सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’


  •    न्युजभित्तो/१७ बैशाख २०८३, बिहीबार १३:३६ 
  • इलाम, १७ वैशाख । माईजोगमाई गाउँपालिका–५ सोयाङको लोक्साङ गाउँका ३६ परिवारको सामूहिक बचत तथा कृषि समूह छ । समूहले सामूहिक रुपमा बेसारखेती गर्दैआएको छ । दुई वर्षअघि एक मन (४० किलो) बेसार रोपेर गत वर्ष २५ मन बीउ उत्पादन गरिएको थियो । यस वर्ष १२० मन उत्पादन हुने अनुमान गरिएको छ । 

    गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत गत वर्ष रु दुई लाख अनुदान दियो । यसपटक हिउँदे अधिवेशनबाट ‘ड्राएर’ मेसिन र पिस्ने मेसिनका लागी रु दुई लाख ५० हजार अनुदान थप गरेपछि किसान उत्साहित भएका छन् । समूहले आफैँ उद्योग खोल्ने तयारी थालेको छ । काँचो बेसारलाई गाउँमै प्रशोधन गरेर अन्तरराष्ट्रिय बजारमा पठाइनेछ ।

    “सामूहिकखेती गरेर आर्थिकोपार्जन गर्न २०८० सालमा २४ परिवारले समूह खाल्यौँ । दुई वर्षमा ३६ परिवार जोडिए”, समूहका सचिव सुमन बेगाले भन्नुभयो, “रोङ गाउँपालिकाले उत्पादन गरेको कपुरकोट–२ जातको एक मन बेसार प्रतिकिलो रु ७० मा ल्याएर रोपेका थियौँ । खन्ने बेला हुन लाग्यो । एक सय २० मनसम्म फल्छ भन्ने अन्दाज छ ।” 

    बेसार १० रोपनी क्षेत्रफलमा रोपिएको छ । “बेसार कटिङ मेसिन ल्याएका छौँ । मेसिनको क्षमता प्रतिघण्टा १०० देखि ३०० किलो छ । काँचो बेसार एक पटकमा ६० किलोसम्म सुकाउन सकिन्छ”, सचिव बेगाले भन्नुभयो, “जमिन भाडामा लिएका छौँ । उद्योग स्थापना गर्ने तयारी छ । अब बेसार प्रशोधन गरेर प्याकेजिङ गरेपछि विदेशमा बिक्री गर्ने तयारी छ । स्थानीय बजार, काठमाडौँ र  हङ्कङ यसको मुख्य बजार हो ।”

    समूहले यसपटक च्याउखेती पनि सुरु गरेको छ । “चार सय किलो उत्पादन भयो । रु २०० प्रति किलोका दरले बिक्री गर्यौं । अर्को वर्ष उत्पादन बढाउँछौँ”, अध्यक्ष जयबहादुर लिम्बूले भन्नुभयो ।

    गत बर्षदेखि गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम सुरु गरेको हो । एउटा वडामा एक उत्पादन बढाउने र गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर सुरु गरिएको अभियान अन्तर्गत वडा नं ५ लाई बेसारखेती छनोट गरिएको थियो । 

    गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेका अनुसार, स्थानीयस्तरमा उत्पादन हुनसक्ने कृषिउपजको उत्पादन वृद्धि गरी खाद्यान्नमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । “व्यावसायिक उत्पादन गर्ने कृषक तथा फर्मलाई अनुदान दिएर प्रोत्साहन गरिरहेका छौँ”, अध्यक्ष थेबेले भन्नुभयो, “वडा नं १ मा रुख टमाटर, २ नं मा जडीबुटी, ३ नं मा कुखुरापालन, ४ र ६ नं मा खुर्सानी ९अकबरे० र ५ नं मा बेसारखेतीमा अनुदान दिएका छौँ ।”

    अध्यक्ष थेबेका अनुसार, गत वर्ष ६ वडाका कृषक, कृषि फर्म, समूह तथा सहकारीमा गरी ६७ उद्यमीलाई रु १५ लाख अनुदान वितरण गरिएको थियो । कार्यक्रमको सूचना आह्वान हुन्छ । प्रस्तावना मागेर स्थलगत अवलोकन गरेपछि आर्थिक समितिले निर्णय गर्छ । प्राथमिकताका आधारमा अनुदान वितरण हुन्छ । दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न पनि यो कार्यक्रम महत्वपूर्ण छ ।

    गाउँपालिकाले विभिन्न कार्यक्रममार्फत गाउँमै उत्पादन बढाएर आत्मनिर्भर बन्ने र विदेश जानुपर्ने बाध्यता न्यूनिकरण गर्ने कार्यक्रम गरिरहेको छ । गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ । यसका लागि दुग्ध तथा घ्यु प्रशोधन, कोदोको बिस्कुट उत्पादन र यस वर्ष ललिपप निर्माण तथा दुग्ध उत्पादन प्रशोधनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

    गाउँपालिकाले कार्यक्रममार्फत मौरीपालन, अलैँचीखेती, पशुपालन, ब्युटीपार्लर तथा विस्कुट उत्पादनजस्ता क्षेत्रमा उत्कृष्ट काम गर्ने उद्यमीलाई अधिकतम रु तीन लाखसम्म अनुदान दिएको थियो । गाउँपालिकाका उपाध्यक्ष प्रवीना राईले भन्नुभयो, “व्यवसायमै सक्रिय उद्यमीलाई सामग्री तथा नगद सहयोग गर्ने गरेका छौँ । हाम्रो मुख्य उद्देश्य स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नु हो ।”

    पहिलो वर्ष दुग्ध तथा घ्यु प्रशोधन तालिम दिएपछि वडा नं १ का तुलबहादुर लिम्बूको कृषि तथा डेरी उद्योग, वडा नं २ की रेखा रिजालको पाण्डे डेरी उद्योग र वडा नं ६ का इन्द्र थेबेको एनएस डेरी उद्योगलाई सामग्री सहयोग गरिएको थियो । उक्त कार्यक्रमअन्तर्गत गत वर्ष कोदोको बिस्कुट उत्पादनसम्बन्धी तालिम दिइएर उत्कृष्ट ६ व्यवसायीलाई नगद अनुदान दिइएको थियो । 

    वडा नं १ की पार्वती भट्टराईले सञ्चालन गर्नुभएको भट्टराई बिस्कुट बेकरी उद्योगलाई वस्तुगत सहायता अनुदान दिइएको छ । त्यसैगरी, वडा नं ३ का रुद्रकुमार सञ्जेलको गहिरीगाउँ जैविक कृषि फार्म, वडा नं ४ का सनबहादुर लिम्बूको सुनौलो कृषि तथा पशुपालन फर्म, वडा नं ५ का लक्ष्मण खत्रीको कुशिका एकीकृत कृषि तथा पशुपन्छी फर्म, वडा नं १ की कञ्चन आचार्यको कञ्चन ब्युटीपार्लर तथा प्रशिक्षण केन्द्र र वडा नं ३ का लक्ष्मी तामाङ र पुजन प्रधानले सञ्चालन गरेको पशुपति पशुपालन तथा कृषि फर्मलाई नगद अनुदान प्रदान गरिएको थियो ।

    यस वर्ष ललिपप निर्माण तथा दुग्ध प्रशोधनसम्बन्धी तालिम ३० जनाले लिएका छन् । अब उक्त सीपलाई व्यावसायिक बनाउनेलाई अनुदान दिइने उपाध्यक्ष राईले बताउनुभयो । बिस्कुट उत्पादनमा रु दुई लाख अनुदान पाउनुभएकी पार्वती भट्टराई थप व्यावसायिक बन्न प्रोत्साहन मिलेको बताउनुहुन्छ । गाउँपालिकामा प्रतिदिन ३० हजार लिटर दुग्ध उत्पादन हुने गरेको अध्यक्ष थेबेको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
    • दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    • परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    • कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.