सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’


  •    न्युजभित्तो/१६ माघ २०८२, बिहीबार १२:२५ 
  • सिरहा, १५ माघ । अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो ।

    स्थानीयवासीहरु भन्दथे, “अब यो उमेरमा के नागरिकता बनाउँछाँै आमा रु” तर, यादवलाई ‘अनागरिक’ भएर मर्ने इच्छा थिएन । बुधबार जब सिरहाको जिल्ला प्रशासन कार्यालयबाट उहाँले आफ्नो नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो, उहाँका आँखा रसाए । हर्ष र बेदना एकैपटक छचल्कियो । यो केवल एउटा कागजको पाना थिएन, उहाँको आठ वर्षको सङ्घर्ष र तिरस्कारपछिको विजय थियो ।

    औरही गाउँपालिका—३ पिपरामा जन्मिनुभएकी यादवले २०२३ सालमा नवराजपुर–४ का बौवेलाल यादवको कान्छी श्रीमतीका रूपमा भित्रिनुभएको थियो । जेठी श्रीमतीका चार छोरी भए पनि कपलेश्वरीका आफ्नै सन्तान भएनन् । २०३१ सालमा श्रीमान्को निधन भएपछि उहाँ सहाराविहीन हुनुभयो ।

    आफ्ना नातेदार र माइतीतर्फका दाजुभाइ सबैको वंशजको नागरिकता भए पनि कपलेश्वरी भने नागरिकताको मूल ढोकामै रोकिनुभएको थियो । श्रीमान्को मृत्युपछि अंशका लागि उहाँले अदालतमा ‘हक कायम’ मुद्दा लडेर जित्नुभयो । अंश मुद्दा जितेर साढे ११ धुर जग्गा त पाउनुभयो, तर त्यही जग्गाको लालपुर्जा र आफन्तका सबै प्रमाण हुँदाहुँदै पनि उहाँले नागरिकता पाउन सक्नुभएन ।

    माइतीले दिएको छ कट्ठा जग्गा पनि उहाँकै नाममा थियो । तर, विडम्बना १ नागरिकता नहुँदा न उहाँले त्यो जग्गा बेचबिखन गर्न पाउनुभयो, न आफूलाई बुढेसकालमा पाल्ने नातिको नाममा नामसारी गर्न नै सक्नुभयो । उहाँको बाटोमा तगारो बनेका थिए, गाउँकै जनप्रतिनिधि । विभिन्न कारणले वडा कार्यालयले सिफारिस दिन पटक–पटक इन्कार गरिरह्यो ।

    उहाँमाथि ‘स्थानीय बासिन्दा नै नभएको’ झुटो मुद्दासमेत हालियो । “आफ्नै गाउँमा पराई जस्तो हुनुपर्दाको पीडा सुनाउने ठाउँ कतै थिएन,” ती दिन सम्झदै उहाँका नाति रामपरीक्षण यादव भन्नुहुन्छ ।

    कपलेश्वरीका आफूपट्टिका न त सन्तान छन्, न सहारा दिने श्रीमान् । बुढेसकालले छोप्दै ल्याएपछि उहाँलाई एउटै चिन्ता थियो, अब बाँकी जीवन कसरी काट्ने रु सरकारले दिने सामाजिक सुरक्षा भत्ता ९वृद्ध भत्ता० पाउन पनि नागरिकता अनिवार्य थियो । तर, वडाको दैलोबाट रित्तो हात फर्किंदा उहाँ धेरै पटक रुनुभएको थियो ।
    सञ्चारमाध्यममा नागरिकता प्राप्तिको लागि उहाँले गर्नुभएको सङ्घर्षको कथा आएपछि र गाउँपालिका अध्यक्ष शिवउद्गार यादवले विशेष पहल गरेपछि आठ वर्षपछि मात्र उहाँको प्रशासनिक उल्झन सुल्झियो । अदालतको ढोका र प्रशासनको चक्कर सकिएपछि बल्ल उहाँले राज्यको नागरिक हुनुको गौरव महसुस गर्नुभएको छ ।

    आफ्नी हजुरआमाको हकका लागि वडादेखि अदालतसम्म धाउने नाति रामपरीक्षण यादव अहिले निकै खुसी हुनुभएको छ । उहाँले प्रफूल्लित हुँदै भन्नुभयो,“हजुरआमाले यो उमेरमा आएर न्याय पाउनुभयो, यसैमा म धेरै खुसी छु । नागरिकता नहुँदा उहाँले आफ्नो जग्गा जमिनको उपभोग गर्न पाउनुभएको थिएन र वृद्ध भत्ताबाट पनि वञ्चित हुनुहुन्थ्यो ।

    अब उहाँले राज्यको नागरिक हुनुको गौरव महसुस गर्न पाउनुहुनेछ । यो हाम्रो परिवारका लागि ठूलो जित हो ।”नागरिकता सुम्सुम्याउँदै कपलेश्वरीले भावुक भएर भन्नुभयो,“छोराछोरी छैनन्, सहारा दिने कोही थिएन । अब सरकारले दिने भत्ताले थोरै भए पनि ओखतीमुलो र खाने खर्च पुग्छ । कम्तीमा अब आफ्नै देशको नागरिक भएर ढुक्कले मर्न पाउने भएँ ।”

    ७८ वर्षको उमेरमा पाएको यो नागरिकताले कपलेश्वरीलाई केवल आर्थिक राहत मात्र होइन, एउटा परिचय र सम्मान पनि दिएको छ । आफ्नी हजुरआमाले आठ वर्ष भोग्नुपरेको सास्ती सम्झँदै नाति रामपरीक्षण राज्यसंयन्त्रलाई प्रश्न गर्नुहुन्छ,“हजुरआमा जस्ता धेरै वृद्धवृद्धा अझै पनि प्रशासनिक झमेलामा अल्झिरहेका छन्, सबै प्रमाण र अदालती फैसला हुँदाहुँदै पनि एउटा नागरिकले आफ्नो परिचय पाउन किन आठ वर्ष कुर्नुपर्छ ?” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.