सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्माणाधीन ट्याङ्कीको जग भासिएपछि खानेपानी आयोजना अलपत्र


  •    न्युजभित्तो/२८ श्रावण २०७८, बिहीबार १२:५० 
  • खोटाङ, २८ साउन । वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका दिक्तेलवासीको दुःख अझै टरेको छैन । पानी खोज्दै घण्टौं धाउनुपर्ने बाध्यता उस्तै छ ।

    समग्र दिक्तेल क्षेत्रलाई खानेपानी पुयाउन दुई वर्षअघि बृहत् खानेपानी आयोजना सुरु गरिएको थियो । तर, आयोजना पूरा हुनुको साटो निर्माणाधीन ट्याङ्कीको जग नै भासिएपछि अलपत्र पर्ने जोखिम बढेको छ । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण निर्माणाधीन ट्याङ्कीको जग भासिएको स्थानीयवासी बताउँछन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलगायत आसपासका क्षेत्रमा विस्तार गर्न लागिएको शहरी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माणाधीन ट्याङ्की सञ्चालनमा नआउँदै जग भासिएको हो ।

    नेपाल सरकारको ७० र उपभोक्ता समितिको ३० प्रतिशत गरी रु २२ करोड ५५ लाख ५८ हजार लगानीमा शुरु गरिएको खानेपानी आयोजना अन्तर्गत सोल्मास्थित तीनबोटेमा निर्माण गरिएको प्रशोधन केन्द्र ९ ट्रिटमेन्ट प्लान्ट० सहितको ट्याङ्की सञ्चालनमा नआउँदै पूर्वी उत्तरपट्टीको जग भासिएको छ । ठेकेदार कम्पनीले ट्याङ्की निर्माण गर्न जग सम्याउँदा फालेका माटोमाथि प्रशोधन ट्याङ्की निर्माण गरेकाले जग भासिएको सोल्माका स्थानीयवासी एवं जनता समाजवादी पार्टी नेपाल खोटाङका युवा नेता धनीराम नछुङले बताउनुभयो । “खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको चरम लापरवाही देखिएको छ ।”

    उहाँले भन्नुभयो, “ठेकेदारको लापरवाहीकै कारण निर्माणाधीन ट्याङ्कीको पूर्वी उत्तरपट्टीपर्ने जगको पर्खाल भत्किएपछि ट्याङ्कीसमेत बग्ने सम्भावना देखिएको छ ।” जग भासिएपछि ट्रिटमेन्ट प्लान्ट ट्याङ्कीभन्दा अझ पूर्वी उत्तरपट्टी निर्माण गरिएको आवासगृह उच्च जोखिममा परेको छ । ट्रिटमेन्ट प्लान्ट ट्याङ्कीको जग भासिएर करिब ५० मिटर फराकिलो ठाउँ ओगटेर पहिरो झरेपछि खानेपानी आयोजनाको प्राविधिक तथा सुरक्षाकर्मी बस्न निर्माण गरिएको आवासगृह उच्च जोखिममा परेको हो ।

    सोल्मास्थित तीनबोटेमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्ट ट्याङ्की तथा प्राविधिक आवासगृहमुनिको पर्खाल वर्षाको कारण भत्किएको भन्ने जानकारी आएको र उक्त पर्खाल तत्काल पुनःनिर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “पर्खाल भत्किएको विषयमा ठेकेदार कम्पनीसँग कुरो भइसकेको छ”, उहाँले भन्नुभयो, “कुराकानीको क्रममा भोलिबाटै ठेकेदार कम्पनीले उक्त पर्खाल पुनःनिर्माण गर्ने बताएको छ । यदि नबनाएको खण्डमा नगरपालिकाको तर्फबाट कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।”

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको माथिल्लो भेगमा मुहान रहेको रम्बाखोला–माझखोलाको पानी तानेर वितरण गर्ने लक्ष्य राखिएको खानेपानी आयोजनाको प्रशोधन केन्द्रकै ट्याङ्की जोखिममा परेपछि ठेकेदार कम्पनीको चर्को आलोचना शुरु भएको छ । दिक्तेल, सोल्मा र बाम्राङका एक हजार ४९ घर स्थानीयवासीलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यकासाथ शहरी खानेपानी आयोजनाको काम शुरु गरिएको हो ।

    लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका दिक्तेल बजारबासीका लागि लक्षित गरेर प्रशोधनसहितको स्वच्छ पानी वितरण गर्नेगरी खानेपानी आयोजनाको काम शुरु भएपछि स्थानीय बासिन्दा हर्षित बनेका थिए । नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारमा हिउँद÷वर्षा बाह्रैमहिना खानेपानीको समस्या देखिएपछि दीघकालीन रुपमा उक्त समस्या समाधान गर्न उक्त खानेपानी आयोजनाको काम शुरु गरिएको हो ।

    सम्झौता गरेको अठार महिनाभित्र पूरा गर्ने लक्ष्यकासाथ गत विसं २०७६ चैत–१४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गर्नुभएको उक्त खानेपानी आयोजनाको काम अहिलेसम्म सम्पन्न भएको छैन । मुहान विवाद र विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण तोकिएको समयमा खानेपानी आयोजनाको काम सम्पन्न नभएको केठेदार कम्पनीले जनाएको छ ।

    आशिष निर्माण सेवा कम्पनीमार्फत पिइए–बिएन निर्माण कम्पनी जेभीले निर्माणको काम जिम्मा लिएको खानेपानी आयोजनामा ट्याङ्की निर्माण, पाइपलाइन विस्तारलगायत भौतिक पूर्वाधार निर्माणको सम्पूर्ण काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो । “वर्षादका कारण केही ठाउँमा समस्या देखिएका छन्”, उहाँले भन्नुभयो, “समस्या देखिएका ठाउँमा ठेकेदार कम्पनीलाई पुनः निर्माणको काम गराएर आगामी दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।”

    जिल्लाकै नमूना खानेपानी आयोजनाबाट दिक्तेल बजारको विभिन्न २० ठाउँमा फायरिङ गेटसमेत जडान गरिएको छ । जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घर भएको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शहरी खानेपानी आयोजनाको संयुक्त लगानीमा १०० मिटरको फरकमा २० वटा फायरिङ गेट जडान गरिएको हो ।

    दिक्तेल बजारमा विस्तार गरिएको पुरानो खानेपानी आयोजनाको धारामा कहिले पानी नै नआउने, आइहाले पनि फोहर तथा दूषित पानी आउनेलगायत विभिन्न प्रकारका समस्या वर्षौदेखि रहेको उपभोक्ताको गुनासो छ । यति मात्र नभइ उपभोक्ता समितिका केही पदाधिकारीले आफ्ना नजिकका व्यक्तिको घरमा तीन÷चारवटासम्म धारा जडान गरेको र उनीहरुका धारामा चौबिसैघण्टा पानी आउने बनाएकाले आफूहरुलाई थप समस्या भएको उपभोक्ताले आरोप लगाउँदै आएका छन् ।

    जिल्लाको सदरमुकामसमेत रहेको दिक्तेल बजारमा सञ्चालित पुरानो खानेपानी आयोजनाबाट करिब ८०० वटा धारा वितरण गरिएको छ । पुरानो खानेपानी आयोजनाको धारामा पानी नआएपछि दिक्तेल बजारबासी आसपासको गाउँमा पुगेर धारा तथा कुवाको बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.