सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वैकल्पिक बाटो नहुँदा बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न समस्या


  •    न्युजभित्तो/७ श्रावण २०७८, बिहीबार ११:०७ 
  • काठमाडौं,७ साउन । वैकल्पिक बाटो निर्माण नहँुदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ ।

    काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै केन्द्र सरकाले दुई वर्ष अघिदेखि धादिङ र नुवाकोट जिल्लाको सिमाना बन्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माण कार्य गरिरहेको छ । अहिले निर्माण कार्यअन्तर्गत पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेको छ । अबको १० दिनपछि उक्त स्थानमा फोहर राख्न सकिने छ ।

    हाल फोहर व्यवस्थापन गरिरहेको स्थान स्यानिटरी ल्याण्डफिल साइट सिसडोलबाट बन्चरेडाँडामा जानका लागि बाटोको समस्या हुँदा तत्काल उक्त स्थानमा फोहर राख्न नसकिने शहरी विकास तथा भवन निर्माण विभागले जानकारी गराएको छ ।

    विभागका उपमहानिर्देशक कुमार घिमिरेका अनुसार उपत्यकाबाट फोहर बोकेर गाडीले सिसडोल पार नगरी दीर्घकालीन फोहर व्यवस्थापनस्थलसम्म पुग्नका लागि वैकल्पिक बाटो छैन । अहिले सिसडोलमा अत्यधिक फोहरको थुप्रो छ, उक्त थुप्रो लोड भएको गाडीले पार गर्दा जतिबेला पनि पहिरो जाने वा भासिने डरका कारण तत्कालै बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न कठिन भएको हो ।

    अन्यत्र बाटो खोज्ने र तत्काल दीर्घकालीनरूपमा फोहर व्यवस्थापनस्थलसम्म कसरी जान सकिन्छ भनी सम्बद्ध निकायसँग छलफल भइरहेको पनि विभागले जानकरी दिएको छ । सिसडोलदेखि दीर्घकालीन फोहर निर्माणाधीन व्यवस्थापनस्थलसम्म जाने करिब दुई किलोमिटर सडक भने यसअघिनै निर्माण सम्पन्न भइसकेको छ ।

    सेल वान र सेल टु गरी दुई भागमा विभाजन गरी निर्माणको काम भइरहेको छ । सेल वान निर्माण सम्पन्न अन्तिम चरणमा रहेकाले बाटोको व्यवस्था भए तत्कालै फोहर व्यवस्थापन गर्न सकिने छ । उक्त स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण भइरहेको छ ।

    बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । शुरुमा सम्झौता गरिएको समयसीमा सकिई २०७७ वैशाखमा पुनः एक वर्षका लागि समय थपिएको थियो । निर्माणका लागि रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा सम्झौता भएको थियो ।

    उपत्यकाको फोहर व्यवस्थापन भइसक्यो : कामपा

    काठमाडौँ महानगरपालिकाले विगत एक हप्तादेखि उठ्न नसकेको काठमाडौँ उपत्यकाको विभिन्न स्थानको फोहर व्यवस्थापन भइसकेको जनाएको छ । अनामनगर, बानेश्वर, कालीमाटी, रविभवन र असनलगायत स्थानमा फोहर नउठेको गुनासो बढिरहँदा बुधबार साँझसम्ममा सबै स्थानको फोहर व्यवस्थापन भइसकेको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

    प्रमुख श्रेष्ठले भन्नुभयो, “वर्षाको समयमा उपत्यकामा अन्य समयको भन्दा बढी फोहर उत्पादन हुने र बाटोका कारण नियमित व्यवस्थापन गर्न केही कठिन भए पनि हालका लागि समस्या समाधान भएको छ ।” छिटफुटरुपमा केही स्थानमा फोहर बाँकी रहेको देखेमा तत्काल विभागलाई जानकारी दिन पनि श्रेष्ठले नगरवासीलाई आग्रह गर्नुभएको छ ।

    वर्षाको समयमा फोहर बढी उत्पादन हुने र व्यवस्थापन गर्न थप समस्या हुने भएकाले कामपाले सम्बद्ध निकायलाई सक्दो छिटो सिसडोल पार गर्ने व्यवस्था मिलाई दीर्घकालीनरूपमा फोहर व्यवस्थापनको प्रबन्ध मिलाइदिन अनुरोध गरेको छ । तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । अव्यवस्थितरूपमा लामो समयदेखि एकै स्थानमा फोहर विसर्जन गर्दा समस्या आएपछि स्थानीयवासीले व्यवस्थितरूपमा फोहर व्यवस्थापनस्थलको खोजी गर्न आग्रह गर्दै समय समयमा विरोध गर्दै आएका छन् ।

    उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । त्यसमा सबैभन्दा बढी कामपाबाट करिब ६०० मेट्रिक टन फोहर निस्कने गरेको छ । दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । सामान्यतया प्रत्येक दिन उपत्यकाबाट निजी र महानगरपालिकाका गरी २०० गाडी फोहर विसर्जनका लागि सिसडोल लगिने भए पनि अहिले वर्षाको समय भएकाले दैनिक १०० मात्र फोहरका गाडी विसर्जनस्थलमा पुग्ने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.