सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरमा ठूला आयोजनाका काम धमाधम


  •    न्युजभित्तो/१ भाद्र २०७८, मंगलवार ०९:५५ 
  • चितवन, १ भदौ । भरतपुर महानगरपालिकामा ठूला आयोजनाका काम धमाधम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको बजेटमा अधिकांश आयोजनाको कामले गति लिएको हो । केही आयोजनाको काम भने प्रगति सोचेअनुरुप हुनसकेको छैन ।

    महानगरपालिका प्रमुख रेनु दाहालले परियोजना पार्ने, बजेट ल्याउने र काम लगाउने काममा महानगर लागिपरेको बताउनुभयो । आयोजना हेर्दै गरेका सरकारी कार्यालय र ठेकेदार कम्पनीसँग समन्वय गरेर देखिएका बाधा, अवरोध फुकाउँदै समयमा काम सम्पन्न गर्न महानगरपालिकाले भूमिका खेलेको उहाँको भनाइ छ ।

    प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखसँग आवश्यक समन्वय गरेर निर्माण सामग्री व्यवस्थापनदेखि आइपर्ने सबै खालका समस्याको समाधान गरिँदै आएको दाहाल बताउनुहुन्छ । जसका कारण कतिपय आयोजनाका काम निषेधाज्ञामा समेत भएको उहाँको भनाइ छ ।

    भरतपुर महानगरपालिका–१० मा सिटीहल निर्माण भइरहेको छ । सघन सहरी विकास डिभिजन कार्यालय चितवनले सो आयोजना हेरिरहेको छ । कार्यालयका प्रमुख प्रकाश अर्यालका अनुसार रु ८७ करोड ८८ लाखमा सम्पन्न गर्ने गरी आयोजनाको काम भइरहेको छ । हालसम्म १५ प्रतिशत काम सम्पन्न भइसकेको छ । महानगरकै पुल्चोकबाट गोन्द्र्राङसम्मको छ लेन सडकको काम भइरहेको छ । डिभिजन सडक कार्यालय चितवनले सो सडक स्तरोन्नति गरिरहेको हो । सो सडक रु एक अर्ब १२ करोडमा स्तरोन्नति भइरहेको हो । यसले महानगरको सौन्दर्यतासमेत बढाउने छ ।

    महानगर हुँदै जाने हुलाकी सडक विस्तार पनि भइरहेको छ । डिभिजन सडक कार्यालय चितवनका इञ्जीनियर विजय दराईका अनुसार हुलाकी सडक स्तरोन्नतिका लागि रु ४० करोडको काम भइरहेको छ । यस्तै सोही कार्यालयले भरतपुर–मेघौली गोलाघाट वैकल्पिक राजमार्गको काम गरिरहेको छ । गत वर्ष रु तीन करोड खर्च भएको सो सडकमा यस वर्ष रु चार करोडको काम हुँदैछ ।

    महानगरपालिकाभित्र सार्वजनिक–निजी साझेदारी अवधारणाबमोजिम नारायणगढको लायन्सचोकमा भरतपुर मेट्रो प्लाजा निर्माण गरिँदै छ । भरतपुर महानगरपालिकाले सो परियोजनाका लागि ११ कठ्ठा ७।७ धुर जग्गा निजी क्षेत्रलाई उपलब्ध गराएको छ । तीस वर्षपछि महानगरलाई स्वामित्व हस्तान्तरण गर्ने गरी प्लाजा बनाउन लागिएको हो । दुई बेसमेन्ट पार्किङसहित १४ तलाको बहुउद्देश्यीय भवन बन्ने छ । जसमा पाँचतारे होटललगायत व्यावसायिक फार्म हुनेछन् । यस परियोजनाबाट महानगरले ३० वर्षमा रु ८१ करोड राजश्वसमेत प्राप्त गर्नेछ । महानगर प्रमुख दाहालले यो महानगरको महत्वपूर्ण परियोजना बन्ने बताउनुभयो ।

    महानगरकै वडा नं १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम भइरहेको छ । जसमा झण्डै रु तीन अर्ब लगानी हुने अनुमान छ । धर्मुस–सुन्तली फाउण्डेशनले सो परियोजनाको नेतृत्व गरिरहेको छ । महानगरपालिकाका वरिष्ठ इञ्जीनियर भरत आचार्यका अनुसार नारायणगढ नजिकै नारायणी सिबीच मोडलमा काम अघि बढाइएको छ । सो क्षेत्रको विकासका लागि रु २९ करोड खर्च हुने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न काम अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

    महानगरपालिकाभित्र ८८।६१ किलोमिटर चक्रपथ निर्माणको काम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको लगानीमा काम अघि बढेको हो । काम सम्पन्न गर्न रु आठ अर्ब खर्च लाग्ने सडक विभागले विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । भरतपुर महानगरपालिकाको वडा नं २१ पार्वतीपुरमा आठ बिघा जमिनमा औद्योगिक ग्राम निर्माण गरिँदै छ । जसका लागि रु एक अर्ब १० करोड खर्च हुने विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । रु एक करोड लागतमा कम्पाउण्डको काम भइरहेको छ ।

    महानगरपालिकाकै वडा नं ३ नगरवनको सानु मझुवामा अटोल्याण्ड बनाइँदै छ । रु एक अर्ब ३५ करोड खर्च लाग्ने अनुमान छ । यसको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको छ । सार्वजनिक–निजी साझेदारीअन्तर्गत यो काम गरिँदै छ । महानगरलाई स्मार्ट सिटी बनाउनका लागि विस्तृत अध्ययन प्रतिवेदनको मस्यौदा प्रतिवेदन बुझाइएको छ । महानगरीय यातायात गुरुयोजनाका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न प्रस्ताव आह्वान गरिएको छ ।

    महानगरले दिएको जानकारीअनुसार महानगरको शारदानगर, दिव्यनगर, पार्वतीपुर, मेघौली र जखडीमाईमा रु दुई अर्ब ४१ करोडका खानेपानी आयोजना निर्माण भइरहेका छन् । महानगरले पाँच किलोमिटर सतह ढल, ५१० किलोमिटर कालोपत्र निर्माण गरिसकेको छ भने ५० किलोमिटर मर्मत गरेको छ । वडा नं २८ मा आपत्कालीन आवास निर्माण गरिसकेको छ । यसैगरी भरतपुर–१२ मा रु सात करोडमा राइनो पार्क, वडा नं २५ मा रु ७९ करोडमा देवीस्थान पार्क, वडा नं १४ मा रु सात करोडमा म्युजिम र फनपार्क, वडा नं १६ मा रु चार करोडमा चिडियाखाना, वडा नं १३ मा रु ३।५ करोडमा भ्यूटावर र पार्क, वडा नं १५ मा रु तीन करोडमा स्मृतिपार्क निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिसकेको छ ।

    वडा नं १९ र २३ मा खुला व्यायामशाला निर्माण गर्दैछ । नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा ९० किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का सम्झौता भइसकेको छ । जसका लागि रु १८ करोडको ठेक्का आह्वान गरिएको थियो । महानगरले १५ शय्याको कोभिड अस्पताल निर्माण गरेको छ भने फोहरमैला व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ ।

    महानगरभित्रै ‘एक सहर, एक पहिचान’अन्तर्गत भरतपुर अस्पतालभित्र बिरामी कुरुवाघर निर्माण गरिएको छ । देवघाटमा शव दाहस्थल बन्दैछ भने रानीपोखरी, केन्द्रीय बसपार्क मर्मतसम्भारलगायतमा सघन सहरी विकास डिभिजन कार्यालयले रु २५ करोडको काम गरिरहेको छ । भरतपुरको वाइपास सडकसमेत निर्माण भइरहेको छ । भरतपुर महानगरभित्रको महत्वपूर्ण परियोजना भरतपुर विमानस्थलको विस्तारको काम अघि बढेको छ । सबै आयोजनाका काम अघि बढिरहेको भन्दै दाहालले काम सम्पन्न हुँदै गर्दा महानगरको मुहार फेरिने बताउनुभयो ।

    समग्र महानगरको ट्रिटमेन्ट प्लान्टसहितको ढल निकासका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । सहरका मुख्य सडक र राजमार्गमा रहेका बिजुली तथा टेलिफोनका तार भूमिगत प्रणालीमा व्यवस्थापन गर्ने कामको बोलपत्र आह्वानको प्रक्रियामा पुगेको छ । राप्ती र नारायणी नदीको कटान तथा डुबानलाई रोक्न तटबन्धका लागि रु छ अर्ब हाराहारीको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी सङ्घीय सरकारसँग बजेट माग गरिएको छ । यस आयोजना पनि छिट्टै सुरू गर्ने लक्ष्य रहेको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो ।

    उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको समन्वयका कारण ठूला परियोजना कोभिडको समयमा पनि रोकिन नपरेको बताउनुभयो । सबैको साथ र सहयोग रहेमा निर्माण भइरहेका र हुने चरणमा रहेका आयोजना समयमै सम्पन्न हुने बताउनुभयो । महानगरसँगै सङ्घीय र प्रदेशका सांसद, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र महानगरवासीको सहयोगका कारण यहाँ ठूला परियोजना सफल भएको र काम अघि बढेको ठकुरीको भनाइ छ । देशकै मध्य र महत्वपूर्ण भाग भएकाले महानगरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.