सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

याक बिक्री नहुँदा आर्थिक सङ्कट खेप्दै याङ्मावासी


  •    न्युजभित्तो/१० श्रावण २०७८, आईतवार १०:२१ 
  • फुङ्लिङ, १० साउन । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ ।

    फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु शेर्पा परिवारको दिन याकगोठमा बित्छ । उहाँको पुख्र्यौली पेशा नै हो याकपालन । शेर्पासँग ६० वटा डी (याकको माउ) छन् । उहाँले याक गोठमै ६५ वर्ष बिताइसक्नुभएको छ । याङ्मागाउँमा ११ घरपरिवारको बसोबास छ । सबैको मुख्य पुख्र्यौली पेशा याकपालन हो ।

    यहाँका याक चीनको विभिन्न क्षेत्रमा निर्यात हुँदै आएको छ तर कोभिडका कारणले दुई वर्षयता याक चीनमा निर्यात हुनसकेको छैन । चीनको नाका दुई वर्षदेखि बन्द भएपछि यहाँका बासिन्दाले याक बिक्री गरेर आम्दानी लिनसकेका छैनन् । याक चीन निर्यात नहँुदा याङ्मा बस्तीका समुदायमा आर्थिक सङ्कट लागेको स्थानीयवासी ठावा शेर्पाले बताउनुभयो ।

    फिन्जो शेर्पाका परिवार नै अहिले याक गोठमा छन् । उहाँको घर याङ्मा हो तर अहिले घरमा ताल्चा लगाएर गोठमै याक बाछा स्याहार्न, दुहुनो याक दुहुन र छुर्पी बनाउँदै दिन बित्छ । उहाँले पनि याक गोठबाट आम्दानी लिन सक्नुभएको छैन । दुई वर्षअगाडि नौदेखि १२ वटासम्म याकका बाछादेखि बयस्क याक चीनमा बिक्री गर्दै आएको शेर्पाले बताउनुभयो । विगतमा याक बिक्री गरेर वार्षिक रु नौदेखि रु १५ लाखसम्म आम्दानी लिँदै आएको भए पनि दुई वर्षयता याकबाट आम्दानी लिन नसकेको शेर्पाले बताउनुभयो ।

    एउटा याक रु एक लाख ५० हजारसम्ममा चीनका निर्यात हुने गरेको याङ्माका स्थानीय याकपालक टाँसी फिन्जो शेर्पाले बताउनुभयो । चीनका नागरिकले याकको बाछापालनका लागि खरिद गरेर लाने गरेको शेर्पाले बताउनुभयो । वयस्क याक भने मासुका लागि खरिद गर्ने गरेको स्थानीयवासीको भनाइ छ । याक गोठबाटै राम्रो आम्दानी लिँदै आए पनि अहिले कोभिडका कारण नाका बन्द भएपछि आर्थिक सङ्कट बेहोर्दै आएको स्थानीयवासी छाम्जे शेर्पाले बताउनुभयो ।

    समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने हिमाली बस्ती भएकाले यस क्षेत्रमा खेतीपाती हुँदैन । चिसो र हिउँका कारणले याङ्मा क्षेत्र याकपालनका लागि अनुकूल रहेको छ । याङ्माका प्रत्येक परिवारको याक गोठ छ । यहाँका समुदायको मुख्य आयस्रोत पशुपालन हो । याकको बाछा, वयस्क याक, घ्यू, छुर्पी, चमर (याकको पुच्छर) चीनको विभिन्न क्षेत्रमा राम्रो मूल्यमा निर्यात हुँदै आएको छ । याकको बाछा रु एक लाखसम्ममा चीनमा बिक्री हुने गरेको सोनाम शेर्पाले बताउनुभयो । याकको घ्यू र छुर्पी प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुने गरेको छ । पशुजन्य उत्पादनबाट याङ्मागाउँका समुदायले विगतदेखि नै जीवन निर्वाह गर्दै आएका छन् ।

    कोभिड–१९ का कारणले चीनको टिप्ताला नाका दुई वर्षदेखि बन्द भएसँगै याङ्माका समुदायमा आर्थिक सङ्कट लाग्न थालेको स्थानीयवासीको भनाइ छ । वितगमा याक बिक्री गरेर वर्षभरि पुग्ने आवश्यक खाद्यान्न चीनबाट आयात गरिँदै आएको थियो तर दुई वर्षयता ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारदेखि खरिद मूल्यभन्दा तीन गुणा बढीमा ढुवानी गर्नुपरेको स्थानीयवासीको भनाइ छ । कोभिडका कारण दुई वर्षदेखि चीन टिप्ताला नाका बन्द हुँदा चीनसँगको सीमावर्तीका समुदायले विभिन्न समस्या खेप्दै आएका छन् । ताप्लेजुङको ओलाङ्चुङगोला र याङ्मा क्षेत्रका बढी प्रभावित हुँदै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.