सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

६० हजारको लोभले १५ वर्ष जेल


  •    न्युजभित्तो/८ श्रावण २०७८, शुक्रबार ०८:२० 
  • चितवन, ८ साउन । जिल्लाको कोराकका एक चेपाङले रु.६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु प¥यो । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि पश्चाताप र नैराश्यतामा बितेका छन् ।

     

    पुख्र्यौली सम्पत्ति भएकाले परिवारको विछोड त भएन सुख र चैन भने परिवारमा कहिल्यै मिलेन । राप्ती नगरपालिका वडा नं. १० कोराकका ५९ वर्षिय वीरबहादुर प्रजा (चेपाङ) ४१ वर्षको उमेरमा दुर्लभ एकसिंगे गैंडाको खाग तस्करी मुद्दामा पक्राउ पर्नुभयो । तीन वर्ष अघि आफ्नो १४ वर्ष आठ महिना जेल जीवन बिताएर घर फर्किनु भएका प्रजाले आफ्नै घरमा व्यवसाय थाल्नुभएको छ ।

     

    जिल्लाको पहाडी क्षेत्रमा पर्ने कोराकको समिटारको उहाँको निवासमा पुग्दा उहाँ काममा व्यस्त हुनुहुन्थ्यो । घरमै मदिरा पसल शुरु गर्नुभएका प्रजाले छुट्टै कोठामा आफ्ना बेदना पोख्दै गर्दा उहाँका आँखा आँशुले रसाएका थिए । विगतको जेल जीवन र त्यसपछिका उहाँका दिन त्यति सुखी र खुशी छैनन् । चितवन, काठमाण्डौं, वीरगञ्ज र पोखराका कारागारमा बस्दाको समय सम्झँदै उहाँले भन्नुभयो “रगतको आँशु बगाएर जेल जीवन पार गरेँ ।” उहाँले थप्नुभयो “यो कुकर्ममा जार पनि नलागोस् र जेल जान नपरोस् ।”

     

    त्यसो त उहाँ रु.६० हजार पाउने लोभमा फस्नुभयो । घिसिङ नामका एक व्यक्तिसँगै दुर्लभ एकसिंगे गैंडा सिकारका क्रममा भरिया बनेर उहाँ निकुञ्ज पुग्नुभयो । तस्कर टोलीको भरियाको काम उहाँले गर्नुभयो । काम फत्ते भएमा रु.६० हजार पाउने लोभ उहाँलाई दिईयो । तर उहाँले दुई पटक गरेर रु.१५ हजार मात्रै पाएको बताउनुहुन्छ । त्यही बीचमा बि.सं. २०५९ सालतिर घिसिङ समातिएको र उसैले पोलेर आफू पक्राउ परेको उहाँको भनाई छ ।

     

    पक्राउ पर्ने थाहा पाएपछि लुक्न भारत जाने भन्दै पर्साको ठोरी पुगेका प्रजा त्यहाँबाट पारी जान सक्नु भएन । दुई महिनाको आवतजावतपछि ठोरीबाट उहाँ पक्राउ पर्नुभयो । बि.सं. २०५८ सालतिर भरियाको काम गरेको स्मरणा गर्दै उहाँले भन्नुभयो “रासन पानी बोकेर पैसा पाईन्छ भनेपछि यो कुकर्ममा लागियो ।” राप्ती नदी तरेर जंगलमा बस्दै गर्दा पक्राउ परे कारवाहीमा परिन्छ भन्ने थाहा भए पनि लुकेर बचिन्छ भन्ने लागेर यस्तो कार्यमा लागेको प्रजा बताउनुहुन्छ ।

     

    त्यतिबेलाको रु.६० हजार धेरै हुने र आर्थिक अभावले गर्दा यो कुकर्ममा लागेको उहाँको भनाई छ । त्यतिबेलाका साथी दौतरीका गाउँमा घर बनेका छन् कतिपयको शहरमा घरसँगै गाडी रहेको भन्दै उहाँले आफ्नो अवस्थालाई आफैले हेर्दा लाज भएको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो “उमेर पनि फालियो, समय पनि बित्यो, केही गर्न पनि सकिएन ।” उहाँले भावुक हुँदै भन्नुभयो “कमाउने कुरा त छोड्दिनुहोस्, बाबुले जोडेको सम्पत्ति जोगाउन पनि सकिन ।” आँखाभरी आँशु पार्दै उहाँले भन्नुभयो “जीवनको पहिलो र अन्तिम भूल यही नै भयो ।”

     

    आफ्नै दौतरीहरुले गाउँँमा बसेर गरेको उन्नती आफूले पनि गर्न सक्ने स्मरण गर्दै उहाँले भन्नुभयो “मेरो पनि अचल सम्पत्ति थियो, बैंकमा राख्दा चल हुन्थ्यो, एक भुलले पूरै जीवन बर्बाद भयो ।”

     

    बाबुको एकमात्रै सन्तान प्रजाले बाबुले जोडको दुई विगाहा पाँच कठ्ठा जग्गा मध्ये बिक्री गरेर अहिले एक विगाहा आठ कठ्ठा मात्रै बाँकी छ । जेलबाट छुट्दै गर्दा निकुञ्जमा चार लाख जरिवानासँगै वकिल र आउजाउ लगायतका खर्चमा रु. ९ लाखभन्दा बढी सक्किएको उहाँको भनाई छ । लुकेरै गरेपनि पाप कर्म पछि थाहा हुने भन्दै उहाँले भन्नुभयो “मान्छेले गरेका गलत काम ढिलो छिटो बाहिर आउँछ ।” उहाँले थप्नुभयो “ढिलो होस् वा छिटो होस् कर्तुत बाहिर निस्किन्छ ।”

     

    एक छोरा र दुई छोरीसहितकी श्रीमती छोडेर आफू जेल जीवन बसेको स्मरण गर्दै उहाँले यही कर्ममा लागेका धेरैका श्रीमती घर फर्किदा छाडेर गईसकेको उहाँले बताउनुभयो । “मेरो आफ्नो पुख्र्याैली सम्पत्ति भएकाले फर्किएर आउँदा श्रीमती र छोराछोरी देख्न पाएँ” उहाँले भन्नुभयो । कतिपयको श्रीमती पोईल गएको, छोराछोरी कुपोषण भएर बिरामी परेका, घरजग्गा लिलाम भएको भन्दै प्रजाले यस्ता कुकर्ममा लाग्नु अघि भविष्यको सोच्न सुझाव दिनुभयो ।

     

    जेल जीवनपछि समाजमा बाच्न पनि कठिन संघर्ष गरिरहनु परेको उहाँले गुनासो गर्नुभयो । घर नजिकैको एक व्यक्तिले मदिरा सेवन गरेर निरन्तर चोर भन्दै गालीगलौज गरेपछि वडा गुहार्नु परेको उहाँले दुखेसो गर्नुभयो । हामीलाई समाजमा घुलमिल हुन निकै कठिन छ – प्रजाले भन्नुभयो “अगाडिबाट नभने पनि गैंडा चोर्न गएछ, १५ वर्ष जेल बसेर फर्किएको छ भनेर भन्छन् ।” उहाँले गुनासो गर्दै भन्नुभयो “चोरीमा गएको पनि हो, जेल पनि बसेकै हो तर तारन्तर भनिरहँदा दिक्क लाग्छ ।”

     

    भूकम्प प्राधिकरण र चेपाङ आवास कार्यक्रमले भत्किएको घर बनाईदिएपछि त्यही घरमा उहाँले व्यवसाय शुरु गर्नुभएको छ । जग्गा धितो राखेर रु.२० लाख ऋण लिएर व्यवसाय थाल्नुभएका प्रजा विगतलाई भुल्ने प्रयास गर्दै भेट हुनेहरुलाई अपराधिक गतिविधिमा नलाग्न र संरक्षणमा जुट्न सुझाव दिनुहुन्छ । आफ्नो गाउँको सामुदायिक वनमा संरक्षण गरेर विगतको पापलाई पखाल्ने सोचमा उहाँ हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.