सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १४:४४ 
  • काठमाडौँ, १० भदौ । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ ।

    मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो । गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । आयोजनास्थलमै पुग्न सकिने अवस्था नभएकाले यकिन क्षति हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हेडवर्क १०÷१५ मिटरसम्म पुरिएको अवस्थामा रहेकाले क्षति यति नै भयो भन्न सकिने अवस्था छैन ।” चैतमा काठमाडौँमा पानी ल्याउने लक्ष्य लिइएकामा थोरै तलमाथि भए पनि धेरै नहुने समितिले जनाएको छ । हेडवर्कमा कति क्षति भएको छ त्यसका आधारमा कति समय लाग्ने भन्ने हुन्छ ।

    अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । ‘हेडवर्क’ नजिकै नदीको सतहमा गिट्टी, बालुवा थुप्रिएको र त्यो सफा गर्न चुनौती रहेको छ । त्यहाँ हटाउँदा आएका सामग्री कता लैजाने भनी अन्योल रहेको सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “साँघुरो ठाउँमा एकैपटक धेरै उपकरण लैजान नसक्ने अवस्था छ, त्यसले समय लाग्नसक्ने देखिएको छ ।”

    हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो । त्यसपछि साउनमा पुनः आएको बाढीले यहाँ रहेका संरचनामा थप क्षति पुगेको समितिले जनाएको छ । पछिल्लो बाढीले गर्दा यहाँ रहेका सडक बगाएको छ भने अरु संरचनामा कति क्षति पुग्यो भन्ने थाहा नभएको सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो बाढीपछि नै परामर्शदाता कम्पनीले त्यहाँ पुगेको क्षति र मर्मतका बारेमा अध्ययन गरिरहेको छ ।”

    बाढीका कारण सबैभन्दा बढी असर अम्बाथानसम्म पुग्ने सडक र ‘हेडवर्क’ मा पुगेको अनुमान गरिएको छ । अहिले सडक रहेकै स्थानमा पुनःनिर्माण गर्ने कि नयाँ रेखाङ्कनमा गर्ने भनी छलफल भइरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । सडक र पुलको विज्ञ जनशक्ति सडक विभागसँग भएकाले ऊसँगको सहकार्यमा यसमा निर्णय लिइने सूचना अधिकारी पन्तले बताउनुभयो । अहिले भएको सडकको विकल्पमा अर्को ठाउँबाट वैकल्पिक सडक खुलाउने काम दीर्घकालीनरूपमा गरिनुपर्ने भए पनि तत्कालका लागि भइरहेको सडकमा स्तरोन्नति अघि बढाइएको उहाँले बताउनुभयो । अहिले डोजरमात्रै लैजान सकिने बाटो बनाउने प्रयास भइरहेको छ । “यहाँका सडकको स्तरोन्नति र मोड फराकिलो बनाइरहेको छ”, उहाँले भन्नुभयो, “हेलम्बु गाउँपालिकाले सडक खुलाउने काम गरिरहेको छ ।”

    सडकमा कति क्षति पुग्यो र मर्मतका लागि कति समय लाग्छ भनी विस्तृतरूपमा मूल्याङ्कन गरिनेछ । सडक पहिलेको रेखाङ्कनभन्दा माथिबाट लैजाँदा सुरक्षित हुनसक्ने उहाँले बताउनुभयो । “भविष्यमा पुग्न सक्ने क्षतिको आकलन गरेर पुलहरू नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा पहिले भएको क्षतिभन्दा पुनःनिर्माणका लागि लागत बढी लाग्ने देखिएको छ ।”

    आयोजनाले हालसम्म रु दुई अर्ब क्षति भएको अनुमान गरिएको छ । मर्मत र पुनःनिर्माण गर्दा त्यो रकम बढ्नसक्ने सूचना अधिकारी पन्तले बताउनुभयो । हेडवर्कमा भएको क्षति त्यहाँ रहेको लेदो सफा गरेर नहेरेसम्म थाहा नहुने उहाँको भनाइ छ । निर्माणस्थलमा रहेका संरचना पुनःनिर्माणमा समय र लागत दुबै बढी लाग्ने देखिएको छ । साउन महिनाको बाढीले सडकमा थप क्षति पुगेपछि आयोजनास्थलमा रहेका संरचनामा भने पहिलो बाढीले गराएको क्षति जति हो त्योभन्दा बढी भएको नपाइएको सूचना अधिकारी पन्तले बताउनुभयो ।

    आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुवै किसिमका मर्मतको योजना बनाइएको छ । दीर्घकालीन मर्मत सुरु गर्नु पहिले आयोजनास्थलभन्दा माथिल्लो भागमा पहिराको समाधान गरिनुपर्छ भन्ने छलफल भइरहेको छ । सम्बन्धित निकायले त्यसमा विस्तृत अध्ययन गर्नुपर्नेमा उहाँको जोड छ । अध्ययन सकिएर निष्कर्षका आधारमा अरु पूूर्वाधारको डिजाइन गर्ने, पुनरावलोकन गर्ने, स्थानान्तरण वा नयाँ बनाउने के गर्न सकिन्छ भनी निर्णय लिइने भएको छ । उहाँले भन्नुभयो, “माथिल्लो भागमा पहिराको रोकथाम नियन्त्रणका लागि एकीकृत कार्यक्रम बनाएर जानुपर्छ ।”

    अल्पकालीनरूपमा आयोजनाबाट पानी ल्याउनका लागि वैकल्पिक पथान्तरण सफा गर्ने, अम्बाथान अडिट सफा गर्ने योजना बनाइएको छ । हालका लागि सानो एउटा वैकल्पिक ड्याम बनाएर पानी ल्याउन लागिएको छ । अल्पकालीन कार्ययोजनामा चुनौती भनेको नदीको स्तर पुरानै स्तरमा बनाउनु रहेको छ । उहाँले भन्नुभयो, “त्यसमा अलि बढी समय लाग्नसक्छ ।” गत असारसम्म चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडवर्क’ मा निर्माण गरिरहेको थियो । ठेक्का सम्झौताका आधारमा कम्पनीले गर्ने दायित्व पूरा गर्नुपर्ने छ । अरु संरचनामा क्षति पुगे पनि मुख्य सुरुङमा क्षति नभएको अनुमान छ । अम्बाथान अडिट, डाइभर्सन टनेललगायतका संरचना टालिएको मात्र हो क्षति छैन भन्ने प्रारम्भिक अनुमान छ ।

    क्षतिको मूल्याङ्कन गरेर अहिले निर्माणको काम गरिरहेको कम्पनीलाई नै काममा लगाइने सूचना अधिकारी पन्तले बताउनुभयो । अल्पकालीन कार्ययोजनामा व्यवसायीले गर्नुपर्ने काम धेरै छैन । उहाँले भन्नुभयो, “सडक खुलाउन र आयोजनास्थलका संरचनाको लेदो हटाउन सेना र सडक विभागले नै गर्नुपर्छ, व्यवसायीले त्यसपछि थप काम गर्नुपर्छ ।” हेडवर्कमा माथिसम्म टालिएकामा दीर्घकालीनरूपमा सफा गरेर हेरेपछि के–के क्षति भएको हो त्यसको मर्मत र सुधारको काम सिनो हाइड्रोले गर्नेछ । ट्र्याक खोलेर वैकल्पिकरूपमा हेडवर्क पुग्न काम अघि बढाइएको छ । एक÷डेढ महिनामा हेडवर्क पुग्न सकिने सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “हेडवर्क पुगेपछि नै टालिएका संरचना सफा गर्न सुरु हुनेछ ।”

    अहिले तत्काल सडकको ‘एलाइमेन्ट’ परिवर्तन गर्न नसकिने भए पनि दीर्घकालीनरूपमा परिवर्तन गरेर निर्माण गर्नुपर्ने देखिएको छ । दीर्घकालीनरूपमा सडकका लागि पुनः डिजाइन गर्नुपर्ने समितिले जनाएको छ । झण्डै दुई दशक पहिले निर्माण सुरु भएको आयोजना गत फागुनमा सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी आउन थालेको थियो । आयोजनाको मुख्य संरचनाका रूपमा रहेको सुरुङको निर्माण सकिएपछि अस्थायी बाँधबाट पानी ल्याउन थालिएको थियो । आयोजनाको ‘हेडवर्क’ निर्माणको अन्तिम काम भइरहँदा आएको बाढीले धेरै क्षति पु¥याएको छ । राष्ट्रिय गौरवको सो आयोजना काठमाडौँ उपत्यकामा रहको खानेपानीको समस्या समाधानको दीर्घकालीन उपायका रूपमा रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.