सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

२८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा


  •    न्युजभित्तो/८ मंसिर २०८३, सोमबार १४:०६ 
  • चितवन, ७ मंसिर । नेपालको पहिलो केबलकारका रूपमा स्थापित मनकामना केबलकारले सञ्चालनको २८ वर्ष पूरा गरेको छ । चितवन को–इ समूहअन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले २८औँ वर्षको सफल सञ्चालन पूरा गर्दै भोलि मंसिर ८ गतेदेखि २९औँ वर्षमा प्रवेश गरेको हो ।

    कम्पनीका अनुसार सञ्चालनमा आएको २८ वर्षको अवधिमा केबलकारले २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको छ । नेपालको पर्यटन तथा पूर्वाधार विकासमा नयाँ आयाम थपेको मनकामना केबलकार धार्मिक पर्यटनको महत्वपूर्ण माध्यमका रूपमा स्थापित भएको छ ।

    चितवन कोइ समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना र नेतृत्वमा स्थापना भएको मनकामना केबलकारले नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी र नवीन पूर्वाधार विकासको उदाहरण प्रस्तुत गरेको छ । नेपालमा केबलकार प्रविधिको सुरुवात गर्दै सञ्चालनमा आएको यस परियोजनाले मनकामना मन्दिरसम्मको यात्रा सहज बनाउनुका साथै गोरखा र चितवन क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएको छ ।

    मनकामना मन्दिर दर्शन गर्न जाने भक्तजनलाई सहज, सुरक्षित र छिटो यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको केबलकारले सडकमार्गबाट लामो र कठिन यात्रा गर्नुपर्ने अवस्थालाई सहज बनाएको छ । यसले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका तथा शारीरिक रूपमा कठिन यात्रा गर्न नसक्ने दर्शनार्थीलाई मन्दिरसम्म पुग्न थप सहज बनाएको छ ।

    २८ वर्षको यात्रामा मनकामना केबलकारले धार्मिक पर्यटकसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्दै आएको छ । केबलकार सञ्चालनसँगै मनकामना क्षेत्रको होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ । यसले स्थानीय स्तरमा रोजगारी र आर्थिक गतिविधि विस्तारमा पनि सहयोग पुर्‍याएको छ ।

    कम्पनीले यस विशेष अवसरमा केबलकारका परिकल्पनाकार तथा संस्थापक स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । उहाँले देखाउनुभएको दूरदृष्टि, मार्गनिर्देशन र पर्यटन पूर्वाधार विकासको सोचलाई निरन्तरता दिँदै अघि बढ्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

    केबलकारको २८ वर्षे यात्रालाई सफल बनाउन साथ, विश्वास र सहयोग प्रदान गर्ने सम्पूर्ण यात्रु तथा ग्राहकप्रति कम्पनीले आभार व्यक्त गरेको छ । त्यसैगरी, संस्थालाई यस उचाइसम्म पुर्‍याउन निरन्तर खटिने कर्मचारीहरूको मेहनत, निष्ठा र समर्पणको उच्च प्रशंसा गरेको छ ।

    पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार, सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकप्रति पनि कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।

    मनकामना केबलकारले आगामी दिनमा यात्रुलाई अझ उत्कृष्ट सेवा, सुरक्षित यात्रा र स्तरीय अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । २८ वर्षको सफल यात्रालाई आगामी दिनमा थप गुणस्तरीय र प्रभावकारी बनाउँदै नेपालको पर्यटन तथा पूर्वाधार विकासमा योगदान पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ ।

    नेपालको केबलकार पर्यटनको इतिहासमा महत्वपूर्ण स्थान बनाएको मनकामना केबलकारको २८ वर्षे यात्रा केवल यातायात सेवामा सीमित छैन । यसले धार्मिक पर्यटनलाई सहज बनाउनुका साथै निजी क्षेत्रको लगानीबाट पर्यटन पूर्वाधार विकास र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न सकिने सम्भावनालाई समेत स्थापित गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.