सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या


  •    न्युजभित्तो/१३ बैशाख २०८३, आईतवार ११:५५ 
  • पाँचथर, १३ वैशाख । बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र फालोटको मुख्य समस्या सडक, विद्युत् र इन्टरनेट हो । तीन हजार ४०० मिटर उचाइमा अवस्थित फालोटका चारराते–तीनसिमानालगायत क्षेत्रसम्म पुग्ने सडक व्यवस्थित हुनसकेको छैन भने विद्युत् र इन्टरनेटको प्रवाह सहज हुनसकेको छैन ।

    नेपाल–भारत सीमावर्ती फालोट क्षेत्र उच्च पहाड भएका कारण यहाँ पुग्ने पर्यटकका लागि पर्याप्त सामग्री पुर्याउन गोठ सञ्चालक सक्षम छैनन् । यहाँका ३१ मध्ये करिब एक दर्जन गोठमा गोठबास ९गोठस्टे० सञ्चालन गरी पर्यटकलाई सेवा दिने गरिएको छ । तर पूर्वाधार अभावका कारण पर्यटकलाई अपेक्षित सेवा दिन नसकिएको फालोट याक गोठस्टेका सञ्चालक चन्द्रलाल नेपालले बताउनुभयो ।

    “अहिले यहाँ सडक, विद्युत् र इन्टरनेटको समस्या मुख्य छ”, नेपालले भन्नुभयो, “वर्षा भएपछि सवारीसाधनलाई यहाँ पुर्याउन कठिन पर्छ ।” फिदिम–फालोट सडकको प्राङबुङबाट चारराते तथा मेमेङबाट तीनसिमानासम्म सडक विस्तार भएको छ । मोटरबाटो स्तरोन्नतिको काम बर्सेनि हुँदै आए पनि वर्षा भएपछि सवारी सञ्चालनमा कठिनाइ हुने गरेको छ ।

    “बाटो सहज भइदिने यहाँ आइपुग्ने पर्यटकको सङ्ख्या बढ्थ्यो । नागरिकले चाहेर पनि आउन सकेका छैनन्”, नेपालले भन्नुभयो, “उच्च पहाड भएका कारण यहाँ सामग्री व्यवस्थापन गर्न असाध्यै कठिन पर्छ । सवारीसाधनमा सामग्री हालेर ल्याउनै कठिन छ ।” सरकारले फालेलुङ गाउँपालिका–५ प्राङबुङदेखि चाररातेसम्मको सडकलाई बाह्रैमास सञ्चालनयोग्य बनाउनुपर्ने यहाँका बासिन्दाको माग छ ।

    चौँरीपालक किसानको संस्था कञ्चनजङ्घा याक चौँरीपालक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार दैनिक उपभोग्य सामग्री पुर्याउनै कठिन हुन्छ । “भारततर्फ बाटो राम्रो भए पनि सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिन्छ । भारतीय पक्षले नेपाली सवारीसाधन नचलुन् भन्ने चाहन्छ”, गुरुङले भन्नुभयो, “प्रतिबन्ध नै त छैन, तर उतातिर नचलुन् भन्ने चाहना रहेको बुझिन्छ । जसकारण नेपालतर्फबाट सामग्री ढुवानी र निकासी गर्न धेरै समस्या पर्छ ।”

    यस्तै उच्च पहाडमा भएका कारण विद्युत् आपूर्ति पटकपटक अवरुद्ध हुने हुँदा गोठ सञ्चालकले समस्या भोग्ने गरेका छन् । यहाँ नेपाल टेलिकमको नेटवर्कले पछिल्लो समय काम गर्न थाले पनि इन्टरनेट सेवामा भने समस्या छ । विसं २०७४ देखि नयाँ वर्षमा यहाँ महोत्सव आयोजना गर्न थालिएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ भने चौँरीजन्य सामग्रीले राम्रो बजार पनि पाउने गरेका छन् । नवौँ चौँरी पर्यटन महोत्सवसम्म आइपुग्दा चौँरीमा आधारित सामग्री बिक्री बढेको छ । महोत्सवकै कारण अहिले देशका विभिन्न भाग तथा भारत, भुटान, बङ्गलादेशलगायतबाट पर्यटक आउन थालेका छन् ।

    फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू पूर्वाधार र प्रचारप्रसारमा प्रदेश र सङ्घीय सरकारले सहयोग गरे पयर्टकको सङ्ख्या झनै बढ्ने बताउनुहुन्छ । उहाँका अनुसार सडकको स्तरोन्नति, पर्यटन सूचना केन्द्र, गोठबासलाई थप व्यवस्थित गर्न, शौचालय निर्माणलगायतमा लगानी गर्नुपर्ने आवश्यकता रहेछ । नेपाल–भारत सीमावर्ती यस स्थानमा वर्षायामका केही महिनाबाहेक सधैँ पर्यटक पुग्ने गर्दछन् ।

    औसतमा एक वर्षमा पाँच हजारभन्दा बढी पर्यटक यहाँ पुग्ने गरेका गोठ सञ्चालकको भनाइ छ । सयौँ चौँरीको बथान हेर्ने, यहाँबाट नेपाल, भारत र भुटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, ढकमक्क फुलेको गुराँस र चिमलको रङमा हराउनमै धेरै पर्यटक व्यस्त हुन्छन् । हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैले यस नेपाल–भारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्ने गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.