सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भावी सरकारबारे रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी ‘पर्ख र हेर’ को अवस्थामा


  •    न्युजभित्तो/१४ मंसिर २०७९, बुधबार १६:४८ 
  • चितवन,१४ मंसिर।  पहिलो प्रयासमै संसद्मा बलियो उपस्थिति निश्चित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनका सन्दर्भमा भने ‘पर्ख र हेर’ को अवस्थामा देखिएको छ । चितवनबाट निर्वाचित भएसँगै सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएका रवि लामिछानेले अहिलेसम्म भावी सरकारलाई लिएर कुनै खाले गृहकार्य सुरु गरेका छैनन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकाल प्रतिनिधिसभाको सबै क्षेत्र र समानुपातिकको अन्तिम मत परिणाम आइसकेपछि पार्टीको औपचारिक बैठक बस्ने बताउँछन् । उनले भने, ‘हामीले अहिलेसम्म सरकार गठनका विषयमा औपचारिक छलफल सुरु गरेका छैनौँ । चुनावको अन्तिम परिणाम आइसकेपछि व्यापक तयारीसहित केन्द्रीय समिति बसेर निष्कर्षमा पुग्छौँ ।’

    पार्टीको वसुन्धरास्थित केन्द्रीय कार्यालयमा आउने कार्यकर्ताहरूको सबैभन्दा ठूलो चासोको विषय पनि यही रहेको छ । पार्टी पंक्तिमा सरकारमा जानुपर्छ भन्ने र जानु हुँदैन भन्ने मत आधा–आधा रहेको डा.ढकाल बताउँछन् ।

    ‘एकथरीले हामीलाई अब बन्ने सरकारमा गएर फटाफट काम गर्न सुझाव दिइरहनुभएको छ । अर्काथरीले चाहिँ जनादेश अनुसार प्रतिपक्षमा बसेर सरकारको निगरानी गर्नुपर्ने धारणा राख्नुभएको छ,’ उनले भने ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने भने अहिले चितवनमा छन् । चुनाव जिते लगत्तै उनी जनताका विभिन्न मुद्दाहरूको सम्बोधनका लागि फिल्डमा उत्रिसकेका छन् । उनले ठिमुरा पुल, रामनगर खानेपानी, मलको अभाव, धर्मचोक सडकलगायत अलपत्र परेका आयोजना र नागरिकका समस्याबारे चासो राखेर सरोकारवालाहरुसँग छलफल गरिरहेका छन् । अन्य नेताहरू पनि काठमाडौंमा एकत्रित हुन बाँकी नै छ ।

    आगामी सरकारबारे निर्णय गर्दा पार्टीले व्यक्तिभन्दा एजेन्डालाई प्राथमिकता दिने डा. ढकाल बताउँछन् । ‘हाम्रा एजेन्डाहरू सरकारका प्राथमिकतामा परेनन् भने सरकारमा जानु वा समर्थन गर्नुको औचित्य हुँदैन,’ उनी भन्छन् । खासगरी भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित विषयमा स्वतन्त्र पार्टीको चासो छ ।

    सरकारमा जाने वा नजानेबारे अनिर्णीत रहे पनि भावी प्रधानमन्त्रीमा ‘पुराना अनुहार’ लाई समर्थन नगर्ने मनस्थितिमा स्वतन्त्र पार्टी छ । अहिले चर्चामा रहेका अधिकांश नाममा उसले रुचि देखाएको छैन । यद्यपि, कांग्रेस नेता गगन थापाप्रति पार्टीको ‘सफ्ट कर्नर’ देखिन्छ ।

    गगनले काठमाडौंमा घण्टिका उम्मेदवारहरूलाई भित्री रुपमा सघाएको चर्चा अहिले पनि चलिरहेको छ । यता, रास्वपाले पनि गगनको निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएन । यसलाई लिएर गगन र रास्वपाबीच साँठगाँठ रहेको दाबी कतिपय कांग्रेसकै कार्यकर्ताहरूले गरिरहेका छन् । यदि गगनले कांग्रेसको संसदीय दलको नेता जितेको खण्डमा उनको पक्षमा खुल्न सकिने स्वतन्त्र पार्टीका एक नेताले बताए ।

    ‘अहिल्यै हामीले बोल्दा हतारो हुन्छ । तर, गगनले यदि संसदीय दलको चुनाव जितेको खण्डमा हामी अवश्य समर्थन गर्नेछौँ,’ ती नेताले भने ।

    तर, गगन पार्टीको प्रतिस्पर्धामा असफल भएको खण्डमा चाहिँ स्वतन्त्र पार्टी अर्को विकल्पमा जानुपर्ने हुन्छ । त्यो विकल्प भनेको अर्को कुनै उम्मेदवारलाई समर्थन गर्ने, प्रतिपक्षमा बस्ने वा आफैँले सरकारको नेतृत्व दाबी गर्ने हो । रवि लामिछानेलाई नै प्रधानमन्त्रीका रूपमा प्रस्तावित गर्नुपर्छ भन्नेहरू पनि पार्टीभित्र छन् ।

    रास्वपाको उच्च स्रोतले यदि गगनको बाटो बन्द भएको खण्डमा रवि स्वयम्ले आफूलाई अघि बढाउन सक्ने बतायो ।

    ‘पार्टीको आकारको हिसाबले हामी सानो छौँ । तर, रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्छ भन्ने जमात देशमा ठूलो छ । त्यसैले उहाँले प्रधानमन्त्री पदमा दावेदारी गर्दा त्यो अस्वाभाविक हुँदैन,’ स्रोतले भन्यो ।

    रवि स्वयम्ले भने यसपालि प्रधानमन्त्रीमै दाबी गर्ने खालको मनसाय प्रस्तुत गरेका छैनन् । उनी ‘पर्ख र हेर’ अको अवस्थामा रहेका छन् । आगामी दिनमा हुन सक्ने राजनीतिक विकास क्रमलाई हेरेर रविले निर्णय लिने पार्टी स्रोत बताउँछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.