सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माघी पर्वको पहिलो दिन आज ‘जिता मर्ना’ मनाइँदै


  •    न्युजभित्तो/१ माघ २०८२, बुधबार १३:१७ 
  • कञ्चनपुर, ३० पुस । माघी पर्वको पहिलो दिन आज कञ्चनपुरका थारु समुदायले ‘जिता मर्ना’ का रूपमा मनाइरहेका छन् । परम्पराअनुसार थारु समुदायको महान् पर्व माघी पुस मसान्तका दिनदेखि सुरु हुन्छ ।

    ‘जिता मर्ना’ का दिन माघी पर्वका लागि आवश्यक मासुको व्यवस्थापन गरिने भएकाले आज बिहानैदेखि थारु बस्तीहरूमा विशेष चहलपहल देखिएको छ । प्रत्येक गाउँमा बरघर ९बघरीया० र भलमन्साको आँगनमा गाउँका सबै सदस्य भेला भई सामूहिक रूपमा सुँगुर काट्ने तथा आ–आफ्नो गच्छे र आवश्यकताअनुसार मासु खरिद गरेर लैजाने परम्परा छ । पछिल्ला वर्षहरूमा केही स्थानमा सुँगुरको सट्टा खसीको मासु प्रयोग गर्ने चलन पनि बढ्दै गएको छ ।

    शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा चार वटा टोलका लागि चार वटा सुँगुरको व्यवस्था गरिएको बरघर राजु चौधरीले जानकारी दिनुभयो । “एउटै सुँगुरले नपुग्ने भएकाले प्रत्येक टोलका लागि एक–एक वटा सुँगुरको व्यवस्था गरी माघी पर्वका लागि मासुको जोहो गरिएको छ”, उहाँले भन्नुभयो ।

    वर्ष दिनकै ठूलो पर्व भएकाले यस अवसरमा परिवार, आफन्त र पाहुनालाई पेटभर मासु खुवाउने परम्परा रहेको चौधरीको भनाइ छ । “पाहुना लाग्न आएका सबैलाई सम्मानपूर्वक मासु खुवाएर बिदा गरिन्छ”, उहाँले भन्नुभयो । 

    जिता मर्नाको रातिदेखि थारु समुदायमा ढुमरु गीत गाउने, डफ तथा मादल बजाउने र छोकरा तथा झुमरा नाच नाच्ने चलन रहँदै आएको बरघर चौधरीले जानकारी दिनुभयो । 

    पिपलाडीका ७० वर्षीय कल्लु चौधरीका अनुसार रातभर डफमा गीत गाएर युवापुस्तालाई थारु संस्कृति र परम्पराबारे जानकारी गराउने तयारी गरिएको छ । यसले संस्कृति जगेर्ना, पुस्तान्तरण तथा संस्कृतिको प्रचारप्रसार हुने भएकाले ज्येष्ठ नागरिक मिलेर ‘सम्धी समूह’ गठन गरिएको उहाँले बताउनुभयो ।

    यसै अवसरमा महिलाहरूले चामलको पिठोबाट विशेष तरिकाले ढिक्री बनाउने, तिलको लड्डु, मुरही, रोटी र खरिया तयार गर्दछन् । साथै सखरखण्डी, तरुल, भण्टा, केराको तरुवा, अण्डी धानको उसिनेको भात, खिचडीलगायत मौलिक परिकार पनि पकाइन्छन् ।

    थारु समुदायमा माघ महिना लागेपछि सुँगुरलगायत जनावरको बध गर्न नहुने धार्मिक तथा सांस्कृतिक मान्यता रहिआएको स्थानीय थारु बुद्धिजीवी धनबहादुर कुश्मीले बताउनुभयो । उहाँका अनुसार माघ लागेको दिन रगत देखिनु हुँदैन भन्ने जनविश्वास रहँदै आएकाले पुसको अन्तिम दिन मात्रै जनावरको बध गर्ने परम्पार चल्दै आएको छ । 

    “माघ लागेपछि जनावर बध गरिँदैन, तर माघअघि काटिएका सुँगुर वा अन्य जनावरको मासु माघी पर्वका अवसरमा परिवार, आफन्त र पाहुनासँग परम्परागत परिकारसहित खाने गरिन्छ”, उहाँले भन्नुभयो ।

    थारु समुदायले प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाउने माघी पर्व एउटा चाड मात्र नभई नयाँ वर्षको सुरुआत, सामाजिक एकता, आत्मसम्मान र पहिचानको प्रतीकका रूपमा रहेको छ । विशेषगरी कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका थारु समुदायमा माघी पर्वलाई अत्यन्त महत्वका साथ मनाइन्छ ।

    माघीलाई थारु समुदायले ‘नयाँ वर्ष’ का रूपमा लिने परम्परा रहँदै आएको छ । पुरानो वर्षका दुःख, पीडा बिर्संदै नयाँ आशा, नयाँ सङ्कल्प र नयाँ जीवनशैलीको सुरुआत गर्ने अवसरका रूपमा माघी पर्वलाई हेरिने गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.