सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आलेख: वन्यजन्तुप्रतिको बद्लिँदो दृष्टिकोण


  •    न्युजभित्तो/२३ बैशाख २०८३, बुधबार १३:३२ 
  • भैरहवा (रुपन्देही), २३ वैशाख । वन क्षेत्र विस्तार र वन्यजन्तुको सङ्ख्या वृद्धि भएसँगै बर्दिया जिल्लाको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व तीव्र बन्दै गएको छ । 

    विशेषगरी बाघ र हात्तीको गतिविधि बढेपछि स्थानीय बासिन्दा जोखिमपूर्ण अवस्थाबाट गुज्रन बाध्य भएका छन् । वन्यजन्तुको आक्रमणमा पर्ने मुख्य कारणमा दैनिक जीविकोपार्जनसँग सम्बन्धित गतिविधिहरु देखिएका छन् । गाईबस्तु चराउन जाँदा, घाँस काट्न जाँदा र दाउरा वा अन्य वनपैदावर सङ्कलन गर्न जाँदा अधिकांश घटना भएका छन् । 

    बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार पछिल्लो आठ वर्षमा वन्यजन्तुको आक्रमणबाट बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी ४३ वन्यजन्तुको मृत्यु भएको छ । यस्तै मानवीय क्षति, पशुधनको क्षति र अन्नबाली क्षति गरी सोही अवधिमा १३ हजार ५७१ वटा घटना निकुञ्जको तथ्याङ्कबाट देखिन्छ । अधिकांश घटना निकुञ्ज क्षेत्रभन्दा बाहिर वनको सिमानासँग जोडिएका बस्तीमा भएका छन् । करिब ८४ प्रतिशत आक्रमण वनको सिमानाबाट एक किलोमिटरभित्र भएका छन् । 

    ‘बाघ र हात्ती’ अब आम्दानीको स्रोत

    वन्यजन्तुका कारण जोखिम बढेसँगै यस क्षेत्रमा पर्याप्त अवसर पनि देखिएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लास्थित डल्ला होमस्टेले पर्या–पर्यटनमार्फत स्थानीय समुदायको जीवनस्तर उकास्नुका साथै वन्यजन्तु संरक्षणलाई आयआर्जनसँग जोड्ने नमुना अभ्यास प्रस्तुत गरेको छ । यहाँका जैविक मार्ग होमस्टे सञ्चालक मङ्गल थारुले वन्यजन्तुलाई ‘समस्या’ होइन, ‘सम्पत्ति’ का रुपमा हेर्ने दृष्टिकोण विकास गर्दै ‘बाघ, गैँडा र हात्ती कमाउने’ जस्ता नवीन अवधारणामार्फत संरक्षण र समृद्धिको नयाँ आयाम देखाउनुभएको छ । 

    थारुका अनुसार डल्ला होमस्टेको स्थापना केवल पर्यटक आकर्षणका लागि नभई वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले गरिएको हो । “पहिले बाघ र हात्ती देख्दा डर लाग्थ्यो, अहिले तिनै वन्यजन्तु हाम्रो आम्दानीको आधार बनेका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार ‘बाघ कमाउने’ अवधारणाअन्तर्गत रोयल पाटेबाघ अवलोकनका लागि आउने विदेशी पर्यटक लामो समयसम्म बस्ने र ठूलो खर्च गर्ने गरेका छन् । यसले होमस्टे, गाइड, यातायात र अन्य सेवामार्फत स्थानीयवासीलाई प्रत्यक्ष आम्दानी दिलाएको छ ।

    त्यसैगरी ‘हात्ती कमाउने’ अवधारणाले गाउँमा क्षति पु¥याउने जङ्गली हात्तीलाई संरक्षणमार्फत पर्यटनसँग जोड्ने प्रयास गरिएको छ । “घर भत्काउने हात्तीलाई जोगाएरै पर्यटक देखाउँदा हजारौँ रुपैयाँ कमाउन सकिन्छ”, थारुले भन्नुभयो । एकसिङ्गे गैँडाको अवलोकन र फोटोग्राफीका लागि आउने पर्यटकबाट हुने आम्दानीलाई समेत स्थानीयले गैँडा कमाइको रुपमा व्याख्या गर्ने गरेका छन् । 

    डल्ला होमस्टेले स्थानीय सीप र स्रोतको उपयोगमार्फत उद्यमशीलता विकासमा योगदान पु¥याएको छ । यहाँ ‘इलिफेन्ट ग्रास’ ९मुज० बाट बनेका ढकिया, टोपीलगायत हस्तकलाका सामग्री उत्पादन गरी पर्यटकलाई बिक्री गरिँदै आएको छ । यसबाट स्थानीय महिला विशेष रुपमा लाभान्वित भएको थारुले बताउनुभयो । होमस्टेमा शतप्रतिशत अर्गानिक स्थानीय खाना पस्किने गरिएको छ । यसले कृषि उपजको खपत बढाउनुका साथै स्थानीयलाई कुक, हाउसकिपिङ र आतिथ्य सेवासम्बन्धी तालिम तथा रोजगारीका अवसर सिर्जना गरेको छ । पर्यटनको विकाससँगै गाउँमा ब्युटीपार्लर, हेयर कटिङलगायत अन्य सेवामूलक व्यवसाय पनि विस्तार हुँदै गएको थारुले जानकारी दिनुभयो । 

    खाता करिडोरअन्तर्गत पर्ने डल्ला क्षेत्रले बर्दिया राष्ट्रिय निकुञ्ज र कतरनियाघाट वन्यजन्तु आरक्षलाई जोड्ने जैविक मार्गका रूपमा काम गरेको छ । थारुका अनुसार यही करिडोर संरक्षणका कारण वन्यजन्तुको आवागमन सहज भएको र पर्यटन विकासमा टेवा पुगेको छ । थारुको अनुभवले वन्यजन्तु र मानवबीच सहअस्तित्व सम्भव मात्र नभई लाभदायक पनि भएको देखाएको छ । “यदि संरक्षणलाई आयसँग जोड्न सकियो भने बाघ र हात्ती शत्रु होइनन्, समृद्धिका आधार बन्न सक्छन्”, उहाँले भन्नुभयो । 

    थारु जीवनशैलीमा परेको असर 

    पछिल्ला वर्षमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व, विशेषतः जङ्गली हात्तीको आक्रमणले यो समुदायको दैनिकी र सांस्कृतिक संरचनामा गम्भीर असर पार्न थालेको छ । बर्दियाको मधुवन नगरपालिका–१ पत्थरबोझीका मङ्गरु थारुको परिवार यस परिवेशको प्रतिनिधि उदाहरण बनेको छ । ५९ सदस्यीय ठूलो संयुक्त परिवारका रुपमा परिचित मङ्गरु थारुको परिवारले लामो समयदेखि एउटै आँगनमा बसोबास गर्दै आएको थियो । 

    बुबाआमा, तीन दाजुभाइ र तिनका सन्तान मिलेर खेतीपाती, पशुपालन र घरायसी काम सामूहिक रुपमा सञ्चालन गर्ने परम्परा अझै जीवित रहेको उहाँले बताउनुभयो । “हाम्रोमा सबै काम मिलेर हुन्छ, कसैको दुःखसुख छुट्टै हुँदैन”, उहाँले भन्नुभयो । थारु समुदायमा संयुक्त परिवार प्रणाली सामाजिक सुरक्षाको महत्वपूर्ण आधार मानिन्छ । एउटै घरमा धेरै पुस्तासँगै बस्दा श्रमको बाँडफाँट सहज हुने, आर्थिक भार कम हुने र पारिवारिक सम्बन्ध मजबुत हुने विश्वास गरिन्छ । 

    परिवार विस्तारसँगै व्यवस्थापन चुनौतीपूर्ण हरदै गएको हुन्छ । मङ्गरुको परिवारले हालै अंशबण्डा गरी छुट्टाछुट्टै बसोबास सुरु गरेको छ । उहाँका अनुसार दाजुभाइका १२ छोरा गत माघी पर्वदेखि अलग भएका छन् । दुई जना सहर पसेका छन् भने १० जनाले पुख्र्यौली थलोमै अलगअलग घर बनाउन सुरु गरेका छन् । घरहरु एउटै क्षेत्रभित्रै निर्माण गरिएका छन्, घर निर्माणमा पारिवारिक सहकार्य रहेको छ । 

    थारु समुदायको अंशबण्डा प्रणाली विशिष्ट मानिन्छ । सम्पत्तिको विभाजन गर्दा जमिन मात्र होइन, घरमा रहेको अन्न, काठ, इंँट्टा, भाँडाकुँडालगायत सबै सामग्री बराबरी रुपमा बाँडिने परम्परा रहेको खाता सामुदायिक वन समन्वय समितिको अध्यक्ष हरि गुरुङ बताउनुहुन्छ । अझ गर्भमा रहेको शिशुलाई समेत भविष्यको सदस्य मानेर अंश छुट्याउने चलन रहेको गुरुङले जानकारी दिनुभयो । 

    थारु समुदायको अर्को महत्वपूर्ण पक्ष भनेको ‘परमा’ अर्थात् सामूहिक श्रम प्रणाली हो । घर निर्माण, खेत रोपाइँ, बाली कटाइँ जस्ता कामहरू गाउँले मिलेर गर्ने प्रचलनले आर्थिक अभाव भएका परिवारलाई समेत सहज रुपमा जीवनयापन गर्न सहयोग पु¥याउँदै आएको छ । मङ्गरु भन्नुहुन्छ, “हामीसँग पैसा नहुन सक्छ तर गाउँलेको साथ छ । घर बनाउँदा सबैले सहयोग गर्छन् ।” पछिल्ला वर्षहरूमा जङ्गली हात्तीको बढ्दो गतिविधिले यो जीवनशैलीमा चुनौती थपेको छ । पत्थरबोझी क्षेत्र खाता करिडोरभित्र पर्ने भएकाले भारत र बर्दिया राष्ट्रिय निकुञ्जबीच आवतजावत गर्ने हात्तीहरूको मुख्य मार्गमा पर्छ । यसका कारण यहाँका बासिन्दा निरन्तर त्रासमा बाँच्न बाध्य छन् । 

    मङ्गरुका अनुसार हात्तीले पटक–पटक घर भत्काउने, अन्नबाली नष्ट गर्ने र रातिको समयमा बस्तीमा पस्ने गरेको छ । “राति सुत्नै डर लाग्छ, कहिले के हुन्छ थाहा हुँदैन”, उहाँले भन्नुभयो “गत वर्षदेखि हात्ती नआएकाले अहिले घर निर्माण सुरु गरेका छौँ ।” हात्तीको आक्रमणका कारण कच्ची घरहरु टिक्न नसक्दा आर्थिक क्षति पनि बढ्दै गएको छ । पक्की घर निर्माण गर्न पर्याप्त स्रोत नभएकाले अधिकांश परिवारहरु अझै जोखिमपूर्ण अवस्थामा बसिरहेका छन् । 

    थारु समुदाय परम्परागत रूपमा माटो, बाँस र काठ प्रयोग गरी घर निर्माण गर्ने गर्छ । यस्ता घर वातावरण अनुकूल भए पनि जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुँदैनन् । यसले मानव–वन्यजन्तु द्वन्द्वलाई थप जटिल बनाएको छ । खाता सामुदायिक वन समन्वय समितिको अध्यक्ष गुरुङका अनुसार मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना सञ्चालनको प्रयास गरिएको छ । कोरिडोर व्यवस्थापन, विद्युतीय बार, चेतनामूलक कार्यक्रम र वैकल्पिक जीविकोपार्जनका उपायहरु लागू गरिएको छ । यसबाहेक वन्यजन्तु प्रभावित क्षेत्रमा रहेका चार हजार १९५ घरधुरीको बिमा गरिएको उहाँले जनाउनुभयो । 

    निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा अशोककुमार रामका अनुसार बढ्दो मानव–वन्यजन्तु द्वन्द्व, जलवायु परिवर्तन र पूर्वाधार निर्माणबाट बासस्थानमा ह्रास र संरक्षित सीमाभित्र व्यावसायिक विकासका लागि जोडजस्ता खतराको सामना निकुञ्जले गरिरहेको छ । निकुञ्जले वन्यजन्तु जोगाउने कार्यको साथै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा जोड दिएको निकुञ्जका प्रमुख डा रामको भनाइ छ । उहाँका अनुसार मानव–वन्यजन्तु व्यवस्थापनअन्तर्गत तत्कालीन तथा दीर्घकालीन उपायहरु अवलम्बन गरिँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेख: वन्यजन्तुप्रतिको बद्लिँदो दृष्टिकोण
    पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
    एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
    • सिमरा सेजका उद्योगद्वारा उत्पादन सुरु
    • विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
    • तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु: जिल्ला प्रशासन
    • किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै: पोखरा महानगर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.