सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आँसु बोकेर परदेश, रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता


  •    न्युजभित्तो/८ फाल्गुन २०८२, शुक्रबार १५:३२ 
  • भद्रपुर (झापा), ८ फागुन । परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन । 

    मेचीनगर नगरपालिका–८ की सीता थापामगर पनि यही बाध्यताको यात्रामा परदेशिनुभयो । कुबेतदेखि लेबनान र साउदी अरबसम्म फैलिएको उहाँको जीवन यात्रा वैदेशिक रोजगारीको अवसरभन्दा बढी सङ्घर्ष, पीडा र रोगसँगको लडाइँको दस्तावेज बनेर स्वदेश फर्किएको छ ।

    सीताको विवाह १६ वर्षकै उमेरमा २०४७ सालमा भयो । किशोरावस्थामै गृहस्थीको जिम्मेवारी सम्हाल्न थाल्नुभएकी सीताले छोटो समयमै मातृत्वको अनुभव पनि गर्नुभयो । एक छोरा र एक छोरीको जन्मसँगै जीवनले नयाँ अर्थ लिँदै थियो । तर उहाँको उमेर २५ वर्ष नपुग्दै श्रीमान्को निधन भयो । श्रीमान् गुमाउँदा सीताले केवल जीवनसाथी मात्र गुमाउनु भएन, उपचारका क्रममा लागेको ऋण पनि उहाँकै काँधमा आइप¥यो ।

    श्रीमान्को मृत्युपछि परिवारको सम्पूर्ण जिम्मेवारी सीतामाथि आयो । स–साना छोराछोरी, सासू–ससुरा र घरखर्च—सबै एक्लैले धान्नुपर्ने अवस्था आयो । नेपालमै मजदुरी गरेर ऋण तिर्न र परिवार पाल्न सम्भव नदेखिएपछि उहाँले परदेश जाने कठिन निर्णय लिनुभयो । आफन्तको सहयोगमा भारतको बाटो हुँदै भिजिट भिसामा २०६२ सालतिर सीता कुबेत पुग्नुभयो । कुबेत जान करिब २० हजार रुपैयाँ खर्च भएको थियो, जुन रकम जुटाउन नै उहाँलाई सङ्घर्ष गर्नुपरेको थियो ।

    कुबेतमा सीताले घरेलु कामदारका रूपमा काम सुरु गर्नुभयो । मासिक करिब आठ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउनुहुन्थ्यो । तर परदेशी जीवन उहाँका लागि सहज थिएन । बिहानदेखि रातिसम्म निरन्तर काम गर्नुपर्ने, पर्याप्त आरामको अभाव, भाषागत कठिनाइ र असुरक्षित कार्य वातावरणसँग उहाँले दिनहुँ जुधिरहनुप¥यो । आफ्नो दुःख व्यक्त गर्ने ठाउँ र भरोसाको आधार नहुँदा मानसिक रूपमा पनि उहाँ कमजोर बन्दै जानुभयो । राम्रो साहु नपर्दा गालीगलौज, अपमान र मानसिक तनाव सहनु परेको अनुभव सीता सुनाउनुहुन्छ । यस्ता कठिन परिस्थितिबीच पनि उहाँले हार मान्नुभएन । चार वर्षसम्मको कुबेत बसाइँमा भोगिएका पीडा र सङ्घर्षकै बीच श्रीमान्को उपचारका क्रममा लागेको ऋण तिर्न भने उहाँ सफल हुनुभयो ।

    ऋण तिरेर नेपाल फर्केपछि सीताले स्वदेशमै बस्ने योजना बनाउनुभयो । परिवारसँगै बसेर छोराछोरीको हुर्काइ र शिक्षामा ध्यान दिने उहाँको चाहना थियो । तर समयसँगै छोराछोरी हुर्कंदै गए र उनीहरूको शिक्षा–दीक्षा, खानपान तथा दैनिकीका खर्च क्रमशः बढ्दै गयो । दैनिक जीवन चलाउनकै लागि पनि आर्थिक दबाब बढ्दै जाँदा परिवारको दायित्व घट्नुको सट्टा झन् थपिँदै गयो । नेपालमै सीमित आम्दानीका स्रोतले ती सबै जिम्मेवारी धान्न कठिन भएपछि सीता फेरि पनि परदेशकै बाटो रोज्न बाध्य हुनुभयो । यसपटक भने उहाँले अघिल्ला अनुभवबाट सिक्दै मेनपावरमार्फत कानुनी प्रक्रियाबाट वैदेशिक रोजगारीमा जाने निर्णय गर्नुभयो । सोही क्रममा २०६८ सालमा ६० हजार रुपैयाँ खर्चेर सीता मेनपावर कम्पनीमार्फत लेबनान पुग्नुभयो ।

    लेबनानमा उहाँको काम एक वृद्ध आमाको हेरचाह गर्ने थियो । काम तुलनात्मक रूपमा सहज थियो र मासिक करिब १५ हजार नेपाली रुपैयाँ जति पारिश्रमिक पाउनुहुन्थ्यो । सीता स्थिर आम्दानी र कामको सहजताले उनी केही सन्तुष्ट हुनुहुन्थ्यो । तीन वर्षसम्म लेबनानको बसाइँ सामान्य रूपमा चलिरहेको थियो । तर जीवनले फेरि उहाँलाई ठूलो पीडा दियो । लेबनानमै काम गरिरहेको अवस्थामा नेपालबाट आएको खबरले सीताको जीवन फेरि बदलियो । उहाँका किशोर छोरा घरमै असामयिक निधन भएको खबर आयो ।

    यो खबर सीताको जीवनकै सबैभन्दा ठूलो आघात बन्यो । आमाका लागि सन्तान गुमाउनु शब्दले व्यक्त गर्न नसकिने पीडा हो । परदेशमा बसेर सुनेको यो दुःखद समाचारले उहाँलाई गहिरो मानसिक चोट पु¥यायो । तीनवर्षे लेबनान बसाइँ पूरा हुन नपाउँदै सीता सबै काम छोडेर नेपाल फर्किनुभयो । घर फर्किएपछि केही समय उहाँ स्वदेशमै बस्नुभयो । शोकको पीडा, परिवारको अवस्था र बाँकी जिम्मेवारी सम्हाल्ने प्रयासमै उहाँका दिन बित्न थाले । छोराको असामयिक निधनको पीडाले मन भारी रहँदा पनि जीवन चलाउनुपर्ने बाध्यता टरेन । यही क्रममा आर्थिक अभाव फेरि पनि उहाँको जीवनमा उपस्थित भयो, जसले सीतालाई पुनः कठिन निर्णयतर्फ धकेल्ने परिस्थिति सिर्जना ग¥यो ।

    दुई वर्षपछि सीता पुनः मेनपावरमार्फत साउदी अरब पुग्नुभयो । साउदीमा उहाँले अस्पतालमा क्लिनरका रूपमा काम गर्नुभयो । कामको प्रकृति शारीरिक रूपमा मेहनतिलो थियो र लामो समयसम्म निरन्तर काम गर्नुपर्ने अवस्था रहन्थ्यो । पाँच वर्षसम्म लगातार काम गर्दा परिवारको जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान केन्द्रित हुँदा आफ्नो स्वास्थ्यप्रति भने पर्याप्त ध्यान दिन नसकेको उहाँ बताउनुहुन्छ । यही क्रममा घाँटीमा समस्या देखाप¥यो । 

    प्रारम्भमा सामान्य समस्या ठानेर बेवास्ता गरिए पनि समस्या बढ्दै गएपछि साउदीमै चार महिना उपचार गराउनुभयो तर उपचारबाट अपेक्षित सुधार हुन सकेन । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि अन्ततः उहाँ नेपाल फर्किनुभयो । नेपाल आएपछि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा जाँच गराउँदा उहाँलाई दोस्रो चरणको घाँटीको क्यान्सर भएको पुष्टि भयो, जसले सीताको जीवनमा अर्को ठूलो चुनौती थपिदियो ।

    क्यान्सरको खबरले सीताको जीवनमा अर्को ठूलो चुनौती थपियो । उपचारका क्रममा हालसम्म १४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अझै पनि नियमित उपचार र ‘फलोअप’ का लागि भरतपुर धाउनुपर्ने अवस्था छ । सीमित आम्दानी र स्रोतका बीच थोरै बचत, ऋण तथा आफन्तको सहयोगमा उहाँले उपचारलाई निरन्तरता दिनुभयो । शारीरिक पीडा, मानसिक तनाव र आर्थिक दबाबका बाबजुद पनि उहाँले हार मान्नुभएन । लामो सङ्घर्षपछि उहाँ क्यान्सरमाथि विजय पाउन सफल हुनुभयो । तर उपचारमा लागेको ठूलो खर्च र निरन्तर स्वास्थ्य हेरचाहको आवश्यकताले उहाँको जीवन अझै पनि पूर्ण रूपमा सहज बन्न सकेको छैन ।

    मेचीनगर नगरपालिकाले आयोजना गरेको एक अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदा मात्रै सीताले वैदेशिक रोजगार बोर्डबाट गम्भीर बिरामी उपचार सहयोग पाउन सकिने जानकारी पाउनुभयो तर उहाँका लागि आवेदन गर्ने समयसीमा गुज्रिसकेको थियो । “यो जानकारी मलाई समयमै किन कसैले दिएनरु” भन्ने प्रश्न आज पनि उहाँको मनमा घुमिरहन्छ । यद्यपि, वैदेशिक रोजगार म्यादी बीमाबाट भने सीताले गम्भीर बिरामी बापतको केही रकम पाउन सफल हुनुभयो । 

    हाल सीता थापामगर मेचीनगर–८ मै रहेको दुई कट्ठा जमिनमा बनेको सानो घरमा बसोबास गर्दै आउनुभएको छ । उहाँकी कान्छी छोरी हाल रोजगारीका लागि युएईमा छिन् । छोरीकै आम्दानीले अहिले उहाँको उपचार र दैनिकी चलेको छ । “विदेश जानु कसैको रहर होइन, बाध्यता हो,” सीता भन्नुहुन्छ, “तर विदेश जानुअघि धेरै सोचविचार गर्नुपर्छ, आफ्नो स्वास्थ्य र सुरक्षालाई पनि उत्तिकै महत्व दिनुपर्छ ।” सीताको जीवन कथा केवल एउटी महिलाको सङ्घर्षको कथा होइन । यो हजारौँ नेपाली वैदेशिक श्रमिकहरूको साझा यथार्थ हो । युवावस्थामा परदेशमा पसिना बगाउने, परिवारका लागि सपना साँच्ने र उमेर ढल्किँदा रोग, पीडा र आर्थिक अभाव बोकेर स्वदेश फर्किनुपर्ने बाध्यता धेरै नेपालीले भोगिरहेका छन् । सूचना र पहुँचको अभावले उनीहरूको पीडा अझ गहिरो बनेको छ ।

    सीता थापामगरको कथा वैदेशिक रोजगारीको चम्किलो पक्षभन्दा परको वास्तविकता हो । ऋण तिर्न परदेश जानुभएकी सीता आफैँ रोगी भएर फर्किन बाध्य हुनुभयो । उहाँको अनुभवले राज्य, समाज र सरोकारवालालाई गम्भीर प्रश्न सोधिरहेका छ– वैदेशिक श्रमिकका लागि समयमै सूचना, स्वास्थ्य सुरक्षा र उपचार सहयोग कति प्रभावकारी छ रु सीताको जीवनले एउटा सन्देश दिन्छ–वैदेशिक रोजगारी समाधान मात्र होइन, जिम्मेवारी पनि हो । श्रमिकको श्रमसँगै उसको स्वास्थ्य, सुरक्षा र भविष्यको प्रत्याभूति राज्यले गर्न सके मात्र परदेशको पसिना अर्थपूर्ण बन्न सक्छ । नत्र, सीता थापामगरजस्ता श्रमिकका कथाहरू बाध्यताको इतिहास बनेर पुस्तौँसम्म दोहोरिइरहनेछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.