सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे


  •    न्युजभित्तो/२६ श्रावण २०७८, मंगलवार १२:५७ 
  • कञ्चनपुर, २६ साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटेका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या घट्दै गएको हो ।

    आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार ९३५ पर्यटकले निकुञ्ज घुमफिर गरेका छन् । निकुञ्ज घुमफिर गर्नेमा अधिकांश आन्तरिक पर्यटक छन् । थोरै मात्रै विदेशी पर्यटक निकुञ्ज घुम्नका लागि पुगेका छन् । कोरोना सङ्क्रमणको डरले थोरै मात्रै पर्यटक निकुञ्ज घुम्नका लागि पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी रवीन चौधरीले बताउनुभयो ।

    आव २०७६÷७७ मा एक हजार ७७५ पर्यटकले निकुञ्ज घुमफिर गरेका थिए । “आव २०७६÷७७ को तुलनामा आव २०७७÷७८ मा पर्यटक बढेका छन्”, अधिकृत चौधरीले भन्नुभयो, “विगत वर्षको तुलनामा त्यो सङ्ख्या आधाले कम छ ।” कोरोना महामारीका कारण निकुञ्ज घुमफिरका लागि आउने पर्यटक घटेको उहाँले बताउनुभयो ।

    आव २०७५÷७६ मा निकुञ्जमा छ हजार ६९ पर्यटकले निकुञ्ज घुमफिर गरेका थिए । आव २०७४÷७५ मा चार हजार ७४०, आव २०७३÷७४ मा दुई हजार ६४० पर्यटकले निकुञ्ज घुमेका थिए । आव २०७७÷७८ मा मा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु आठ लाख ६२ हजार ९२४ रकम सङ्कलन भएको छ । पर्यापर्यटन, दण्ड जरिवानालगायत अन्य गरी सोही अवधिमा निकुञ्जले रु तीन करोड ९९ हजार २७२ राजश्व सङ्कलन गरेको छ ।

    आव २०७६÷७७ मा पर्यापर्यटनबाट रु आठ लाख दुई हजार ६८७ रकम सङ्कलन भएको थियो । पर्यापर्यटनसहित अन्य गरी रु एक करोड ३४ हजार ७८५ राजश्व निकुञ्ज कार्यालयले सङ्कलन गरेको थियो । घुमफिरका लागि आउने पर्यटकलाई तोकिएको शुल्क लिई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न लगाई निकुञ्जमा प्रवेश दिइने गरिएको छ । निकुञ्जमा घुमफिरका लागि जीप र हात्ती सफारीको व्यवस्थासमेत गरिएको छ ।

    निकुञ्ज घुमफिर गर्न आउने नेपाली नागरिकलाई ५६ रुपैयाँ ५० पैसा, सार्क मुलुकभित्रका नागरिकलाई रु ५६५, विदेशी नागरिकलाई रु एक हजार १३० प्रवेश दस्तुर निर्धारण गरिएको छ । दश वर्षमुनिका बालबालिकालाई भने निकुञ्ज घुमफिर गर्दा दस्तुर नलाग्ने व्यवस्था गरिएको छ । निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसेमैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, निलगाई, चितुवा, चित्तल, लगुना, बँदेल, खरायो र विभिन्न प्रजातिका चरा पर्ने गरेका छन् ।

    घाँसेमैदान व्यवस्थापन, मचानको व्यवस्था, वनपथ निर्माण, पुलपुलेसा मर्मतकार्य गरी पर्यटकको आवागमनलाई निकुञ्जमा सहज बनाइएको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङ्गेको सबैभन्दा ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघको घनत्व र दुर्लभ पशुपक्षी तथा वनस्पतिका लागि प्रसिद्ध छ । नेपालको तराईका संरक्षित क्षेत्रहरुमा रहेको घाँसेमैदानमध्ये शुक्लाफाँटा घाँसेमैदान सबैभन्दा ठूलो छ ।

    क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ । निकुञ्जले पर्यटकको सुविधाका लागि हात्ती, गाडी सफारीसँगै ठाउँठाउँमा जीवजन्तु र प्रकृतिको मनोरम दृश्य नियाल्नका लागि मचानको व्यवस्थासमेत गरेको छ । निकुञ्ज घुमफिरका लागि पुग्ने पर्यटकले छुटाउनै नहुने क्षेत्रका रूपमा शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, हिरापुरफाँटा क्षेत्र, झोलुङ्गे पुल र कालिकिच ताल रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.