सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने


  •    न्युजभित्तो/११ बैशाख २०८३, शुक्रबार १५:०० 
  • काठमाडौँ, ११ वैशाख । धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।

    काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा  गत मङ्गलबार महानगरपालिकामा बसेको सरोकारवाला निकायको बैठकले काठमाडौँभित्रका सबै सार्वजनिक यातायातका साधनलाई गोँगबुस्थित नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त बैठकले तीन दिनभित्र सबै सार्वजनिक सवारी साधनलाई अनिवार्य रुपमा नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्ने निर्णय गरेसँगै आज बिहानैदेखि धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक बस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।

    काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि महानगरपालिकाले २०५६ सालमा नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । अधिकाशं जिल्लामा जाने सवारीसाधन नयाँ बसपार्क भित्रबाटै चल्ने भएपनि नुवाकोट, रसुवा र धादिङ जिल्लामा चल्ने सवारीसाधन भने माछापोखरी क्षेत्रमा काउण्टर र पार्किङ बनाएर सञ्चालन गरिँदै आएका थिए ।  

    काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा नेपालको राष्ट्रिय बसपार्क सञ्चालन भएपनि नुवाकोट, रसुवा तथा धादिङ चल्ने सवारीसाधन भने नयाँ बसपार्क नजिकै रहेको माछापोखरी र बालाजुको सडकबाट चल्ने गरेका थिए । यसअघि गोँगबु चोकदेखि नयाँ बसपार्क बीचको सडकबाट सञ्चालन हुँदै आएका पृथ्वीराजमार्गमा चल्ने बस तथा माइक्रोबस हाल नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । 

    तर, धादिङ, रसुवा र नुवाकोट चल्ने सवारीसाधनका चालकले नयाँ बसपार्कभित्रबाट चलाउन अटेर गर्दै आएका थिए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जथाभावी रुपमा सडकमा पार्किङ गरेर यातायातका साधन सञ्चालन गरिँदा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनुभयो । 

    लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज भएको प्रवक्ता सुवेदीले बताउनुभयो । महानगरको उक्त निर्णय कार्यान्वयन गरेसँगै चक्रपथ वरपर हुने ट्राफिक जाम कम हुने प्रवक्ता सुवेदीले बताउनुभयो । 

    नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नुवाकोट, रसुवा र धादिङ सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई बसपार्कबाट छुट्टै ‘ट्रयाक’को व्यवस्था गरिएकोे बताउनुभयो । यस्तै, उक्त दूरीमा जाने सवारीसाधनका लागि छुट्टै टिकट काउण्टरको समेत व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

    यातायात कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा झन्डै २० लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् । पछिल्लो समय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुँदा र बाटो विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.