सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १३:०८ 
  • जानकी (बाँके), २७ पुस । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृथ्वीबहादुर चौधरीको । आजभन्दा करिब २५ वर्षअघि घर वरिपरि घुमिरहेका दुईचार परेवा देखेर चौधरीले तिनलाई आफ्नै घरमा बस्ने ठाउँको व्यवस्था गरिदिनुभयो । यसरी सुरु भएको उहाँको यात्रा आज परेवा बिक्री गरेकै कारण आत्मनिर्भर बनेको छ ।

    परेवाप्रतिको संवेदनाबाट जन्मिएको यो सम्बन्ध आज पृथ्वीबहादुरको जीवनको आधारशिला बनेको छ । यसले उहाँलाई गाउँमै एउटा आत्मनिर्भर कृषक उद्यमीका रूपमा स्थापित गरेको छ । सुरुमा परेवा पाल्ने उहाँको कुनै योजना थिएन । घर वरिपरि बस्न ठाउँ नपाएका परेवा देख्दा मानवीय संवेदनाले छोयो र आफ्नै घरछेउमा सानो बासस्थान बनाइदिएको पृथ्वीबहादुरको भनाइ छ । त्यसपछि ती परेवा आफैँ उहाँकै घरमा बस्न थाले र समयसँगै तिनको सङ्ख्या बढ्दै गयो । परेवाको सङ्ख्यासँगै पृथ्वीबहादुरको जिम्मेवारी, अनुभव र आत्मविश्वास पनि विस्तार हुँदै गयो । आज उहाँको घरमा परेवाको ठूलो बथान छ । जसले केवल घरआँगन भरेको छैन, परिवारको भविष्य पनि सुरक्षित बनाएको छ ।

    हिन्दू धर्मशास्त्रअनुसार जहाँ परेवाले बास गर्छन्, त्यस्तो घरमा शुभलक्षण रहने, सुख, शान्ति बस्ने र परिवारमा सकारात्मक ऊर्जा प्रवाहित हुने विश्वास गरिन्छ । विश्वभर परेवा शान्तिको दूतका रूपमा पनि चिनिन्छन् । यही सांस्कृतिक र धार्मिक मान्यताले पृथ्वी चौधरीको परेवाप्रतिको सम्मान र समर्पणलाई अझ गहिरो बनाएको उहाँको भनाइ छ । परेवाले केवल रोजगारीमात्र होइन, घरभित्र शान्ति र सन्तुलन पनि ल्याइदिएको छ । परेवाले उहाँको जीवनमा ल्याएको परिवर्तन भावनात्मकमात्र नभई आर्थिक रूपमा अत्यन्त महत्त्वपूर्ण पनि छ ।

    पृथ्वीबहादुरले जोडी परेवा रु पाँच सयदेखि रु आठ सयसम्ममा बिक्री गर्नुहुन्छ । विशेषगरी सङ्कटकालमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारहरू परेवा किन्न आएको उहाँले बताउनुभयो । उक्त समयमा एउटा याममै रु ४५ हजारदेखि रु ५० हजारसम्म आम्दानी भएको पनि बताउनुभयो । यही आम्दानीले पृथ्वीबहादुरको घरखर्च, छोराछोरीको पढाइ, स्वास्थ्योचार र दैनिकी सहज बनेको छ ।

    साउन र भदौमा चारोको अभाव हुँदा पृथ्वीबहादुर परेवाका लागि विशेष आहार आफैँ तयार गर्नुहुन्छ । “मसुरोको दानाजस्तै देखिने अकडाको चारो छतभरि छरेर त्यो दुई महिना परेवालाई खुवाउने गरेको छु”, उहाँले भन्नुभयो । उक्त दानाले परेवाको स्वास्थ्य राम्रो राख्नुका साथै उत्पादन पनि बढाएको पृथ्वीबहादुरको अनुभव छ । जाडो महिनामा परेवाको मासुले शरीर तताउने विश्वासका कारण पृथ्वीबहादुर धेरैजसो परेवा किन्न आउने गरेका बताउनुहुन्छ ।

    “मन्दिरमा पूजा वा भाकल गर्न, चाडपर्व मनाउन र विशेषगरी सुत्केरीका लागि परेवा किन्न आउनेको सङ्ख्या उल्लेख्य छ”, पृथ्वीबहादुरले भन्नुभयो । यसै कारणले पनि आम्दानीलाई स्थायित्व दिएको उहाँको भनाइ छ । उहाँले परेवा पालेदेखि नै त्यसको मल आफ्नै खेतबारीमा प्रयोग गर्दै आएको बताउनुभयो । परेवाको मलले बाली उत्पादनमा सकारात्मक प्रभाव पारेको छ । यसरी परेवा उहाँका लागि आम्दानीको स्रोतमात्र नभई खेतीपातीमा सहायक माध्यम पनि बनेको छ । सुरुमा बिक्री गर्ने कुनै सोच नराखेका पृथ्वीबहादुरले दुईपटक परेवा बेचेर हातमा पैसा आएपछि मात्र परेवापालनलाई व्यवस्थित रूपमा अगाडि बढाएको बताउनुभयो ।

    आज परेवाबाट भएको आम्दानीले पृथ्वी चौधरीको परिवार आर्थिक रूपमा सशक्त बनेको छ । उहाँका अनुसार छोराछोरीको पढाइ, घरको खर्च र भविष्यको योजना सबै यही परेवाले धानेको छ । “वर्षमा करिब दुई महिनामात्र घरको दाना खुवाउनुपर्छ, बाँकी समय परेवा बिहान उडेर नेपालगञ्जका ठूला उद्योग क्षेत्रमा दाना खान जान्छन् र बेलुका बथानका साथ आफ्नै घर फर्किन्छन्”, उहाँले भन्नुभयो ।

    पकृथ्वीबहादुरको जीवन परेवासँग गहिरोसँग गाँसिएको छ । “बाँचुन्जेल परेवाकै सेवा गर्छु, मेरो परिवार नै यिनीहरू हुन् । मैले जानेकै यही भयो, जीवन नै परेवाको समर्पणमा बित्यो । बिहान उडेर गएका परेवा बेलुका सबै फर्केर आउँछन् कि आउँदैनन् भनेर दिनभरि कुरी बस्ने उहाँ बताउनुहुन्छ । मन्दिरमा भाकल गरेका व्यक्तिले बाँके बाहेक अन्यत्र जिल्लामा लगेर उडाएका परेवासमेत आफ्नै घर सम्झेर फर्केर आउने गरेको पृथ्वीबहादुरले बताउनुभयो । कहिलेकाहीँ आफूले बेचिसकेको परेवा पनि घर फर्केर आइदिँदा मन कताकता भावुक हुने, अनौठो खुसी लाग्ने उहाँको भनाइ छ ।

    परेवाले बच्चा निकालेको १५ देखि २१ दिनभित्र त्यसलाई खान मिल्छ । बिहान चर्न गएका परेवालाई बाज र चिलले झम्टेर खाइदिन्छ कि भन्ने पिर सधैँ रहने उहाँले बताउनुभयो । परेवा र पृथ्वी चौधरीबीच गहिरो भावनात्मक सम्बन्ध छ । उहाँका छोराछोरी परेवासँगै हुर्किएका छन् । पृथ्वीले भन्नुभयो, “परेवाबिना यो घर सुनसान लाग्छ ।” परेवाले उहाँलाई आर्थिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि बलियो बनाएको छ । विपन्न अवस्थाबाट सुरु भएको जीवन आज सम्मानजनक, स्थिर र आत्मनिर्भर बनेको छ ।

    पृथ्वीबहादुर चौधरी आज परेवा पालनबाट मासिक रु २५ देखि रु ३० हजारसम्म नियमित आम्दानी गरिरहेको बताउनुहुन्छ । चाडपर्व, जाडो मौसम र धार्मिक सिजनमा भने आम्दानी अझ बढ्ने उहाँको अनुभव छ । “सिजनमा परेवा बेचेर रु ५० हजारदेखि रु ५५ हजारसम्म पनि कमाएको छु ।” उहाँले भन्नुभयो, “यही स्थिर आम्दानीले मेरो परिवारलाई सुरक्षित बनाएको छ र परेवाले नै मेरो जीवनको आधारस्तम्भका रूपमा मलाई स्थापित गरेको छ ।”

    कुनै समय खुला आकाशमा उड्दै बासको खोजीमा भौतारिएका दुई जोडी परेवाले आज पृथ्वीबहादुरको जीवनलाई आर्थिक रूपमा धेरैमाथि उठाएको छ । परिवारसँगको उहाँको भावना मोह र संवेदनाबाट सुरु भएको यात्राले आत्मनिर्भरको जगलाई निर्माण गरेको छ । परेवाले उहाँको जीवन बदलिदिएको छ र एउटा साधारण किसानलाई उद्यमीका रुपमा चिनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.