सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १०:१४ 
  • रत्ननगर, २० पुस। चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

    नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै चितवनसहित तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिराले जनजीवन कष्टकर बन्दै गएको छ । भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा प्रशन्न नापेले चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले सावधानी अपनाउन सुझाव दिनुभएको छ ।

    जाडो महिनामा विशेषगरी मानव छालामा पानीको मात्रामा कमी हुने, छाला सुक्खा हुनेहुँदा छालासम्बन्धी समस्या देखापर्ने गरेको डा नापेले बताउनुभयो । “छालामा हुने सुक्खापनका कारण सोरायसीस, इथायसीसजस्ता रोग तथा सङ्क्रमणका कारण लुतोजस्ता रोग बढी मात्रामा देखिने गरेको छ”, डा नापेले भन्नुभयो, “चिसोबाट हुने एलर्जीका कारण धेरैलाई हातका औँला, नाक तथा कानमा बढी समस्या देखिने गरेको छ ।” चिसोको कारण एलर्जी देखिनेलाई नापेले चिसोबाट जोगिन सुझाव दिनुभयो ।

    चिसोको एलर्जी हुने मान्छेले पञ्जा लगाएर काम गर्नुपर्ने डा नापेको सुझाव छ । छालामा सङ्क्रमण देखिएको अवस्थामा उपचार गर्नुपर्ने, आफैँले जथाभावी औषधि प्रयोग गर्नुभन्दा पनि छालारोग विशेषज्ञलाई देखाउनुपर्ने डा नापेको भनाइ छ । चिसोमा छालामा देखिने सोरायसी भन्ने रोग बल्झिन पनि सक्ने भएकाले चिकित्सकलाई देखाएरमात्रै औषधि सेवन गर्न डा नापेले सल्लाह दिनुभयो ।

    भरतपुर अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा शशि हिराचनले जाडोमा शरीरलाई चिल्लो पार्न भन्दै तोरीको तेल लगाउने प्रचलन भएको उल्लेख गर्दै तोरीको तेलभन्दा नरिवलको तेल प्रयोग गर्नु उपयुक्त हुने बताउनुभयो । जाडोका कारण मानिसको छालामा समेत टिबी रोग लाग्ने भन्दै वरिष्ठ छालारोग विशेषज्ञ डा हिराचनले टिबीका कारण मानिसको सबै अङ्गमा प्रभाव पर्न सक्ने बताउनुभयो । छालामा देखिने टिबी पुरानो खालको दादजस्तो देखिने भएकाले त्यसको बायोप्सी परीक्षण गर्नुपर्ने डा हिराचनले बताउनुभयो ।

    “छालामा देखिने पुरानो दादजस्तो रोग टिबी हुनसक्छ”, डा हिराचनले भन्नुभयो, “त्यो कस्तो प्रकारको रोग हो भनेर बायोप्सी गरेपछि मात्रै थाहा हुन्छ, जथाभावी औषधि सेवन गर्ने र लगाउने गर्दा त्यसले असर गर्नसक्छ ।” छालामा देखिएको दादजस्तो भागको वरिपरि बिबिरा आएर बढ्दै जाने अवस्थाको रोग छालाको टिबी हुनसक्ने डा हिराचनको भनाइ छ । “छालामा पुरानो खालको दादजस्तो छ भने त्यतिकै घर नबसौँ, छालाको टिबी पनि हुनसक्छ”, डा हिराचनले भन्नुभयो, “अस्पतालमा गएर छालारोग विशेषज्ञलाई देखाएपछि रोगबारे थाहा हुन्छ, उपचारपछि रोग निको पनि हुन्छ ।”

    चिसो मौसममा विभिन्न प्रकारका सरुवा तथा नसर्ने रोगको सङ्क्रमण देखिने गरेको छ । चिसोले गर्दा श्वासप्रश्वाससहित जण्डिस, एलर्जी, नाक बन्द हुनेसहितका दीर्घरोगीसमेत बढ्ने गरेका छन् । पछिल्लो समय विशेषगरी चिसोकै कारण रक्तचापका बिरामी बढेका भरतपुर अस्पतालका अध्यक्ष वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले बताउनुभयो ।

    कोभिडको त्रासका कारण धेरै मानिस घरभित्रै बस्ने, खानपान बढी हुने, नुनिलो र चिल्लो पदार्थ बढी सेवन गर्ने तथा व्यायामका लागि बाहिर ननिस्कने कारण उच्च रक्तचाप र मधुमेहका बिरामी बढ्दै गएका डा अधिकारीले बताउनुभयो । आफ्नो वातावरणलाई सुधार गर्दै तातो र झोलिलो पदार्थ सेवन बढाएमा चिसोका कारण हुने विभिन्न रोगबाट जोगिन सकिने अधिकारीले बताउनुभयो । अरू बेलाभन्दा शरीरको प्रतिरोध क्षमता जाडोमा कमजोर हुने र कम घाम लाग्ने भएकाले शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुने भएकाले विशेष ध्यान दिनुपर्ने अधिकारीको सुझाव छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.