सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोले उजाडिएको बिसौनाका नागरिकले पाए लालपुर्जा


  •    न्युजभित्तो/२५ पुष २०८२, शुक्रबार १५:०० 
  • गुल्मी, २५ पुस । पहिरोले पटक पटक जीवन र बस्ती लुटेको मुसिकोट नगरपालिका–१ बिसौनाका पीडित परिवारले डेढ दशकपछि बल्ल लालपूर्जा पाएका छन् । बिसौनाबाट विस्थापित १५ घरपरिवारले बस्ती स्थानान्तरणका लागि थामडाँडामा खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र पाएका हुन् ।

    बिसौनाको पहिरो इतिहास दर्दनाक छ । विसं २०६४ र २०८१ मा गएको पहिरोले एउटै बस्तीबाट १० जनाको ज्यान लिएको थियो । पहिरोले घर च्याप्दा चोकबहादुर विकका आमा रुन्नती विक, श्रीमती अमृता विक तथा छोरा कृष्ण र सुरजको अकालमै ज्यान गएको थियो । 

    पहिरोको त्रासबाट बच्न छिमेकीको घरमा ओत खोज्न आएका डल्ली विक र मुना विकले समेत पहिरोमै परेर ज्यान गुमाउनु प¥यो । “त्यो दिन म भारतमा थिएँ, यहाँ भएको भए सायद आज म पनि उनीहरुसँगै मर्ने रहेछु”, चोकबहादुर विक विगतको उक्त दर्दनाक घटना सम्झँदै भन्नुहुन्छ । 

      भारतबाट फर्किएपछि उहाँ बिसौना छाडेर थाममा बसाइँ सर्नुभयो । तर नियतिले फेरि पीडा थप्यो । विसं २०८१ साउन २२ गते बिसौनामै पुनः पहिरो जाँदा पहिलेको पहिरोमा बाँचेकै उहाँका आफन्त चार जनाले ज्यान गुमाउनुपरेको थियो । लगातारको जोखिमपछि बिसौनाका १५ परिवार गत वर्षदेखि गाउँ छाडेर थाममा अस्थायी रूपमा बसोबास गर्दै आएका थिए । 

    अहिले नगरपालिका र लाभग्राहीको ५०÷५० प्रतिशत लागत साझेदारीमा थामडाँडा नजिकै नौ रोपनी १५ आना जग्गा खरिद गरिएको छ । नगरपालिकाका प्रमुख जीवलाल खरेलले पीडितलाई सुरक्षित जमिनको मालिक बनाउन मात्र डेढ वर्ष लागेको बताउनुभयो । 

    “नजिकको स्थानीय सरकार भएकाले पीडामा आँसु पुच्छ्न आएका थियौँ, लामो समयको पखाइपछि भर्खर सुरक्षित ठाउँमा जग्गा पाएका छौँ, अब उहाँहरुको घर निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय र पहल भइरहेको  छ”, उहाँले भन्नुभयो । जग्गाको कित्ताअनुसार लाभग्राहीले रु एक लाखदेखि एक लाख ५० हजारसम्म बुझाएका छन् । 

    लाभग्राही र नगरपालिकाको संयुक्त लगानीमा करिब रु ३५ लाखमा जग्गा खरिद गरिएको नगर उपप्रमुख गङ्गा श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार विस्थापित परिवारका लागि नगरपालिकाले गत वर्षदेखि भाडाको व्यवस्था गर्दै आएको छ । 

    लालपुर्जा पाएसँगै पीडितलाई अब चाँडै घरको आवश्यकता छ । पहिरो पीडित फुलमती विकको पाँच जनाको परिवार अरूको घरमा बसेको डेढ वर्ष भयो । बास एकातिर, बारी अर्कोतिर हुँदा आफूहरुलाई धेरै समस्या परेको उहाँले गुनासो गर्नुभयो । जग्गाका लागि ऋण खोजेर पैसा बुझाए पनि अब घर कसले बनाइदेला भन्ने आशमा पीडित परिवार छन्  ।

    भिरालो र कच्ची जमिनका कारण पटक–पटक बसाइँ सर्नुपरेको बिसौनामा २० देखि २२ घर जोखिमा भए पनि हाल १५ घरका लागि मात्रै जग्गा व्यवस्थापन गरिएको वडाध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका अधिकांश दलित बस्ती भिरालो र जोखिमयुक्त भूभागमा रहेकाले पहिरोको खतरा अझै ठूलो रहेको स्थानीयको चिन्ता छ । 

    लालपुर्जासँगै सुरक्षित बास र स्थायी जीवनको आशा पलाए पनि, थामडाँडामा विस्थापितका लागि घर निर्माण र जीविकोपार्जन अझै चुनौतीकै विषय बनेको बताइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.