सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चन्द्रागिरिबाट सर्जकहरुले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १२:३१ 
  • काठमाडौँ, २७ पुस । आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपालभर विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरिन्छ ।

    यही दिवसका अवसरमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा पृथ्वीनारायण शाह तथा नेपालको राष्ट्रियतासम्बन्धी रचनाहरू प्रस्तुत गरेर उनलाई स्मरण गरे । सर्जकहरूले पृथ्वीनाराण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानको इतिहाससँगै जोडिएर आउने काठमाडौँको चन्द्रागिरि डाँडामा पुगेर त्यहाँस्थित पृथ्वीनारायणको सालिकसामु उनको योगदान तथा नेपालको राष्ट्रियतासम्बन्धी सृजना तथा रचनाहरू प्रस्तुत गरेर श्रद्धाभाव प्रकट गरे ।

    शनिबार थर्डपोल ग्रुपद्वारा चन्द्रागिरिस्थित पृथ्वीनारायण शाहको सालिक परिसरमा आयोजित कार्यक्रममा इतिहासकार प्रा डा दिनेशराज पन्तले पृथ्वीनारायण शाहले यही डाँडाबाट काठमाडौँ उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहित काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने योजना बनाएको इतिहास सुनाउनुभयो ।

    चन्द्रागिरि डाँडा नेपाल एकीकरणको अभियानसँगै जोडिएर आउने एक ऐतिहासिक स्थल रहेको बताउँदै उहाँले हामी सबैलाई नेपाल र नेपालीको पहिचान दिलाउने एक वीर योद्धा तथा राष्ट्र निर्माताका रूपमा पृथ्वीनारायण शाहको स्मरण गर्नुभयो ।

    वरिष्ठ कवि एवं गीतकार एसपी कोइराला ‘चिरेर हेर यो मेरो छाती’ शीर्षकको कवितामा लेख्नुहुन्छः

    चिरेर हेर यो मेरो छाती झण्डाले बनेको ।
    उठेर हेर अलिक माथि माटोले भनेको ।।

    उहाँले नेपालका पुर्खाले यो देशका लागि गरेको योगदानको स्मरण गर्दै वर्तमान पुस्ताले पनि भोलिका लागि केही गरेर नाम राख्नुपर्ने धारणा राख्नुभयो । नेपालीपन राष्ट्र र राष्ट्रियताका लागि अब केही गर्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

    अर्का वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारी आफ्नो कवितामा लेख्नुहुन्छः

    तराई हो अन्नबाली पहाड हो पानी ।
    अन्न पानीजस्तै मिली बाँच्नुपर्छ हामी ।।

    पृथ्वीनारायण शाहले नेपाली भूभागको एकीकरण गरी सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा बाँधेको प्रसङ्ग उहाँले कवितामा प्रस्तुत गर्नुभएको छ । आफ्नो देशप्रेमलाई उहाँ यसरी व्यक्त गर्नुहुन्छः

    सक्छौ त माया गर यो देशलाई ।
    सक्दैनौ बिन्ती गाली नगरिदेऊ ।।
    शिरमा छ देशको असङ्ख्य पीडा ।
    रिसले जीउमा काँडा नकोरिदेऊ ।।

    यसैगरी अर्का वरिष्ठ कवि डा राजुबाबु श्रेष्ठ आफ्नो कवितामार्फत पृथ्वीनारायण शाहको स्मरण गर्दै लेख्नुहुन्छः

    उसैले कोरेको हो खुकुरीले बैरीहरूको गर्धन छप्काएर
    यो देशको गाढा सीमा रेखा
    उसैले सिर्जेको हो
    टुक्राटुक्रा जोडेर
    एउटा सिङ्गो सार्वभौम यो देश
    उसैले बनाएको हो
    गुमनाम यो देशको सुकिलो पहिचान ।

    यो राष्ट्रको निर्माण पृथ्वीनारायण शाहले गरेको इतिहासको व्याख्या गर्दै कवि श्रेष्ठले तर उनैको सालिक ढाल्न उद्धत रहेकोप्रति दुःख पोख्नुहुन्छ ।

    ‘मानचित्रमा उभिएर’ शीर्षकको कवितामा कवि मणि लोहनीले हामी सबै नेपालीले पुज्ने मन्दिर, हामीले बुद्ध भेटेको गुम्बा, हामीले भाक्ने देउराली होस् या हामीले प्रार्थना गर्ने मस्जिद या चर्च एउटै भएको राष्ट्रिय एकताको भाव प्रस्तुत गर्नुहुन्छ । वर्तमान नेपाल पृथ्वीनारायण शाहले भनेकै चार जात छत्तीस वर्णको फूलबारीजस्तै रहेको उहाँको काव्य भाव थियो ।

    यस्तै राष्ट्रप्रेमका भावनाहरू कवि हेम प्रभासको ‘अब म पनि घर जान्छु’, नारायण निराशीको ‘आफ्नो सुरक्षा गर’ र एलिसा ढुङ्गानाको ‘रिसको विपक्षमा’ शीर्षकका कविताहरूमा पोखिएका छन् ।

    त्यसैगरी, प्रभाती किरणको ‘स्वाभिमान’, प्रधुम्न जोशीको ‘कस्तो होला भगवान्को घर’, कृष्ण बञ्जाडेको ‘मेरो अपूरो रहर’, दिनेश परियारको ‘बिषे नगर्चीको सम्झना’ र अनिता कोइरालाको ‘मानवताको मलामी बन्न सक्दिन’ शीर्षकका कवितामा पनि राष्ट्र र राष्ट्रियताको महत्वका साथै मुलुकको वर्तमान विषम परिस्थिति र राजनीतिक विसङ्गतिका बारेमा प्रशस्त मात्रामा उल्लेख गरिएको छ ।

    सर्जकहरूले चार किल्ला तोडेर सुनौला सपना देख्ने र सयौँ फूल जोडेर राष्ट्रिय एकताको माला उन्ने वीर पुरुषका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै नेपाललाई धर्तीकै स्वर्गको एक देशका रूपमा तुलना गर्नुभएको छ ।

    चन्द्रागिरि डाँडामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा बर्सेनि राष्ट्रिय एकता दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना हुने गर्दछ । कार्यक्रममा चन्द्रागिरि हिल्सका कम्पनी सचिव झलक शर्मा पौडेलले देशका विभिन्न स्थानमा सालिक ढालिरहेको अवस्थामा नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिक चन्द्रागिरि डाँडामा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको स्मरण गराउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.