सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालको शय्याले धानेन प्रसूति सेवा


  •    न्युजभित्तो/१८ माघ २०७८, मंगलवार १४:०६ 
  • चितवन, १८ माघ । प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ । शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो ।

    चितवन र छिमेकी जिल्लाका महिलाको प्रसूतिको पहिलो चाहना भरतपुर अस्पताल हुने गर्दछ । गर्भवतीले परीक्षण निजीमा गर्दै आए पनि बच्चा जन्माउन भने भरतपुर अस्पताल आउने गर्दछन् । अन्यत्र काम गर्ने चिकित्सकले समेत प्रसूति सेवा लिन भरतपुर अस्पताल आएको पाइन्छ ।

    अस्पतालमा साउनयता पुस मसान्तसम्म सात हजार १९८ जना आमाले शिशु जन्माइसकेका छन् । गत वर्ष भरमा यो सङ्ख्या नौ हजार ७६६ थियो । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल दैनिक ४० देखि ४५ जनाले यहाँ बच्चा जन्माउने गरेको बताउनुहुन्छ । तीमध्ये ३० देखि ३३ प्रतिशतको शल्यक्रिया गरेर बच्चा झिक्ने गरिएको छ । गत वर्षभन्दा यो वर्ष सङ्ख्या निकै बढेको भन्दै उहाँले यस वर्ष १२ हजारभन्दा बढीले सेवा लिने देखिएको बताउनुभयो ।

    बच्चा जन्माइसकेका आमाहरु ठाउँ अभावमा भुइँमा बस्नुपर्ने बाध्यता रहेको छ । पोख्रेल भन्नुहुन्छ, “अहिले दैनिक १०÷१५ जना भुइँमा सुत्न बाध्य छन् ।” अस्पतालमा १५० शय्या प्रसूतिका लागि छुट्याइएको छ । शल्यक्रियापछि राख्ने पोष्टअपमा १२ शय्या प्रसूतिका लागि छ । यससँगै १६ वटा मेडिकल क्याबिन भएको पोख्रेल बताउनुहुन्छ । उहाँले थप्नुभयो, “बिरामीको चाप बढी भएका कारण सुत्केरी भइँमा सुत्न बाध्य रहेका छन् ।” चाहेर पनि शय्यामा राख्न नसकिएको उहाँको भनाइ छ ।

    शल्यक्रिया गरेकालाई भुइँमा राख्न नमिल्ने हुँदा सामान्य अवस्थामा सुत्केरी भएकाहरुलाई भुइँमा राखिन्छ । शल्यक्रिया गरेकाहरुलाई सात÷आठ दिनसम्म राख्नुपर्ने हुँदा शय्याको अभाव हुने गरेको हो । कोभिड प्रकोपसँगै पछिल्ला महिनाहरुमा १५ देखि २० जना सङ्क्रमितको प्रसूति यहाँ हुने गरेको छ । तीमध्ये ३० प्रतिशत हाराहारीलाई शल्यक्रिया गर्ने गरिन्छ ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्ण पौडेल प्रसूति गर्नेहरुको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको भन्दै सोचेजस्तो व्यवस्थापन गर्न अझै नसकिएको स्वीकार गर्नुहुन्छ । १६ जना विशेषज्ञ चिकित्सकसहित १२५ हाराहारीमा स्वास्थ्यकर्मी र कर्मचारी यो विभागमा कार्यरत छन् । डा पौडेलले भन्नुभयो, “अस्पतालमा छुट्टै प्रसूति गृह आवश्यक रहेको छ ।” अस्पतालले प्रसूति सेवामा राम्रो सेवा दिनका लागि आवश्यक गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । पौडेलले थप्नुभयो, “सङ्घीय अस्पताल भएकाले चितवनसहितका छिमेकी जिल्लाका महिलाहरुका लागि प्रसूति सेवाको केन्द्र बनेको छ ।” अस्पतालले छुट्टै प्रसूति गृह निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० को काम अघि बढाएको छ । सुरुमा सुविधासम्पन्न ५० शय्या र थप गर्दै लैजाने गरी प्रसूति गृह निर्माण गर्न लागिएको उहाँको भनाइ छ । सरकार र विकास समितिको संयुक्त लगानीमा भवन निर्माण गर्न लागिएको हो ।

    अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले निजी अस्पतालमा जाँदा सामान्य प्रसूतितर्फ ध्यान नै नदिएर शल्यक्रिया गर्ने गरेकाले भुइँमा नै सुत्नु परे पनि भरतपुर अस्पताल आउन रुचाउने गरेको बताउनुहुन्छ । उहाँको भनाइमा अस्पतालमा चिकित्सकसँगै लामो अनुभव भएका स्वास्थ्यकर्मी रहेकाले धेरैले सामान्य तरिकाले बच्चा जन्माउने गरेका छन् । उहाँले भन्नुभयो, “प्रसूतिमा हाम्रो अस्पतालमा जस्तो अनुभवी अन्यत्र कहीँ छैनन् ।” भरतपुर अस्पतालमा २४ घण्टामा ८५ जनासम्मले बच्चा जन्माएको तथ्याङ्क रहेको छ । यसमध्ये ४२ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो । यसैवर्ष पनि ७० जनासम्मको प्रसूति गराइएको अस्पतालले जनाएको छ । गतवर्ष कोभिडका कारण प्रसूति गराउनेको सङ्ख्या घटेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.