सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आधुनिकतासँगै सङ्कटमा पर्‍यो राना थारु समुदायको डोली–चन्डोल बोक्ने परम्परा


  •    न्युजभित्तो/१७ माघ २०८२, शुक्रबार १३:३१ 
  • कञ्चनपुर, १६ माघ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा आधुनिक जीवनशैली, यातायातको सहज पहुँच र बदलिँदो सामाजिक सोचका कारण क्रमशः लोपोन्मुख बन्दै गएको छ ।

    पुस्तौँदेखि निरन्तर चल्दै आएको यो मौलिक सांस्कृतिक अभ्यास संरक्षणको गम्भीर चुनौतीमा परेको स्थानीय राना समुदायका अगुवा र संस्कृतिविद्हरु बताउनुहुन्छ । विवाहका अवसरमा दुलहाका लागि ‘चन्डोल’ र दुलहीका लागि ‘डोली’ प्रयोग गर्नु राना थारु समुदायको सदियौँ पुरानो चलन हो । यसले समुदायको सामाजिक प्रतिष्ठा, आपसी सम्बन्ध र विशिष्ट सांस्कृतिक पहिचानलाई उजागर गर्ने गर्दछ । परम्परागत रूप्मा बाँस, कपडा र स्थानीय सामग्री प्रयोग गरी तयार गरिने डोली–चन्डोल केवल विवाहमा दुहला, दुलहरी बोक्ने साधनमात्र नभई संस्कार, आस्था र सामाजिक मूल्यको प्रतीक मानिन्छ ।

    नेपाल राना थारु समाजका केन्द्रीय सदस्य रामशाह रानाका अनुसार बेहुलीका लागि तयार गरिने डोली बाँसबाट निर्माण गरिन्छ । “डोलीको माथिल्लो भाग सेतो कपडाले बेर्ने गरिन्छ भने बाँसकै छतरी बनाइन्छ”, उहाँले भन्नुभयो, “डोलीभित्र चारपाई ९डोरीले बुनिएको खटिया० राखी चारैतिर रङ्गीविरङ्गी कपडाले सजाइन्छ । पहिले कछनीको कपडाको प्रयोग बढी हुन्थ्यो ।”

    दुलहा बस्ने चन्डोल पनि बाँसबाटै तयार गरिन्छ । बाँसका डण्डालाई चारैतिर बाँधेर बीचमा छतरी राखिन्छ र कण्डी, फुलवा तथा अर्सा कपडाले आकर्षक ढङ्गले सजाइन्छ । चन्डोल र डोली सजाउने काममा परिवारका सदस्य तथा आफन्तको सक्रिय सहभागिता रहने गर्दछ । उहाँ भन्नुहुन्छ, “जसले सामूहिकता र सामाजिक एकताको भाव झल्काउँछ ।”

    विवाहको दिन दुलहालाई चन्डोलमा चढाउनुअघि घरमै विशेष संस्कार गरिन्छ । दिदीबहिनीले हल्दी ९बेसार० कुटेर बेहुलाको शरीरमा दल्ने चलन छ, जसले रोगव्याधि हट्ने र शुभता ल्याउने जनविश्वास राना थारु समुदायमा छ । त्यसपछि बेहुलालाई नुहाईधुवाई गराई टाउकोमा सेतो पगडी, शरीरमा नयाँ कपडा, कम्मरमा सेतो फेटा र कटारो बाँधिन्छ । सो अवसरमा बहिनी–ज्वाइँ र भिनाजुले ढाल–तरबार बोक्ने चलन पनि रहेको राना बताउनुहुन्छ ।

    दुलहालाई चन्डोलमा बसाल्नुअघि ‘निम्तो हाल्ने’ अर्थात् दक्षिणा दिने र टीकाटालो गर्ने गरिन्छ । चन्डोलभित्र गद्दा र गुदरिया ओछ्याइएको खटियामा दुलहासँगै उहाँका भाइलाई पनि बसाइन्छ, जसलाई ‘सौविल्ला’ भनिन्छ । दुलहा एक्लो नहोस् भन्ने मान्यताका आधारमा यो चलन विकसित भएको हो । चन्डोलमा बसेका दुलहा र सौविल्लालाई दिदीबहिनी, फूपू तथा आफन्तले फूल, पैसा र अक्षताले पूजा गर्ने गर्दछन्, जसलाई राना थारु भाषामा ‘न्यौछार’ गर्ने भनिन्छ ।

    डोलीमा भने दुलहीलाई मात्रै चढाइने परम्परा छ । दुलहीलाई पनि दिदीबहिनीले हल्दी लगाउने, नुहाएपछि बेहुलाको घरबाट पठाइएको लुगा लगाइदिने र अक्षता, फूल–पैसाले पूजा गर्ने चलन छ । राना थारु अगुवा रतनबहादुर रानाका अनुसार पहिले दुलहीले सेतो कपडा र बम्बै घघँरिया लगाउने प्रचलन थियो । “अहिले त्यो चलन विस्तारै हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “आधुनिक फेसन र महँगा लुगाले परम्परागत पहिरन विस्थापित हुँदै गएका छन् ।”

    पहिले दुलहालाई भिनाजु र बहिनीज्वाइँ गरी चार जनाले चन्डोलमा काँधमा बोकेर बेहुलीको घर पुर्याउने र विवाह सम्पन्न भएपछि दुलहीलाई दाजुभाइ तथा भतिजाले डोलीमा काँधमै बोकेर बेहुलाको घरसम्म पुर्याउने चलन थियो । रतन भन्नुहुन्छ, “गाउँदेखि गाउँसम्म डोली–चन्डोल बोकेर हिँड्दा वातावरण नै उत्सवमय हुने गर्दथ्यो, तर अहिले यो दृश्य बिरलै देख्न पाइन्छ ।”

    हाल घरभन्दा केही परसम्ममात्र रीतिथिति जोगाउन डोली र चन्डोलमा बोक्ने गरिन्छ । राना अगुवा रानाले भन्नुभयो, “त्यसपछि बस, कार वा अन्य सवारीसाधन प्रयोग गरेर गन्तव्यमा पुर्याइन्छ ।”

    राना थारु समुदायका अगुवा बालसुग्रिव रानाले डोली–चन्डोल बोक्ने चलन हराउँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो । “पहिला डोली–चन्डोल बोक्दा काँध पुरै सुन्निने गर्दथ्यो”, उहाँले भन्नुभयो, “अब ती दिन सम्झनामा मात्र सीमित हुँदै गएका छन् ।” उहाँका अनुसार आधुनिक सवारीसाधनको प्रयोगले सहजता त दिएको छ तर समुदायको मौलिक चालचलन र संस्कार ओझेलमा पर्न थालेका छन् ।

    परम्परागत पहिरनको साटो अचेल बेहुलाले कोटपाइन्ट, टाइ र दुलहीले आधुनिक तथा महँगा लुगा लगाउने चलन बढ्दै गएको छ । यसले राना थारु समुदायको मौलिक पहिचान झल्काउने संस्कृति कमजोर बन्दै गएको राना थारु संस्कृतिविद्हरुको भनाइ छ ।

    स्थानीय अगुवाहरुले आधुनिकतालाई पूर्ण रूप्मा अस्वीकार गर्न नसकिने भए पनि परम्परागत संस्कार र संस्कृति जोगाउन नयाँ पुस्तामा चेतना आवश्यक रहेको बताउँछन् । डोली–चन्डोलजस्ता सांस्कृतिक प्रतीक संरक्षण गर्न समुदाय, स्थानीय तह र सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको थारु बुद्धिजीवी गेदुराम रानाले बताउनुभयो ।

    “राना थारु समुदायको डोली–चन्डोल परम्परा केवल विवाह संस्कारको एउटा हिस्सामात्र नभई सामूहिक पहिचान, सामाजिक सम्बन्ध र सांस्कृतिक गौरवको प्रतीक भएकाले यसलाई जोगाउनु अत्यन्त आवश्यक छ”, उहाँ भन्नुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.