टी नहुने भन्दै जनताको भइसकेको बताउनुभयो । ‘यो ठाउँलाई भोट बैंक बनाउने परिपार्टीको अन्त्य गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘चुनावमा भोट माग्न नआएपनि काम गर्न निर्वाचित भए लगत्तै आएको बताउनुभयो ।’ उहाँले चेपाङ समुदायलाई वर्षौँसम्म पछाडि राखेर देश अघि बढ्न नसक्ने भन्दै फिल्डमा र नीतिगत रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.