सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बत्ती पुग्ने आशामा अपिवासी


  •    न्युजभित्तो/१२ फाल्गुन २०८२, मंगलवार १५:०५ 
  • दार्चुला, १२ फागुन ।

    “चौलानीको कञ्चन पानी, बिजुलीको खानी

    अँध्यारोमै बित्न लाग्यो, हाम्रो जिन्दगानी

    आशा छ अब त सरकार, बिजुली बालिदेला

    घरघरमा बत्ती बल्दा, खुसीले मन छाउँला ।”

    देउडिया प्रेमसिंह कार्कीले गुनगुनाउने यी शब्दमा अपिहिमालको पीडादायी यथार्थ लुकेको छ । टुकी र सोलारको भरमा जीवन बिताउँदै आएका कार्की अहिले ७० वर्ष पुगिसक्नुभयो । गाउँको तल चमेलिया नदी कलकल बगिरहे पनि उनीहरूको बस्ती भने अझै अन्धकारमै छ ।

    स्थानीय भाषा ‘चम्लेउ’ (चौलानी) भनेर चिनिने चमेलिया नदी अपिहिमाल ९सात हजार १३२ मिटर० को फेदबाट बग्छ । चमेलिया नदीबाट विद्युत् उत्पादन भएको धेरै सुनिए पनि मुहान नजिकैका बस्तीहरू भने उज्यालोबाट वञ्चित छन् ।

    अपिहिमाल गाउँपालिका–१ का ल्वाथी, लुम्चा, खायकोट, भट्टार, गुरुसाड, सिती, आरुखोड तथा वडा नं २ का घुसा, पाटु, लिथीलगायतका बस्ती अहिले पनि अन्धकारमै छन् । सेतो हिमाल चम्किएर उज्यालोको आभास दिलाए पनि गाउँमा विद्युत् नहुँदा स्थानीयको दैनिक जीवन कठिन बनेको छ ।

    जिल्लाको सबैभन्दा विकट क्षेत्र मानिएको दार्चुलाको अपिहिमालमा अहिले भने आशाको किरण देखिन थालेको छ । विद्युतीकरणका लागि हेलिकप्टरमार्फत ट्रान्सफर्मर ढुवानी गरिएपछि स्थानीयमा अब गाउँमा बत्ती बल्ने विश्वास बढेको हो । गाउँ–गाउँमा विद्युत्का पोल गाड्ने काम सुरु भइसकेको छभने हाइटेन्सन लाइन अपिहिमाल गाउँपालिका–२ को धनबोरासम्म पुगेको छ । पोल गाड्ने र तार तान्ने काम अघि बढेसँगै स्थानीय उत्साहित भएका छन् । पोल गाड्ने र तार तान्ने काम अघि बढेपछि भने अब गाउँमा विद्युत् आउँछ भन्नेमा स्थानीय ढुक्क भएका छन् । 

    अपिहिमाल गाउँपालिका–२ का रमेशसिंह लोथ्याल भन्नुहुन्छ, “गाउँमा विद्युत्कै लागि भने पोलहरु आफैँ पिठ्यूँमा बोकेर गाड्ने काम गरेका छौँ । विद्युत्को तार पुगेपछि थप विद्युतीकरण सुरु हुनेछ । छ वडा रहेको अपिहिमाल गाउँपालिकाको वडा नं ५ मा मात्रै विद्युत्को राष्ट्रिय प्रसारण लाइनको बत्ती बलेको छ । अहिले विद्युतीकरण हुन बाँकी रहेका सबै वडामा विद्युत् पु¥याउने गरी पोल विस्तार गर्ने काम भएको छ । 

    विद्युतीकरणको काम गराउँदै आएका निर्माण व्यवसायी जीवन लोथ्यालकाअनुसार अहिले अपिहिमाल गाउँपालिका–३ र ४ हुँदै वडा नं २ मा लाइन विस्तार गर्ने तयारी छ । अपिहिमाल गाउँपालिकाको सकारमा पोल गाड्न बाँकी छ । वडा नं १ को भट्टार गाउँभन्दा माथिल्लो क्षेत्रमा विद्युत्को पोल गाड्न बाँकी छ । विद्युत्को पोल गाडेपछि लाइन विस्तार अभियान चल्ने उहाँको भनाइ छ ।

    अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरेका अनुसार अब अपिहिमाल गाउँपालिका छिट्टै राष्ट्रिय लाइनबाट बत्ती बल्नेछ । बस्ती–बस्तीहरुमा विद्युत् राष्ट्रिय प्रसारणलाइन विस्तार तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो । 

    अध्यक्ष बोहराका अनुसार हाल गाउँपालिका–४ को सबै ठाउँमा लाइन विस्तार भइसकेको, वडा नं ३ को लाइन विस्तार केही ठाउँमा सम्पन्न भएको छभने हाइटेन्सन पोल ढुवानी भइरहेको छ । वडा नं १ र २ मा लोकल सर्भिस पोल ढुवानी ९० प्रतिशत पूरा भएको उहाँले बताउनुभयो ।

    यस्तै, वडा नं ६ मा विद्युत्का पोल ढुवानीको काम चलिरहेको छ । 

    नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत जिल्लाका सबै स्थानीय तहमा विद्युत् पु¥याउने गरी काम भइरहेको छ । दार्चुलामा विद्युत्को मेन लाइन र शाखा लाइनको काम धमाधम भइरहेको कस्मिक इलेक्ट्रिकल लिमिटेड परियोजनाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर मनोज बस्नेतले बताउनुभयो । 

    उहाँका अनुसार अपिहिमालमा सिम्रिक एयरको हेलिकप्टरमार्फत २२ वटा विद्युत् ट्रान्सर्फमर ढुवानी गरिएको तथा हाइटेन्सन लाइन विस्तार हुँदैछ । 

    जिल्लाको महाकाली, लेकम, मालिकार्जुन, दुहुँ, शैल्यशिखरलगायत अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । व्यास, मार्मा, नौगाडमा पनि विद्युतीकरणको काम भइरहेको छ । अपिहिमालमा जनशक्ति अभावका कारण विद्युतीकरणमा ढिलाइ भइरहेको इन्जिनियर बस्नेतले बताउनुभयो । 

    प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरिया र दार्चुला वितरण केन्द्र खलङ्गाले यस जिल्लाको नौवटै स्थानीय तहमा विद्युत् लाइन विस्तार, मर्मत तथा विद्युतीकरणको काम गरिरहेको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख रौशनकुमार ठाकुरले बताउनुभयो ।

    करिब २८ हजार घरधुरी रहेको दार्चुलामा अहिले २२ हजार ४८८ घरधुरीमा विद्युत् पहुँच पुगेको ठाकुरले बताउनुभयो । यो कुल विद्युतीकरण भएको ७९ दशमलव २४ प्रतिशत हो । यी घरधुरीहरुमा विद्युत्को मिटर जडान भइसकेको छ ।

    गत आर्थिक वर्ष २०८१÷८२ मा यहाँका सात गाउँपालिका र दुई नगरपालिकाका २८ हजार ३८१ घरधुरीका २० हजार ५६३ ग्राहकलाई रु पाँच करोड ७५ लाख ८१ हजार ९५५ मा विद्युत् बिक्री गरिएको थियो । 

    गत आवमा जिल्लाका एक हजार ८६७ जना विद्युत्का नयाँ ग्राहक थपिएका थिए । केन्द्रले गत आवमा २० दशमलव आठ किलोमिटर एलटी लाइन र १५ दशमलव २५ किलोमिटर ११ केभिए लाइन निर्माण र नौ थान नयाँ ट्रान्सफर्मर जडान गरेको उहाँले बताउनुभयो । अहिले पनि विद्युत्को एलटी लाइन तथा ट्रान्सर्फमर थप गर्ने प्रक्रिया चलिरहेको छ । जिल्लामा दुई मेगावाट विद्युत् मात्रै खपत रहेको कार्यालय प्रमुख ठाकुरको भनाइ छ । 

    एक सय मेगावट विद्युत् उत्पादन

    विद्युत्को ‘हब’ मानिएको चमेलिया र आसपासका नदीहरुबाट दार्चुलामा हालसम्म एक सय मेगावाट विद्युत् उत्पादन गरिएको छ । जिल्लाले भने हाल दुई मेगावट मात्रै विद्युत् खपत गरिरहेको छ । अझै जिल्लामा विद्युत् उत्पादनको काम निरन्तर भइरहेको छ । दार्चुलामा सरकारी तवरबाट उत्पादन गरिएको चमेलिया जलविद्युत् आयोजनाबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । शैल्यशिखर नगरपालिका–१ स्थित बलाँचमा विद्युत् उत्पादन भइरहेको हो । चमेलिया विद्युत् उत्पादन गरिएपछि जिल्लाभरि उत्पादन गरिएका विद्युत् यहीँबाट जिल्ला बाहिर पठाउने काम भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । 

    यस्तै निजी क्षेत्रबाट मार्मा गाउँपालिका–२ घट्टेगाडमा माथिल्लो चमेलिया आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन गरिएको छ । अपि पावर लिमिटेडले विद्युत् उत्पादन गरेको हो । यस्तै, अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट, नौगाड खोला जलविद्युत् आयोजनाबाट शैल्यशिखर नगरपालिका–२ मा आठ दशमलव पाँच मेगावाट नौगाड र माथिल्लो नौगाड खोला आयोजनाबाट आठ मेगावाट विद्युत् उत्पादन भएको छ । यी आयोजनाहरुबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन भइरहेको छ ।

    यसबाहेक अपिहिमाल गाउँपालिका–३ क्षत्तिगाडमा एक सय किलोवाट विद्युत् उत्पादन भएको छ । यस विद्युत्बाट अपिहिमालका वडा नं ३ र ४ मा बत्ती बलेको छ । 

    यस्तै नौगाड गाउँपालिका–३ होपरीगाडमा एक सय किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको छ । यसले हाल नौगाडका वडा नम्बर १, २, ३ र ४ नम्बरसम्म बिजुली बाल्ने काम भएको निर्माण समिति अध्यक्ष पानसिंह धामीले जानकारी दिनुभयो ।

    चमेलिया र थालीगाडमा विद्युत् उत्पादन गरिँदै

    दार्चुलाको मार्मा गाउँपालिका–२ मा २८.३० मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजना निर्माणको काम चलिरहेको छ । दार्चुला पावर लिमिटेडले रु पाँच अर्ब ६६ करोडको लागतमा आयोजना निर्माण गरिरहेको हो । अपर चमेलिया जलविद्युत् आयोजनाको विद्युत् गृहभन्दा आधा किलोमिटर तल मध्यचमेलियाको बाँध बनाएर आयोजना निर्माण भइरहेको छ । 

    अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले २०८१ फागुन १० गते २४ महिनाभित्र निर्माण सक्ने गरी आयोजनाको शिलान्यास गरेको थियो । २०८३ माघसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको प्रोजेक्टर म्यानेजर विनय उप्रेतीले बताउनुभयो । अहिले विद्युत्को पाइप लाइन, पावर हाउसलगायत सबै काम भइरहेका छन् । विद्युत्को २५ प्रतिशत प्रगति भएको छ । अहिलेको बर्खा अगावै ६० प्रतिशत काम सकिने उहाँको भनाइ छ । 

    मार्मा गाउँपालिका–२, लाम्बगडमा बाँधस्थल रहने आयोजनाको साढे सात किलोमिटर तल मार्मा गाउँपालिका–३, नलबगडमा विद्युत् गृह निर्माण भइरहेको छ । यो आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने बताइएको छ । मध्यचमेलियामा नेपाल बैङ्क लिमिटेड र नबिल बैङ्कको ७५ प्रतिशत ऋण लगानी रहेको छ भने २५ प्रतिशत दार्चुला पावर लिमिटेडको स्वपुँजी रहेको छ । 

    यस्तै, महाकाली नगरपालिका–६ र ७ को सीमाना भएर बग्ने थालिगाड खोलामा दुई मेगावाटको थालिगाड साना जलविद्युत् आयोजना निर्माण गरिदैछ । दार्चुलाको त्रिकाल पावर कम्पनी प्रालिले थालीगाड खोलामा आयोजना निर्माण सुरु गरिसकेको कम्पनीका निर्देशक दिलीपसिंह बुढाथोकीले जानकारी दिनुभयो । अहिले थालिगाडमा विद्युत्को प्रारम्भिक काम सुरु भइसकेको छ । आयोजनाबाट उत्पादित बिजुली एक किलोमिटर लामो ३३ केभी लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको धाप सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट २०८३ वैशाख १० गतेसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा ४० देखि ४५ करोड लागत लाग्ने अनुमान गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.