सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भक्तपुरमा यमःद्यो ठड्याउँदै इन्द्रजात्रा आजदेखि सुरु


  •    न्युजभित्तो/२ आश्विन २०७८, शनिबार ०९:०२ 
  • भादगाउँ, २ असोज । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन भक्तपुर नगरका टोल टोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ । भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता (आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकिसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाइन्छ ।

    जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरका टोलटोलमा विधिवत् पूजाआजासहित नगरका इताछें, तेखापुखुः, मुलाखुः, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, चासुखेललगायतका स्थानमा यमःद्यो ठड्याइन्छ । दोस्रो दिनलाई शून्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन । जात्राको तेस्रो दिनअर्थात् इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीको खट जात्रा मनाइन्छ ।

    जात्रामा ईन्द्रायणी देवीलाई शृङ्गारपटार गरी विधिवत् पूजा गरेर परम्परागत बाजागाजाका साथ दाफा, भजन गाएर, स्थानीय महिला हाकुपटासीमा सजिएर सुकुना बालेर, बालबालिका र वृद्धहरु ढुप दीप बालेर सिद्धपोखरीले परिचित इन्द्रदहको दक्षिण दिशाको बिचमा ल्याई विराजमान गराइन्छ । जात्राको क्रममा राती पालाको दीप बालेर दहलाई सजाइन्छ । यस दिन राति दहमा मेला लाग्छ । मध्यराति तान्त्रिक पूजा गरी इन्द्रायणीलाई भोग बलि चढाउने परम्परा छ ।

    जात्राको चौथौ दिन यन्या पुन्ही ९भाद्र शुक्ल पूणर्िमा०का अवसरमा धार्मिक तीर्थस्थलका रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्रदहमा बिहानै स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्ने भक्तजन ठूलो घुइँलो लाग्ने गर्छ । देवराज इन्द्रले स्नान गरेको दह हुनाले यस दिन इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आराधना गरेमा पुण्यप्राप्ति हुनाका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास छ । यस दिन इन्द्रायणी देवीको मात्र नभएर दह छेउछाउमा रहेका लिच्छविकालीन र मल्लकालीन शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति तथा वासुकी नागको समेत पूजा गरिन्छ । दहको पूर्वदिशामा रहेको शिवलिङ्गमा जल चढाइ पिउने परम्परा छ । राति इन्द्रायणी देवीलाई परम्परागत बाजागाजाका साथ पुनः जात्रा गरी खौमास्थित देवगृहमा ल्याई विधिवत् पूजा गरी आशनमा विराजमान गराइन्छ । जात्राको पाँचौँ दिनलाई पनि शून्य मानिन्छ ।

    जात्राको छैटाँै दिनदेखि तीन दिनसम्म लगातार याँमता र मुपात्र जात्रा मनाइन्छ । पहिलो दिन सकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिरमा एक जोडी याँमता ९त्रिशूल आकारको माथि फर्किएका तीन वटा टुप्पामा बालिने बत्ती० बालिन्छ । लगत्तै तचपालको सँला गणेशलाई विधिवत् पूजा गरी खटमा राखिन्छ । गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा मनाइन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।

    जात्रामा मुपात्र प्रमुख र धिःचा नामक उनका अन्य दुई जना सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ लगाई शृङ्गारपटारका साथ तरबार समात्न लगाई सहर परिक्रमा गराउने प्रचलन छ । सहर परिक्रमा गर्दा टोल टोलमा ठड्याएको यमःद्योलाई मुपात्रले तीन पटक घुमेर तरबारले हान्ने गरिन्छ ।

    जात्राको सातौँ दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय साँझ छुमा गणेशकहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता चोछेंमा पुगेपछि छुमा गणेश त्यसको पछाडि गई जात्रा गर्छ । लगत्तै भक्तपुरको दरबार स्क्वायरबाट मुपात्र निकालेर जात्रा गरिन्छ ।

    जात्राको अन्तिम दिन तल्लो टोलको मानन्धर समुदायले एक जोडी याँमता लाने परम्परा छ । यस दिन याँमतासँगै तमारी९तौमढी०को भैरवको खट जात्रा र पुलुकिसी जात्रा गरिन्छ । सुरुमा तल्लो टोल तेखाचो र तापालाछींका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा गई सुकना बालेर आउँछन् । त्यसपछि बुलाचास्थित ढुङ्गेधारामा एकजोडी याँमता बालेर जान्छ । त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । खट जात्रामा नायखिङ ९खड्गी समुदायको विशेष०बाजा बजाएर भैरवनाथको रथलाई परिक्रमा गराइन्छ । परिक्रमा गर्नुपूर्व गुठी संस्थानबाट भैरवलाई विधिवत्रुपमा बली पूजा गरिन्छ ।

    भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । जात्रा सुरु गर्नु अगाडि तमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा सुरु गरिन्छ । जात्रामा पुलुकिसीलाई चार मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

    देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीका रुपमा लिइने पुलुकिसीलाई नगर परिक्रमा गराउँदा दोबाटो चौबाटोमा धान खुवाउने, टौमढी र दरबार स्क्वायरको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी ९इनार०मा पानी खुवाउने प्रचलन रहेको छ । जात्राको क्रममा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउ“दा सुँढले छुन्छकी भनी मानिस परपर भाग्ने गर्दछन् । देवीपुराण ग्रन्थअनुसार पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरिएको हो ।

    जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा सुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ ।

    इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणको सङ्कलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको संस्कृतिकर्मी बताउँछन् । लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो पर्‍यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यको बगैँचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यसँग लगाइ गरे । लडाइँमा इन्द्रको जित भयो । दैत्यहरुले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी माग्छन् । सो क्रममा दैत्यलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।

    देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गर्‍यो । त्यसपछि जयन्तलाई दुई हात पछाडि बाँधेर राख्यो । पछि जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुसियालीमा इन्द्रजात्रा मनाउँदै आएको किवंन्दती रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताउनुभयो ।

    भक्तपुरमा इन्द्रजात्रा देशमा सुख, शान्ति, समृद्धि कायम होस्, कुनै पनि प्राकृतिक विपति आइनलागोस्, देशमा अनिकाल, महामारी, अतिवृष्टि नहोस, काल र शत्रु नाश होस् भन्ने उद्देश्यले मनाउँदै आएको प्रा डा श्रेष्ठले बताउनुभयो । साथै यस जात्राले मुला चोर पनि चोर घोडा चोर पनि चोर नै हो भन्ने मुख्य सन्देश दिएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.