सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष


  •    न्युजभित्तो/२१ बैशाख २०८३, सोमबार ११:२५ 
  • म्याग्दी, २१ वैशाख । यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो ।

    नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोटमा भाग लिन पुग्नुभएका ७४ वर्षीय पूर्णबहादुर दुई सय युवामध्ये छिटो दौडिएर छनोट पनि हुनुभएको थियो । “हामी किशोर हुँदा भारतीय गोर्खा सैनिकमा भर्ती गराउन गाउँगाउँमा युवा खोज्दै आउँथे, म पनि गलेश्वरमा देखिँदा छनोट भएर पनि पल्टन नगएपछि सैनिक बोर्डका मान्छे तीन महिनापछि खोज्दै घरमै आएका थिए”, उहाँले भन्नुभयो, “हजुरबुबा र बुबाले सेनाको जागिरभन्दा भैँसी पाल्दा राम्रो हुने भनेर गोठको जिम्मा लगाएपछि नकार्न नसकेर जङ्गल पसेँ ।”

    पण्डित र ज्योतिष पेसा गर्नुहुने हजुरबुबा वसन्तले पूर्णबहादुरलाई भैँसीको जिम्मा लगाउँदा व्यवसाय फस्टाउने सुझाएपछि परिवारले सोही निर्णय गरेको उहाँले स्मरण गर्नुभयो । भारतीय गोर्खा सैनिकमा भर्ती हुन नपाएकामा पूर्णबहादुरलाई पछुतो भने छैन ।

    “हजुरबुबाले अनुमान गरेको जस्तै एउटा पाडोबाट सुुरु गरेको घुम्तीगोठमा भैँसीको सङ्ख्या ३६ वटासम्म पुग्यो”, पूर्णबहादुरले भन्नुभयो, “भैँसी, राँगा, पाडापाडी र घ्यू बेचेरै घरव्यवहार चलाएँ, खेतबारी जोडेँ, चार छोराछोरीलाई पढाएँ, ठाउँमा पुर्याएँ ।”

    विसं २०२५ देखि घुम्तीगोठमा भैँसीपालन सुरु गर्नुभएका पूर्णप्रसाद गत पुसदेखि स्वास्थ्य र बुढ्यौलीका कारण भैँसी बेचेर मालिका गाउँपालिका–७ बिम खारामा रहेको जेठी छोरी माया शर्माको घरमा बस्न थाल्नुभएको छ ।

    सुुरुमा १३ वटा भैँसीलाई एक हजार ५०० रुपैयाँमा बिक्री गर्नुभएका पूर्णप्रसादसँग घुम्तीगोठ लिएर भैँसीसँगै बर्खामा हिमाल फेदीका बुकी र हिउँदमा बेँसी गर्दाका रमाइला र दुःखका अनुभूतिहरू छन् । पछिल्लोपटक एउटा भैँसीलाई ८५ हजार रुपैयाँसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो ।

    जङ्गलमा जान नसक्ने र वन्यजन्तुले आक्रमण गर्ने साना पाडापाडीको स्याहारसुसार गर्नेदेखि दूध दुहुने, मोही पारेर घ्यू बनाउने काममा बिहानदेखि साँझसम्म व्यस्त हुनुपर्दा तीन वर्षमा घरपरिवारसँग भेट भएको पूर्णबहादुरले सम्झनुभयो । हिउँ परेको अवस्थामा भैँसी र पाडापाडीको स्याहारसुधार तथा आहारा व्यवस्थापनका लागि दुःख भएको उहाँको भनाइ छ ।

    वार्षिक दुई सय लिटरसम्म घ्यू बिक्री गर्नुभएका उहाँ असोज कात्तिकमा पोषिलो घाँस प्रशस्त पाइने र बुकीमा मौसम सफा हुँदा मनमोहक दृश्यले फुरुङ्ग पर्ने गर्नुहुन्थ्यो । एकपटक जिरवाङ, सिमकोश, धुरीखर्क, हिले, बगर हुँदै धवलागिरि हिमालको फेदीमा रहेको बुकीसम्म गोठ लगेर पुगेका पूर्णबहादुरको गोठमा एकैपटक ब्वाँसोले आक्रमण गरेर ११ वटा भैँसी मारिदिएको अझै बिर्सनुभएको छैन ।

    गोठको सुरक्षाका लागि कम्तीमा दुईवटा भोटे कुकुर पाल्ने गर्नुभएको थियो । गाउँअनुसार चरन क्षेत्र बाँड्ने भएकाले लेकमा अन्य गोठालाहरूसँग कमै भेटघाट हुन्थ्यो । घुम्तीगोठका लागि आवश्यक खाद्यान्न समयसमयमा परिवारका सदस्यहरूले जङ्गलमै पुर्याइदिन्थे । रेडियो र मोबाइल साथी हुन् । पूर्णबहादुरले पछिल्लो समय बुकी र चरन क्षेत्रमा अनावश्यक काँडाधारी वन तथा झारपात फैलिन थालेको अनुभव सुनाउनुभयो ।

    पछिल्लो समय बसाइँसराइका कारण खेतबारी बाँझिएकाले गाउँ वरपर पनि व्यवस्थित रूपमा भैँसीपालन गर्न सकिने सम्भावना रहेको पूर्णबहादुरको सुझाव छ । विदेशमा गर्ने दुःख आफ्नै गाउँठाउँमा गर्न सकेमा स्वरोजगारका साथै आत्मनिर्भर भइने उहाँको सुझाव छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.