सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हाफ म्याराथनको उपाधि गुरुङलाई


  •    न्युजभित्तो/१ माघ २०८२, बुधबार १५:३६ 
  • दमौली (तनहुँ), ३० पुस । व्यास नगरपालिका–६ बाह्रबिसे युवा क्लबले आज आयोजना गरेको व्यासगुफा–गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि आँबुखैरेनीका सनम गुरुङले जित्नुभएको छ । चौतीस धावकलाई पछाडि पार्दै व्यास–३ व्यास गुफादेखि व्यास–६ गलेखामकोटसम्मको २१ किलोमिटर दूरीको म्याराथनमा गुरुङ प्रथम हुनुभएको हो ।

    म्याराथनमा शुक्लागण्डकी नगरपालिकाका टोपबहादुर कुमाल द्वितीय र भानु नगरपालिकाका आदित्य जिसी तृतीय हुनुभएको छ । विजेतालाई क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिनुभयो ।

    दुई धार्मिक तथा पर्यटकीय स्थल व्यासगुफा र गलेखामकोटलाई खेलकुदको माध्यमबाट जोड्ने र दुवै ठाउँको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित हाफ म्याराथन गरिएको उहाँले जानकारी दिनुभयो । व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले दुई ठाउँको धार्मिक पर्यटन प्रचारप्रसारमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो, “व्यास गुफा महत्वपूर्ण धार्मिकस्थल हो, गलेखामकोट धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण कोट हो, त्यसको विकास र प्रवद्र्धनका लागि जुटेका छौं ।” म्याराथनले गलेखामकोटसम्म भावनात्मक हिसाबले सम्बन्ध जोड्न सहयोग पुगेको बताउँदै नगरप्रमुख न्यौपानेले गलेखामकोटको थप प्रचारप्र्रसार गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले माघ १६ गते मानुङकोटदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन आयोजना गर्न लागेको बताउँदै नगरप्रमुख न्यौपानेले खेललाई पर्यटनसँग जोडेर जानुपर्ने धारणा राख्नुभयो ।

    व्यास–६ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले गलेखामकोटलाई पर्यटकीय हिसावले विकास गर्ने उद्धेश्यसहित म्याराथन आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यसले भोलिका दिनमा व्यास–६ लाई अगाडि बढाउन सहयोग पुग्नेछ । यसलाई पर्यटकीय हिसावले विकास गर्न सकिए स्थानीयको आर्थिक सवलीकरणमा टेवा पुग्नेछ ।”

    यसैबीच क्लबले भोलिदेखि वडा स्तरीय भलिबल प्रतियोगितासमेत आयोजना गरेको छ । भलिबल प्रतियोगितामा विजेतालाई रु ४० हजार, ट्रफी र मेडल तथा उपविजेतालाई रु २५ हजार, ट्रफी र मेडल प्रदान गरिनेछ । यस्तै सेमिफाइनल पुग्ने दुई टोलीलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    गलेखामकोट समुन्द्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित छ । यहाँबाट जिल्लाकै व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र लमजुङको मध्यनेपाल नगरपालिकाका केही भाग देख्न सकिन्छ । पृथ्वीराजमार्ग अन्तर्गत कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ पर्यटकीय स्थल गलेखामकोट–कन्टारदेखि साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक रहेर पनि ओझेलमा परेको ठाउँ हो ।

    आधाजसो पक्की र आधाजसो कच्ची सडक हुँदै पुगिने यस ठाउँमा सडकको असुविधाका कारण पर्यटक कम पुग्ने गरेका छन् । कुनै बेला मगर राजाले समेत राज्य गरेको यस ठाउँ ओझेलमा परेपछि स्थानीयवासी यसको प्रवद्र्धनमा जुटिरहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

    यहाँबाट सदरमुकामको दमौली, शुक्लागण्डकी नगरपाकिालस्थित थप्रेक, व्यास नगरपालिकास्थित कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुइपिप्ले, कास्कीको फेवाताल, बेगनास ताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ ।

    गलेखामकोटमा नेवार समूदायको बाहुल्यता छ । गलेखामकोटमा भ्युटावर समेत बनेको छ । यहाँ विसं २०७६ सालमा रु १६ लाख ५० हजारको लागतमा भ्युटावर निर्माण गरिएको थियो । तीन तलाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्नेछ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, मनास्लु लगायतका हिमश्रृङ्खला देख्न सकिन्छ ।

    गलेखामकोट बाइसे चौबीसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दशैंका बेला विशेष पूजाआजा हुने गरेको छ । बडादशैंको नवमीको दिन मन्दिरमा पञ्चबली दिने प्रचलन रहेको स्थानीयवासी मनिता गुरुङले जानकारी दिनुभयो । मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रुपमा काम गर्दै आएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.