सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय


  •    न्युजभित्तो/२९ पुष २०८२, मंगलवार १३:२१ 
  • जानकी (बाँके), २९ पुस । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकेँ,” बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्नुहुन्छ, “तर मेरा छोराहरुले अझै ऋण तिर्दैछन् ।”

    वीरेन्द्रको यो भनाइले वैदेशिक रोजगारी र स्वदेशमै गरिएको व्यावसायिक कृषि बीचको आर्थिक अन्तर स्पष्ट देखाउँछ । तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारले आज आधुनिक प्रणाली अपनाएर खेतीलाई आम्दानीको बलियो आधार बनाएको छ ।

    वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रुपमा टमाटरखेती गर्नुभएको छ । उहाँका अनुसार यसका लागि प्रारम्भिक लगानी करिब सात लाख रुपैयाँ पुगेको छ । “बीउ, मल, प्लास्टिक, सिँचाइ, मजदुरी र विषादीमा लगानी हुन्छ,” उहाँले भन्नुभयो, “तर बजार राम्रो भयो भने दुई–तीन महिनामै लगानी उठ्छ ।”

    मङ्सिरको पहिलो सातादेखि टमाटर टिप्न सुरु गर्नुभएका वीरेन्द्रले हालसम्म करिब एक सय क्विन्टल टमाटर बिक्री गरेर साढे छ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसक्नुभएको छ । “अझै हजार क्विन्टलभन्दा बढी टमाटर टिप्न बाँकी छ,” उहाँले भन्नुभयो, “सबै बिक्री भयो भने यो वर्ष मात्रै ६० देखि ७० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान छ ।”

    यस वर्ष टमाटरको बजार मूल्य प्रतिकेजी ७० रुपैयाँसम्म पुगेकाले किसानलाई ठूलो राहत पुगेको छ । “भाउ राम्रो हुँदा किसानको मेहनतको मूल्य पाइएको महसुस हुन्छ,” वीरेन्द्रले भन्नुभयो । उत्पादन लागत घटाउन आधुनिक मल्चिङ प्रविधि प्रयोग गरिएको छ । 

    वीरेन्द्रका अनुसार टमाटरखेती कुनै नयाँ पेसा होइन । “०३६ सालदेखि बुबाले टमाटरखेती गर्दै आउनुभएको थियो । बुबाले परम्परागत तरिकाले टमाटरखेती गरेर नै तीन पुस्ताको परिवार चलाउनुभयो,” उहाँले भन्नुभयो, “अब समय परम्परा खेती गर्ने समय रहेन । त्यसैले मेले यो खेती गर्न सुरु गरेदेखि नै आधुनिक प्रविधिबाट गर्दै आइरहेको छु ।”

    बुबाको उमेर ढल्किएपछि विगत तीन वर्षदेखि वीरेन्द्रले खेतीलाई पूर्ण रुपमा सम्हाल्दै आउनुभएको छ । “मैले आधुनिक प्रणाली अपनाएँ,” उहाँले भन्नुभयो, “त्यसपछि उत्पादन पनि बढ्यो, लागत घट्यो र आम्दानी उल्लेख्य भयो ।”

    गत वर्ष पनि वीरेन्द्रले पाँच लाख १० हजार रुपैयाँ ऋण लिएर टमाटरखेती गर्नुभएको थियो । “भदौमा लिएको ऋण दुई महिनामै तिरेँ,” उहाँले भन्नुभयो । टमाटरखेतीबाट भएको नाफाले उहाँले टमाटर ढुवानी र बिक्रीका लागि अटोसमेत खरिद गर्नुभएको छ । “पहिले भाडाको साधन खोज्नुपथ्र्यो, अहिले आफ्नै साधन छ । मैले टमाटर ओसारपसार गरेर बिक्रीका लागि एउटा अटो किनेको छु,” उहाँको भनाइ छ ।

    टमाटरखेतीले केवल परिवारको आम्दानी बढाएको छैन, स्थानीय रोजगारी पनि सिर्जना गरेको छ । “यो खेतीमा १० देखि २० जनासम्म मजदुर चाहिन्छ,” वीरेन्द्रले भन्नुभयो, “दैनिक ज्यालामा काम पाउँदा गाउँकै मानिसलाई फाइदा पुगेको छ ।” सरकारबाट प्राप्त अनुदान र प्राविधिक सहयोगले खेतीलाई थप सहज बनाएको उहाँको भनाइ छ । 

    “प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सम्बन्धित निकायले मेरो खेतीको निरीक्षण गरेको थियो,” उहाँले भन्नुभयो । मल्चिङ सामग्री र खेत जोत्नका लागि रोटाभेटर उपलब्ध भए लागत अझै घट्ने उहाँको बुझाइ छ । वीरेन्द्रले सरकारको अनुदान सही सदुपयोग गर्न सके किसान आत्मनिर्भर बन्न सक्ने बताउनुहुन्छ । “अनुदान दुरुपयोग होइन, उत्पादन बढाउनेतर्फ प्रयोग गर्नुपर्छ,” उहाँको सुझाव छ ।

    आफ्ना छोराहरु विदेश गएको सन्दर्भमा उहाँ भावुक हुँदै भन्नुहुन्छ, “नेपालमा केही गर्न सकिँदैन भनेर उनीहरु गए । तर किन सकिँदैन रु गरे आफ्नै नेपालमा, आफ्नै खेतबारीमा सुन फलाउन सकिन्छ ।”

    आगामी वर्ष वीरेन्द्रले टमाटरखेतीको क्षेत्रफल चार बिघाबाट बढाएर १० बिघा पु¥याउने लक्ष्य लिनुभएको छ । “दश बिघा खेती गर्दा दैनिक करिब २० जनालाई रोजगारी दिन सकिन्छ,” उहाँले भन्नुभयो । सुरुमा ऋण माग्दा नपत्याउनेहरुले हिजोआज आफूलाई ऋण दिन नहिच्किचाउने बताउनुभयो । विदेशी रोजगारसँग तुलना गर्दै उहाँ भन्नुहुन्छ, “विदेशमा चार लाख कमाउन एक वर्ष लाग्छ, तर टमाटरखेतीबाट मैले १० दिनमै पाँचदेखि छ लाख रुपैयाँ कमाएको छु ।”

    उहाँका अनुसार सरकारले आधुनिक खेती कार्यक्रम ल्याएपछि भारतबाट आयात हुने तरकारी घट्दै गएको छ । “टमाटरखेतीबाटै हाम्रो १०–१५ जनाको संयुक्त परिवार चलेको छ,” वीरेन्द्रले भन्नुभयो ।

    तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारको कथा आज बाँकेको मात्र होइन, देशभरका किसान र युवाका लागि आर्थिक आत्मनिर्भरताको प्रेरणादायी उदाहरण बनेको छ । मेहनत, योजना र सही लगानी भए खेतबारीमै भविष्य सुरक्षित गर्न सकिने सन्देश वीरेन्द्रको सफलताले दिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.