सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी पीडित भन्छन् “बाढीले ढुङ्गा बगाउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन ।”


  •    न्युजभित्तो/१९ श्रावण २०७८, मंगलवार १४:३७ 
  • –देवराज सुवेदी
    सिन्धुपाल्चोक, १९ साउन । असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एकसय घर र टहरा बगाएको छ । यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो । लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची,दोलालघाटसम्म जोखिम बढाएको छ ।
    खोला भन्दामाथि हेलम्बु चुरेटारमा बसोबास गर्दै आउनुभएकी सुप्रभा गिरीले भन्नुभयो, “खेत त सबै लग्यो, घर पनि जोखिममा छ बाढीले ढुङ्गा बगाएर ल्याउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन।” उहाँले जतिसक्दो चाँडो भे्रमाथानको पहिरो अनुगमन गरी पीडितलाई उचित ठाउँमा व्यवस्थापन गर्न माग गर्नुभयो ।
    लगातारको बाढीले सोमबारराति मेलम्ची बजारका सात घर बगाएको छ भने बजारका धेरै घर जोखिममा छन् । त्यस्तै हेलम्बु र मेलम्चीको सिमानामा रहेको ग्याता गुम्बा, हेलम्बु किउलका धनपति भण्डारीलगायतको घर र टहरा , तालामाराङ तेर्से स्कूल छेउका दुई घर र नेपानेका केही घर पनि बगाएको छ भने अन्य धरै घर जोखिममा छन् ।

    यसैगरी एघार पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ घर र पुरानो बजारको एक घर बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा धैरै घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । क्षतिको अन्य विवरण आउने क्रममा रहेको उहाँको भनाइ थियो ।

    प्रहरी उपरीक्षक अधिकारीका अनुसार चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, नेपाने, तालामाराङ, मेलम्ची र बाहुनेपाटीका अधिकांश तटीय क्षेत्रमा रहेका घर, विद्यालय, सामुदायिक भवन, खेत, बाटो र बिजुलीका पोल जोखिममा छन् । बाढीले मेलम्ची–१२ मा रहेकामध्ये पहाडी लोकमार्ग तथा मेलम्ची, ईन्द्रावती, चौतारा र पाँच पोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल पनि जोखिममा परेको छ ।

    मेलम्ची, चनौटे, तालामाराङका बस्ती जोगाउन लागेको स्थानीयवासीको प्रयास सबै असफल भएको छ । हिँउदमा त्यही घरमा गएर बस्ने पीडितहरूको सपना अधुरै भएको छ । “नदीको धार परिवर्तन भएपछि त्यही घरमा बस्ने सोचले निरन्तर खोला छेक्नका लागि हामीले पहल गरिरहेका थियौं तर आज घर खोलामै मिल्यो”, पीडित हरिशरण श्रेष्ठको गुनासो थियो ।

    अहिले पनि मेलम्ची नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मेलम्ची बजार जोगाउन लागि परेका छन् । अहिलेसम्मका तटबन्ध सबै खोलाले बगाएको छ । हेलम्बु गाउँपालिकाको चनौटे बजारबाटै अहिले खोला बगिरहेको स्थानीय हस्त पण्डितले जानकारी दिनुभयो ।

    तत्काल सुरक्षित स्थानको खोजीमा पीडित लागिपरेका छन् । सडक सञ्जाल र विद्युत्बाट वञ्चित पीडितको अवस्था निकै कष्टकर छ । एकजना बिरामी भए पनि उपचारका लागि अस्पताल पु¥याउन हेलिकप्टरभन्दा अरु विकल्प नभएको र खाद्य सङ्कट हुनसक्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

    उहाँले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । पक्की पुल सबै खोलाले लगिसक्यो बाँकी झोलुङ्गे पुल पनि केही ठाउँमा मात्र छन् । पैदल हिँड्ने बाटोसमेत नपाएका पीडितले निकै कष्ट भोग्नुपरेको छ । असार १ गते राति बाढी आएपछि सबैभन्दा धेरै क्षतिभएका पीडितले अहिलेसम्म राहत र उद्धारका काम नगरिएकाले सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

    बाढी आएपछि सांसद, मन्त्री, उपप्रधानमन्त्रीका साथै तत्कालीन प्रधानमन्त्री केपी वलीसमेतले स्थलगत निरीक्षण गर्नुभयो । सरकारका तर्फबाट आफूहरूका लागि रु पाँच लाख वितरण गर्ने घोषणा गरेको सरकारले त्यो रकम कहिले पाउने अहिलेसम्म अत्तोपत्तोे छैन । बाढी आएको ५० दिन भइसक्दा पनि सरकारबाट पहल नहुँदा आफूहरू झनै पीडित भएको उनीहरूको गुनासो थियो ।

    प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बाढी आएको मुहान क्षेत्र भ्रेमाथानको अध्ययन नगरी तल्लो भेगमा कुनै पनि काम थाल्ने अवस्था नभएको बताउनुभयो ।तारजाली राखेर बस्ती जोगाउने प्रयास गरिए पनि हिमाली क्षेत्रलाई व्यवस्थित नगरी तटीय क्षेत्रमा गरेको कामको प्रभावकारीता नहुने उहाँको भनाइ थियो ।
    विभिन्न सङ्घ संस्थाको पहलमा सुरक्षित मानिएको स्थानमा निमार्णाधीन अस्थायी आवास अनिश्चित देखिएको छ । सडक सञ्जाल र पुल–पुलेसा ध्वस्त भएकाले सामान ओेसार पसार गर्ने वैकल्पिक बाटो छैन । घर निमार्णमा आवश्यक ट्रस, जस्तापाता, सिमेन्ट, अन्य आवश्यक सामग्री नहुँदा खल्तीमा पैसा बोकेर पनि अहिलेसम्म चुहिने पालमुनि बस्न बाध्य छन् पीडितहरू ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.