सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शतायु खड्गबहादुरको दीर्घायु कथा: न चासो, न गुनासो


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार १३:२२ 
  • गलेश्वर (म्याग्दी), २१ पुस । शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुहुन्छ । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाउनुभएका उहाँको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको छ ।

    विसं १९८३ मा जन्मिनुभएका थापाले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनका थुप्रै कालखण्ड अनुभव गर्नुभएको छ । राणा शासन, प्रजातन्त्र, पञ्चायती व्यवस्था हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा देशमा आएका परिवर्तन उहाँले नजिकबाट देख्नुभएको हो ।

    शतायु थापाको जीवन यात्रामा ८४ वर्षीया पत्नी खिरकुमारी थापाको साथ निरन्तर छ । पत्नी खिरकुमारीसँगै ७९ वर्षीया साली तुलकुमारी पनि उहाँसँगै हुनुहुन्छ । बिहान सबेरै उठ्ने, पूजा–पाठ गर्ने र सादा जीवन बिताउने उनीहरूको दिनचर्या दशकौँदेखि उस्तै छ ।

    सय वर्ष पार गर्नुभएका थापा बिहानै उठ्नुहुन्छ । पुसको जाडोमा बाहिर निस्केर घाम ताप्ने, घरआँगन वरिपरि हिँड्डुल गर्ने र हरिभजन गाउँदै दिन बिताउने गर्नुहुन्छ । श्रीमती खिरकुमारीसँगै जीवनका सुख–दुःख, अभाव र सङ्घर्षसँगै भोगेका यी दम्पती समाजका लागि प्रेरणाका पात्र बनेका छन् । खड्गबहादुर भन्नुहुन्छ, “सरकारले भत्ता दिएको छ, आफ्नै छोरानाति नभए पनि दाइभाइका छोरानातिले खबर लिने, आवश्यक परेको बेला साथ सहयोग दिने गरेका छन् । अरू कुरामा कुनै चासो पनि छैन र कसैप्रति कुनै गुनासो पनि छैन ।”

    खड्गबहादुर थापाको जीवन धार्मिक संस्कार र आस्थासँग गहिरो रूपमा गाँसिएको छ । बिहान उठ्नेबित्तिकै ईश्वर स्मरण गर्ने, मन शुद्ध राख्ने र अरूको कुभलो नचिताउने बानी उहाँको रहेको स्थानीय बताउँछन् । 

    हिन्दू धार्मिक मान्यताअनुसार दीर्घायु हुनु पूर्वजको आशीर्वाद, सत्कर्म र संयमित जीवनको प्रतिफल मानिन्छ । यही विश्वासमा हुर्किएको पुस्ताका प्रतिनिधि हुनुहुन्छ खड्गबहादुर थापा । उहाँ भन्नुहुन्छ, “धन, सम्पत्ति भन्दा पनि मन शान्त भयो भने रोग लाग्दैन ।” 

    अभावबीच बितेको सङ्घर्षपूर्ण जीवन

    थापाको जीवन सहज थिएन । बाल्यकाल र युवावस्थामा आजको जस्तो सुविधा थिएन । खेतबारीमा श्रम गर्नु, घाँस–दाउरा गर्नु, टाढाटाढाबाट पानी बोक्नु नै दैनिकी थियो । थापा भन्नुहुन्छ, “सकुन्जेलसम्म भारी बोक्ने, खेतबारीमा काम गर्ने गर्थे, शरीरलाई कहिल्यै पनि अल्छी हुन दिइनँ । शरीर बलियो थियो । दुःख त कति गरियो भनिसाध्य छैन ।”

    चिकित्सा विज्ञानका अनुसार प्राकृतिक र सन्तुलित आहारले मधुमेह, उच्च रक्तचाप र मुटुरोगको जोखिम कम गर्छ । थापाको जीवनशैलीले यही वैज्ञानिक तथ्य पुष्टि गरेको देखिन्छ । 

    दाम्पत्य समझदारी र पारिवारिक साथ

    चौरासी वर्षीया श्रीमती खिरकुमारी थापा जीवनभरको सहयात्री बनेर श्रीमान्का साथमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले ठूला सपना देखेनौँ, मन मिलाएर जीवन बितायौँ ।”

    समाजशास्त्रीहरूका अनुसार सुदृढ पारिवारिक सम्बन्ध र भावनात्मक साथले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, जसले दीर्घायुमा मद्दत गर्छ । थापा दम्पतीको जीवन यसैको उदाहरण हो ।

    थापाले आफ्नो दीर्घायुको प्रमुख कारण धार्मिक आस्था र अनुशासनलाई मान्नुहुन्छ । उहाँ हरेक दिन बिहान स्नानपछि पूजा–पाठ गर्ने गर्नुहुन्छ । “मन शान्त भयो भने शरीर आफैँ ठीक हुन्छ,” उहाँले भन्नुभयो ।

    चिकित्सकहरूका अनुसार शतायु पार गरेका धेरै व्यक्तिहरूमा समान जीवनशैली देखिन्छ । कम तनाव, नियमित हिँड्डुल, सन्तुलित आहार र सकारात्मक सोच दीर्घायुका मुख्य आधार मानिने चिकित्सकहरू बताउँछन् । ध्यान, प्रार्थना र सामाजिक सक्रियताले मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने अनुसन्धानले देखाएको छ । “धार्मिक अभ्यास र ध्यानले तनाव कम गराउँछ, जसले दीर्घकालीन स्वास्थ्यमा सहयोग पु¥याउँछ,” नविक आनन्द योग केन्द्रका योगगुरु नवीन जुग्जालीले बताउनुभयो । 

    युवावस्थामा खेतीपाती र मजदुरी गर्दै गुजारा चलाउनुभएका थापाले गरिबी र अभावका दिन पनि देख्नुभयो । “खान नपाएको दिन आयो, तर गलत बाटो कहिल्यै समातिनँ,” उहाँले भन्नुभयो, “दुःखलाई स्वाभाविक रूपमा स्वीकार गर्न सक्ने मानिस मानसिक रूपमा बलियो हुन्छ । धेरै चिन्ता गर्ने मान्छे छिट्टै थाक्छ ।” 

    नयाँ पुस्तालाई सन्देश

    शतायु थापाले नयाँ पुस्तालाई अनुशासित र संयमित जीवनशैली अपनाउन सुझाव दिनुभएको छ । “छिटो सबै चाहने बानीले शरीर र मन दुबै बिगार्छ,” उहाँले भन्नुभयो । मदिरा, धूम्रपान र असन्तुलित खानपानबाट टाढा रहन सके दीर्घायु सम्भव हुने उहाँको धारणा छ । आधुनिक जीवनशैली, असन्तुलित खानपान, मानसिक तनाव र रोगको चपेटाका कारण मानिस अल्पायुमै थला पर्दै क्रम बढ्दै गएको अवस्थामा शतायु वृद्ध थापा नयाँ पुस्तालाई अनुशासित र संयमित जीवनशैली अपनाउन सुझाव दिनुभएको छ । 

    स्थानीय बासिन्दाले खड्गबहादुर थापालाई ‘जीवित इतिहास’ का रूपमा सम्मान गर्छन् । स्थानीय समाजसेवी नारायण कार्की भन्नुहुन्छ, “इतिहास किताबमा मात्र होइन, यस्ता व्यक्तिमा पनि सुरक्षित हुन्छ ।”

    शतायु पार गरेका खड्गबहादुर थापाको जीवनले दीर्घायु केवल औषधि वा सुविधाले होइन, जीवनशैली, अनुशासन र मानसिक सन्तुलनले सम्भव हुन्छ भन्ने सन्देश दिएको छ । आधुनिक जीवनशैलीका कारण बढ्दो तनाव र रोगबीच उहाँको जीवन समाजका लागि प्रेरणाको स्रोत बनेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.