सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’


  •    न्युजभित्तो/४ बैशाख २०८३, शुक्रबार १२:३४ 
  • कमलामाई (सिन्धुली), ४ वैशाख । वैशाखको चर्को घामले जमिन तातेको छ । शीतल दिने छहारी छैन । छाता ओढेर ग्राहकको प्रतिक्षामा छन्– ढाटिमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइवा । छाताले शीर ढाकिए पनि जीवनका सङ्घर्षहरु ढाकिन सकेका छैनन् । फागुन–चैतको आँधीहुरी होस्, वैशाख–जेठको चर्को घाम वा असार–साउनको झरी किन नहोस्, दैनिक हाट र फुटपाथमा संर्घष गरिरहेका भेटिन्छन् ।

    एकहत्तर वर्षीया ढाटिमाया दर्जीले यो यात्रा सुरु गरेको झन्डै तीन दशक बित्नै लागिसकेको छ । २७ वर्षअघि उहाँले ३५ रुपैयाँको लगानीमा व्यापार सुरुवात गर्नुभएको थियो । ढाटिमायाको व्यापारीक यात्रा फापरको सागबाट भएको हो । “किसानसँग प्रतिमुठ्ठा दुई रुपैयाँका दरले १८ मुठ्ठा सागलाई ३६ रुपैयाँ पथ्र्यो, मलाई किसानले एक रुपैयाँ छुट दिनुभयो । मैले त्यो साग तीन रुपैयाँ नाफा लिएर प्रतिमुठा पाँच रुपैयाँमा बेचेँ । ३५ रुपैयाँको लगानी बढेर ५५ रुपैयाँको भयो,” उहाँले विगत सम्झिदै सुनाउनुभयो ।

    पहिला सिन्धुलीसँगै रामेछाप, दोलखासम्मका हाट, मेला, महोत्सवमा व्यापार गर्न पुग्ने ढाटिमायाले त्यसरी नै व्यापार विस्तार गर्दै जानुभयो । ३५ रुपैँयाबाट सुरुवात गरेको व्यापार बढेर अहिले झन्डै ३५ हजारको भएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुुलीमाढीमा साप्ताहिक रुपमा लाग्ने शनिबारे हाटको उहाँ नियमित व्यापारी हुनुहुन्छ ।

    आज पनि गाउँमा उत्पादित मौसमअनुसारका उत्पादन बेचिराख्नुभएको छ । साग, अदुवा, बेसार, केरा, खुर्सानी, अमला, बदाम, अम्बा, गुन्द्रुकजस्ता सामान उहाँ बिक्रीमा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरो हैसियतअनुसारको व्यापार गरिरहेको छु । आजसम्म कसैसँग मागेर खानुु परेको छैन । म आफ्नै पौरखमा बाँचेको छु । जेनतेन घरखर्च धानेकै छु ।”

    आज आमाको मुख हेर्ने दिन । उहाँलाई पनि आफ्ना सन्तानले आज अरु आमाका छोरोछोरीले जस्तै मुख हेर्न आउनान् कि भन्ने आशा लाग्छ तर कसैले वास्ता गर्दैनन् । ढाटिमायाका आठ सन्तान थिए–पाँच छोरी र तीन छोरा । सबै छोरी र कान्छो छोरो अकाल्मै बिते । बाँचेका दुई छोरा–बुहारीको पनि साथ छैन उहाँलाई । टन्टलापुर घाममा व्यापार गर्ने ढाटिमायालाई घामको तापले भन्दा बितेका सन्तानको शोकले पिरोलिरहन्छ । उहाँको साथमा श्रीमान त हुनुहुन्छ । तर कठिन सङ्र्घषमा सधैँ एक्लै जुध्न परेको तीतो अनुभवले सुनाउनुभयो ।

    ढाटिमायाकै सारथी हुनुहुन्छ, सुकुमाया । उमेरले ८० कटेकी सुकुमाया ३५ वर्ष भयो व्यापारमा लागेको । यस अवधिमा भिमानमा लाग्ने शुक्रबारे हाट, सिन्धुलीमाढीमा लाग्ने बुधबारे र शनिबारे हाटदेखि दोलखा, रोमछापमा लाग्ने हाटमासमेत उहाँ पुग्नुभएको छ । अझैसम्म पनि यो यात्रा रोकिएको छ । “आफैँमा आत्मनिर्भर भएमा कसैले हेप्न सक्दैन । शरीरले साथ दिएसम्म मिहेनत गर्छु । मलाई कसैको आशा पनि छैन,” सुकुमायाले भन्नुभयो । सानो लगानीमा मुठ्ठी, मानोको व्यापार गरेरै पनि जीविका चलाउन सकिने उहाँ बताउनुहुन्छ ।

    सुको मानो खुर्सानी बेचेकी फूलमायालाई बजारमा सामानको मूल्य आकासिएको देख्दा आत्तेसै लाग्छ । उहाँले शनिबारे हाटमा मात्रै ३१ वर्ष भयो व्यापार गर्नुभएको । गाउँ–घरमा उत्पादन भएका अर्गानीक सागसब्जी, फलफूललगायतका सामान उहाँले बेच्दै आउनु भएको छ । उमेरले ७२ वर्ष पुगेकी फूलमायालाई आफ्ना पाखुरा चलुन्जेल कसैलाई पनि दुःख दिने मन छैन । “मेरो छोरा नेपाली सेनामा जागिरे छ । तर, आजसम्म छोरालाई दुख दिएको छैन । म आफ्नै कमाइले बाँचिरहेको छु । यसैगरी काम गर्दा–गर्दै, पैसा कमाउँदा–कमाउँदै मर्न पाईओस्” उहाँले भन्नुभयो ।

    ढाटिमाया, सुकुमाया र फूलमाया एकअर्काको सारथी हुनुहुन्छ । प्रायः हाटमा व्यापार सँगै–सँगै गरेको देखिन्छ । आज पनि उहाँहरु शनिबारे हाटमा लहरै बसेर व्यापार गरिराख्नु भएको छ । हाटमा मात्रै कहाँ हो र १ फुटपाथमा पनि सानो लगानीमा व्यापार गर्नेहरु महिला बाक्लै भेटिन्छन् । सावित्री थापाले फुटपाथमा व्यापार सुरु गर्नुभएको चार वर्ष वित्यो । उहाँ दैनिक बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सिन्धुलीमाढी क्षेत्रकै फुटपाथमा व्यापार गर्नुहुन्छ । यसका बाध्यता धेरै छन् ।
    उहाँ दुई सन्तानकी आमा हुनुहुन्छ । छोरीको विवाह भइसकेको छ । छोराका दुई नाति छन् तर कमाएर पाल्ने छोरो विरामी भएर थलिएपछि उहाँले ६० वर्षको उमेर फुटपाथमा व्यापार गर्नु परेको हो । आज उहाँले सिन्धुलीमाढीस्थित भेटेनरी चोकमा खुर्सानी, कुखुराको अण्डा, केरा, गुन्द्रिुक, वन सिलाम, टिमुर, बेसार बेच्न राख्नुभएको छ । व्यापारबाट दैनिक कमाइ चार सयदेखि एक हजारसम्म हुने गरेको उहाँले बताउनुभयो ।

    त्यसो त ८० वर्षीया देवकुमारी भुजेल पनि फुटपाथमै सङ्र्घष गरिराख्नुभएको छ । पोलेको र हरियो मकै, बेसार, खुर्सानी, अमला उहाँले बेच्नुहुन्छ । सामाजिक सुरक्षा भत्ताले औषधि खान नपुगेपछि उहाँ अझैसम्म पनि सडकमा सङ्घर्ष गर्न बाध्य हुनुहुन्छ । आफ्ना सन्तानको अपहेलना सहन नसकेर उहाँ छुट्दै कोठा भाडामा लिएर बस्दै आउनुभएको छ । देवकुमारीलाई एक्लो बुढेसकाल बिताउन जति सङ्र्घष छ, त्यत्तिकै कठिन छ–अनितादेवी रामलाई तीन सन्तानको पालनपोषण गर्न । श्रीमान् बितेपछि फुटपाथमा उहाँको सङ्घर्ष सुरु भएको हो ।

    महोत्तरीका गौशलाकी अनितादेवीको परिवार १२ वर्षदेखि कमलामाई नगरपालिका–५ चिसापानीमा कोठा भाडामा बस्दै आएको छ । परिवारको एक मात्रै साहारा बनेका विजय राम रोगले थलिएर बितेपछि अनितादेवी बेसहारा हुनुभयो । आफन्त, परिवारको समेत उहाँले साथ पाउनुभएन ।

    विजय बित्दा जेठो छोरो १० वर्षका थिए । भोक मेटाउन गासको समस्या बढ्न थालेपछि उनले विजयले गरेको कामलाई निरन्तरता दिन थाले । गौमती नमूना माध्यमिक विद्यालयमा कक्षा पाँचमा पढ्दै गरेका चन्दनको पढाइ छुट्यो । त्यसपछि अनितादेवी आफैँले चुत्ता–चप्पल सिलाउन, पोलिस लगाउन सिक्नुभयो । आफूले सीप जानेपछि छोरालाई पढ्न विद्यालय पढाउनुभयो, आफू काममा खटिनुभयो ।

    यो यात्राको सुरुआत सजिलो थिएन । श्रीमानको निधनपछि जीवनले एका–एक कठिन मोड लियो । “पहिला म घरायसी धन्दामै व्यस्त हुन्थेन । मैले यो काम जानेकै थिइन । बुबाले गरेका काम देखेर बरु छोराले जानेको रहेछ, मैले उसैसँग काम सिकेर गर्न थालेकी हुँ”, उहाँले सुनाउनुभयो ।

    श्रीमान् साथमा हुँदा घरधन्दामा मात्रै सीमित रहेकी अनितादेवीले पछिल्लो समय बाहिरको काम पनि भ्याउनुपर्ने बाध्यता छ । बिहानको घरधन्दा सकेर छोराछोरीलाई विद्यालय पठाउनु अनि आफूलाई आवश्यक पर्ने औजार बोकेर फुटपाथमा चुत्ता–चप्पल सिलाउन निस्किनु उहाँको दैनिकी हो । “दिनभरि चुत्ता–चप्पल सिलाउँदा हातका औँला छेडिन्छन्, पाखुरा दुखेर कहिले राम्रो निन्द्रा पर्दैन । काम दुःखको छ । तर, गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

    अनितादेवीले जुत्ता, चप्पल सिलाएको एक सय र जुत्ता पोलिस गरेको रु ५० लिने गर्नुभएको छ । पोलिस, जुत्ता सफा गर्ने ब्रस, सोल र जुत्ताको लेस बेच्न राख्नुभएको छ । उहाँका श्रीमान्ले त्यही जुत्ता सिलाउने पेसाबाटै दैनिक १५ सयदेखि १८ सयसम्म कमाउनुहुन्थ्यो । अनितादेवीको भने कमाई कम हुन्छ । उहाँ भन्नुहुन्छ, “कहिले कमाइ नै हुँदैन । कहिले पाँच सयदेखि रु एक हजारसम्म हुन्छ ।”

    महिला भएकाले अनितादेवीलाई पुरुषले जुत्ता, चप्पल सिलाउन, पोलिस गर्न दिनुहुँदैन । लक्ष्मीको रुप मानेर होला, महिलाबाट मात्रै काम आउँदा आम्दानी कम हुने उहाँको भनाइ छ । फुटपाथमा बसेर काम गर्दा उहाँले धेरै खालका व्यवहार पनि भोग्नुभयो । समाजको दृष्टि, आफ्नै सङ्कोच र लाजले उहाँलाई धेरैपटक टुटाएको थियो । “कतिपयले खिसिटिउरी गर्थे । यो काम पुरुषले मात्रै गर्ने हो, तिमी भाँडा माझ्ने काम खोज्न जाउ पनि भने”, अनितादेवीले सुनाउनुभयो । उहाँले सुरु–सुरुमा अप्ठ्यारो मान्दै, लजाउँदै सुरु गर्नुभएको यो यात्राले साढे तीन वर्ष पार गर्न लागिसकेको छ । तर, फुटपाथमा जुत्ता–चप्पल सिलाएर जीविका धान्ने कठिन सङ्र्घष कम भएको छैन ।

    फुटपाथमा व्यापार गर्ने साना व्यापारीलाई बेला–बेलामा नगर प्रहरीले उठाउँछन् । यसले फुटपाथमा सानो व्यापार, व्यवसाय गरेर जीविका चलाइरहेकाहरु समस्यामा पर्ने गरेका छन् । स्थानीय सरकारले पनि यसको उचित व्यवस्थापना गर्न सकेको छैन । व्यस्थापन गर्ने प्रयास भने गरिएको पालिकाका जनप्रतिनिधिहरु बताउँछन् । चरम अभाव र दबाबका कारण फुटपाथमा पसिना बगाइरहेका यस कथाका पौरखी महिलाहरुलाई थोरै विस्मात आफ्नो भाग्यसँग छ तर कसैसँगै गुनासो छैन । आजको कठिन सङ्र्घषले एक दिन भाग्य बदलिने आशा भने सबैमा जीवित छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु
    • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.