सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्युत् अनियमित हुँदा स्थानीयवासी समस्यामा


  •    न्युजभित्तो/२१ श्रावण २०७८, बिहीबार १४:२१ 
  • बागलुङ, २१ साउन । पश्चिम गलकोट क्षेत्रमा बुधबार ११ घण्टाको अवधिमा ११ पटक नै विद्युत् आपूर्ति राकियो । बिहान ७ः१५ बजेदेखि शुरु भएको विद्युत् अनियमित हुने क्रम साँझ ५ः३८ सम्म जारी रह्यो । एक पटकमा दुई मिनेटदेखि एक घण्टा आठ मिनेटसम्म आपूर्ति बन्द भयो ।

    गलकोट नगरपालिका–४ का उपभोक्ता चुँडामणी शर्माका अनुसार यस्तो समस्या एक दिनको मात्रै भने होइन । गलकोट र आसपासका भेगमा विद्युत् आपूर्ति अनियमित हुने समस्या वर्षौँ पुरानो हो । उपभोक्ताले विद्युत् आपूर्ति बन्द हुनेबारे पूर्वसूचनासमेत पाउँदैनन् ।

    कहिलेकाहिँ त बिनाजानकारी एक÷दुई दिनसम्मै बिजुली आउँदैन । त्यस्तो बेला अँध्यारोमै रात काट्नुपर्ने बाध्यता सर्वसाधारणमा छ । विद्यालय सञ्चालकसमेत रहनुभएका शर्माले विद्युत् अनियमित हुँदा कोरोना महामारीका बेला चलिरहेका अनलाइन कक्षासमेत प्रभावित भइरहेको बताउनुभयो । “लोडसेडिङमाझैँ दिनमै कैँयौपटक बिजुली जान्छ, यो समस्या अन्त्यको लागि सम्बन्धित निकायको बेलैमा ध्यान जाओस्”, उहाँले भन्नुभयो । विद्युत् अनियमितताको मार घरको भान्सादेखि उद्योग, व्यवसायसम्म पर्ने गरेको छ ।

    सार्वजनिक सेवा प्रवाहमासमेत यसको असर छ । विद्युत् आपूर्ति रोकिँदा सरकारी कार्यालयका कतिपय कामकाज ठप्प हुन्छन् । लामो समय बिजुली जाँदा एफएम रेडियोसमेत बन्द गर्नुपर्ने अवस्था रहेको सामुदायिक रेडियो गलकोट एफएमका स्टेशन प्रमुख घनश्याम गौतमले बताउनुभयो । “ब्याट्रीले निश्चित समय थेग्छ, ब्याकअप सकियो भने रेडियो बन्द हुन्छ”, उहाँले भन्नुभयो । घण्टौँसम्म बिजुली नआउँदा रेडियो बन्द भएको नमिठो अनुभव गौतमले सुनाउनुभयो । रेडियो नै बन्द हुँदा सर्वसाधारणले सूचना पाउने अधिकार पनि बेलाबेला कुण्ठित हुने गरेको छ ।

    केन्द्रीय प्रसारण लाइन पुगेको दशकबढी भएपनि गलकोट भेगमा विद्युत् आपूर्ति अनियमित हुने समस्या अझै ज्यूँकात्यू छ । गलकोट नगरपालिका–५ हरिचौरमा सब–स्टेशन बनेर सञ्चालनमा आएपनि उक्त समस्या हटेको छैन । गलकोट–३ हटियास्थित नेपाल विद्युत् प्राधिकरणको ‘नो लाइट’ कार्यालयका प्राविधिक नरेन्द्र पुनले प्राविधिक त्रुटीका कारण विद्य्त अनियमित हुने गरेको बताउनुभयो । प्रसारण लाइनको दूरी लामो भएकाले पनि प्राविधिक समस्या आइरहने उहाँको भनाइ छ ।

    “वर्षायाममा बढी समस्या हुन्छ, कहिले पहिराले पोलमा क्षति गर्छ, कहिले रुख ढलेर प्रसारण लाइनमा पर्छ”, उहाँले भन्नुभयो । हरिचौरमा सब–स्टेशन बनेपछि पहिलेको तुलनामा समस्या केही कम भएको पुनले बताउनुभयो । विद्युत् विस्तार, मर्मत आदि काम प्रायः सार्वजनिक बिदाका दिनमा हुने गरेको र त्यसबारे पहिले नै उपभोक्तालाई सूचित गर्ने गरिएको उहाँको भनाइ छ । पछिल्लो समय गलकोट र बुर्तिबाङ फिडरका लागि एउटै ब्रेकर प्रयोग गर्नु परेकाले पनि आपूर्ति राकिने समस्या बढी देखिएको कार्यालयले जनाएको छ ।

    जनशक्ति र स्रोत साधनको अभावमा ‘नो लाइट’ कार्यालयले पनि छरितो र चुस्त सेवा दिन सकेको छैन । कार्यालयको कार्यक्षेत्र गलकोटसहित ताराखोला गाउँपालिकालाई पनि तोकिएको छ । पुनसहित कार्यालयमा रहेका दुई जना प्राविधिकलाई मर्मतका लागि ‘फिल्ड’ जानै भ्याइनभ्याइ हुन्छ । गाडीको व्यवस्था हुन सके ‘फिल्ड’को काम अझ छिटो र प्रभावकारी हुने प्राविधिक बताउँछन् । प्राविधिक त्रुटीलाई देखाउँदै कार्यालयका कर्मचारी उम्कने गरेपनि उपभोक्ता भने विद्युत् आउने÷जाने समस्याबाट हैरान छन् । गलकोटको बिजुलीको केही भर नभएको भन्दै उनीहरु चर्को गुनासो गर्छन् ।

    विद्युत् सेवालाई नियमित गराउन पटकपटक नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रको ध्यानाकर्षण गराइएपनि कुनै सुनुवाई हुन सकेको छैन । गलकोटमा ३३ र ११ केभिए प्रसारण लाइनबाट विद्युत् वितरण भइरहेको छ । केन्द्रले आउँदो वर्षसम्ममा जिल्लाभर राष्ट्रिय प्रसारणको विद्युत् विस्तार गरिसक्ने लक्ष्य लिएको छ । निसीखोला र तमानखोला गाउँपालिकाबाहेक यहाँका सबै स्थानीय तहमा केन्द्रीय बिजुली पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.