सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाशिवरात्रिः पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन


  •    न्युजभित्तो/४ फाल्गुन २०८२, सोमबार ११:३२ 
  • काठमाडौँ, ४ फागुन । जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो ।

    महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन ।

    आइतबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजा आज बिहान ६ बजे अघि सकिएको थियो । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा शुक्रबारदेखि नै सुरु भएको भक्तजनको चहलपहल आज बिहानसम्म पनि कायम रहेको छ । राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म पनि भक्तजन लाइनमा बसेको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो ।

    विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो । यो वर्ष भने धेरै भक्तजन राति पनि लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उहाँले बताउनुभयो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।

    गोकर्णेश्वरमा जम्मा भए हजारौँ भक्तजन

    यसैगरी गोकर्णेश्वर महादेव मन्दिरमा पनि आइतबार रातिसम्म नै भक्तजनको भीड लागेको थियो । गोकर्णेश्वर मन्दिर क्षेत्रलाई पनि बिजुली बत्तीले झिलिमिली बनाइएको थियो । पशुपतिनाथमा श्रीयन्त्रको पूजा आराधना हुने र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने गर्छ । श्रीयन्त्रको पूजा आराधनामा सहभागी हुनेले फल प्राप्तिका लागि बालयन्त्रको पूजा आाराधनामा पनि सहभागी हुनुपर्ने शास्त्रीय मान्यता भएकाले पनि पशुपतिनाथ आएका केही भक्तजन गोकर्णेश्वर आउने गर्छन् ।

    भक्तजनका कारण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएको फोहर आज बिहान सफाइ गरिने भएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ गर्न लागिएको जनाइएको छ । मञ्चले गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएको छ । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको मञ्चले प्रत्येक हप्ताको शनिबार नियमित रुपमा बिहान दुई घण्टा गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्छ ।
    बाणेश्वर र नागेश्वरमा पनि रातिसम्म भक्तजनको लाम

    पशुपति क्षेत्रस्थित साविकको गौचरणस्थित हालको त्रिभुवन विमानस्थलबाट गोठाटार क्षेत्रमा स्थानान्तरण गरिएको नागेश्वर महादेव मन्दिरमा पनि आइतबार बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको थियो । त्यो लाम आइतबार रातिसम्म उस्तै थियो । नागेश्वरमा छ जना ब्राह्मणद्वारा चारै प्रहर पूजाआराधना एवं रुद्राभिषेक गरिएको थियो । यो पूजा प्रत्येक वर्ष महाशिवरात्रिका अवसरमा हुने गर्छ ।

    नागेश्वरमा महाशिवरात्रिका अवसरमा रातिसम्म नै भक्तजनको लामो लाम लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङग रायमाझीले राससलाई जानकारी दिनुभयो । मन्दिरमा बिहानदेखि रातिसमम हजारौँ भक्तजनले पूजाआराधना एवं दर्शन गरेका छन् । महाशिवरात्रिमा बाणेश्वर एवं नागेश्वरको दर्शन गर्नाले मुद्दामामिलाबाट छुटकारा पाउनुका साथै श्री प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको अध्यक्ष रायमाझीले बताउनुभयो ।

    यसैगरी राजधानी र देशभरका अन्य शिवालयमा पनि रातिसम्म नै भक्तजनको लाम लागेको थियो । मध्यरातमा फागुन कृष्ण चतुर्दशी तिथि परेका दिन प्रत्येक वर्ष महाशिवरात्रि पर्व विशेष रुपमा मनाउने गरिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.