सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालबाट मध्याह्न १२ नबज्दै बाहिरिन्छन् चिकित्सक र कर्मचारी


  •    न्युजभित्तो/१ भाद्र २०७८, मंगलवार १५:५५ 
  • चितवन, १ भदौ । भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काउनुभयो ।
    बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको टेलिफोन नउठाएपछि ती चिकित्सकलाई प्रजिअ लामिछानेले आफैँ टेलिफोन गरेर सोमबार पुनः काममा फर्काउनुभएको हो । अस्पतालमा स्थायी मेडिकल सुपरिटेन्डेन्ट नहुँदा निमित्तलाई चिकित्सक र स्वास्थ्यकर्मीले टेर्दैनन् । यसका कारण अस्पतालको कामका समयमा भागेर निजीमा जाने प्रचलन बढ्दो छ ।
    बिरामीले हैरानी व्यहोरेपछि गुनासो गर्दै घर फर्किनु वा निजीमा जानुको विकल्प छैन । भरतपुर अस्पतालका अधिकांश चिकित्सक स्वास्थ्यकर्मीको लगानीका वा काम गर्ने निजी अस्पताल छन् । चिकित्सक स्वास्थ्यकर्मीले बिहान १० देखि अपराह्न ३ बजेसम्म काम गर्नुपर्छ । यसका अतिरिक्त बोलाएका बेलामा समेत आउनुपर्ने हुन्छ । अस्पतालका चिकित्सकहरु भने बिहान १० बजेपछि आउने र बीचमै विभिन्न बहानमा हिड्ने गरेको सेवाग्राहीको गुनासो छ । गत दुई वर्षयता अस्पतालमा ६ मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भइसकेका छन् । २०७७ साल भदौ २८ गते डा श्रीराम तिवारी सरुवा भएपछि डा राजन पाण्डे आउनुभयो । उहाँको तीन महिनाको बसाइपछि डा जगन्नाथ तिवारीले निमित्तको जिम्मेवारी पाउनुभयो । सोही वर्षको फागुन ५ गते आउनुभएका डा वासुदेव पाण्डेको अधिकांश समय काठमाडौँमै बित्यो । उहाँ दु्ई महिनामै सेवानिवृत्त हुनुभयो ।
    पुनः डा जगन्नाथ तिवारीले निमित्तको जिम्मेवारी पाउनुभयो । यसै वर्षको जेठ १३ गते प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा रोशन न्यौपाने हुनुभयो । यद्यपि सधैँजसो काठमाडौँ बस्ने भएकाले निमित्तको जिम्मेवारी डा तिवारीले नै सम्हाल्दै आउनुभएको छ । अस्पताल विकास समितिको अध्यक्षमा डा भोजराज अधिकारी नियुक्त भएपछि ६ मेडिकल सुपरिटेन्डेन्ट बनिसकेका छन् । दुई वर्षका अवधिमा मेसु परिवर्तन हुँदा अस्पताल प्रभावित बनेको अध्यक्ष डा अधिकारी बताउनुहुन्छ । विकास समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने मेसु नै परिवर्तन भइरहँदा काम गर्न कठिन भएको उहाँकोे गुनासो छ । अस्पतालमा रहेका चिकित्सक स्वास्थ्यकर्मीले तोकिएको निर्धारित समयभित्र काम गर्नुपर्ने जनाउँदै उहाँले सेवा प्रदायक र सेवाग्राही दुवैको हित हुने गरी विकास समितिले काम गरिरहेको बताउनुहुन्छ । चिकित्सक स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सेवासुविधा दिन समिति तयार रहेको जनाउँदै उहाँले तोकिएको समयमा भने काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोही पनि बिरामी उपचार नपाएर फर्किनु हुँदैन ।
    ” केही वर्षअघि तत्कालीन प्रजिअ विनोदप्रकाश सिंहले अस्पतालमा छड्के निरीक्षण गरेर निर्धारित समयमा काम गर्नेहरुलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनुभएको थियो । यसैबेला अस्तव्यस्त बनेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि सुधार गरिएको थियो । सेवाग्राहीहरुले अस्तव्यस्त बनेको अस्पताललाई सुधारका लागि स्थानीय प्रशासनले ध्यान दिनुपर्ने जनाउँदै आएका छन् । प्रजिअ प्रेमलाल लामिछाने सरकारले तोकेअनुसारको सेवा दिनुपर्ने बताउनुहुन्छ । गुनासो आएमा आफूले तत्काल सम्बोधन गर्ने गरेको उहाँको भनाइ छ । अस्पतालमा विभिन्न विभाग भए पनि ती विभागले काम नगरेको गुनासो छ । विकास समिति र निजामती कर्मचारीबीचमा द्वन्द्व, वरिष्ठ चिकित्सकहरुको विकास समितिमा अधिकृतको मात्रै दरबन्दी, विशेषज्ञ चिकित्सकले बिरामी नहेर्ने गरेको, स्वास्थ्यकर्मीहरुको राजनीतिक खिचातानी र लडाइँ लगायतका कारण अस्पताल अस्तव्यस्त बनेको त्यही कार्यरत कर्मचारीहरु बताउँछन् । भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालले चितवनसहित १९ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा आएका बिरामीलाई निजीमा रिफर गर्ने समस्याका कारण सेवाग्राही प्रभावित हुने गरेका छन् ।
    निमित्त मेडिकल सुपरिटेन्डन्ट डा तिवारी स्थायी मेसु नहुँदा पनि समस्या हुने गरेको बताउनुहुन्छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल सङ्घीय अस्पताल भएकाले अस्पताललाई आवश्यक स्रोतसाधन व्यवस्था सङ्घीय सरकारले गर्नुपर्ने बताउनुहुन्छ । राजनीतिक खिचातानीका कारण मेसु मन्त्रीसँगै परिवर्तन हुँदा अस्पताल प्रभावित बनेको भन्दै उहाँले कम्तीमा दुई वर्ष काम गर्ने गरी मेसु पठाउन सकेमा अस्पतालले गति लिने बताउनुभयो । काठमाडौँपछिको ठूलो र धेरै बिरामीलाई सेवा दिनुपर्ने यस अस्पताललाई राम्रो बनाउन महानगर सधैँ लागिपरेको भन्दै उहाँले सेवाग्राहीको गुनासो नरहने गरी काम गर्न चिकित्सक स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.