सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घान्द्रुकमा पर्यटकीय चहलपहल


  •    न्युजभित्तो/८ बैशाख २०८३, मंगलवार १२:३६ 
  • गण्डकी, ८ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बाक्लिएको हो ।

    घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सप्ताहन्तमा दैनिक एक हजारदेखि एक हजार २०० सम्म पर्यटक आउने गरेका जानकारी दिनुभयो । “अन्य दिनमा पनि छ–सात सय पर्यटक भित्रिरहेका छन्”, उहाँले भन्नुभयो, “सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि पर्यटकीय गतिविधि थप बढ्ने अपेक्षा लिइएको छ ।”

    ‘सबै मौसममा पर्यटन’को मूलमन्त्रसहित स्थानीय पर्यटन व्यवसायीले घान्द्रुकको प्रवर्द्धन गर्दै आएका छन् । संस्कृति र प्रकृतिको सङ्गमस्थल मानिने घान्द्रुक अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्यस्थलमा पर्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायले घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न आउनेमध्ये बढी भारतीय पर्यटक रहेको बताउनुभयो । यो याममा एकैदिनमा ८५६ जनासम्म विदेशी पर्यटक यस क्षेत्रमा आएको उहाँको भनाइ छ ।

    पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या बढ्दो छ, आन्तरिक पर्यटन पनि उत्तिकै फस्टाएको छ । चल्तीका पदमार्ग, आकर्षक गन्तव्यस्थल र व्यवस्थित पर्यटकीय पूर्वाधारका कारण यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको कार्यालय प्रमुख उपाध्यायको भनाइ छ । सडकको पहँच विस्तारले घान्द्रुकमा आन्तरिक पर्यटकको आवतजावत पछिल्लो समय बढेको हो । 

    अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकलाई पर्यटन बजारमा बिकाइराख्न यहाँको मौलिकता र पहिचान जोगाउनुपर्ने बताउनुभयो । पछिल्लो समय तीव्र रूपमा निर्माण भइरहेका कङ्क्रिटका संरचनाले गाउँको मौलिक स्वरूप बिगारेको उहाँको भनाइ छ । परम्परागत सामग्री र शिल्प प्रयोग गरेर घर निर्माण गर्नेलाई गाउँपालिकाले अनुदानको नीति ल्याउन लागेको वडाध्यक्ष गुरुङले बताउनुभयो । 

    विसं २०२६÷२७ तिर स्थानीय शङ्करमान गुरुङले घान्द्रुकमा पर्यटनको जग बसाल्नुभएको थियो । घान्द्रुक गाउँ अहिले चल्तीको गन्तव्यका रूपमा देशीविदेशीमाझ परिचित छ । बर्सेनि हजारौँ पर्यटकले यहाँ पाइला टेक्छन् । प्रकृति र संस्कृतिमा रमाउँछन् । पर्यटकीय चहलपहल बढे पनि घान्द्रुकको असली पहिचान गुम्ने हो कि भन्ने पिरलो गुरुङलगायत गाउँका अगुवालाई छ ।

    घान्द्रुक उहिलेको जस्तो छैन । जीवनशैली, रहनसहन फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप भने खल्बलिएको छ । पर्यटकको आवतजावत बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ ।

    मौलिकता जोगाउन नसके घान्द्रुकको पर्यटनको भविष्य पनि सङ्कटमा पर्ने देखेर स्वयं पर्यटन व्यवसायी पनि चिन्तित छन् । घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्ख्लाको दृश्य यहाँको मुख्य आकर्षण हो । घान्द्रुकको गाउँले परिवेश र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ ।

    पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ८० वटा होटल छन् भने पैतीस वटा घरबास छन् । पर्यटन व्यवसायमा अर्बौँको लगानी छ । सयौँले रोजगारी पाएका छन् । भारतीय, चिनियाँदेखि युरोप, अमेरिकासम्मका पर्यटक यहाँ आउने गरेका छन् । 

    अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमा समेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच–छ घण्टाको पदयात्रामा घान्द्रुक पुग्न सकिन्छ । मोटरमा पोखराबाट घान्द्रुक पुग्न दुई घण्टा लाग्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही
    • चक्कु प्रहार गरी युवकको हत्या
    • सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
    • नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
    • घान्द्रुकमा पर्यटकीय चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.