सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनकपुर-जयनगर रेलवेको काम पूरा, दुई देशबीच समझदारीमा रेल चलाउन सकिने


  •    न्युजभित्तो/६ श्रावण २०७८, बुधबार ११:१२ 
  • काठमाडौँ, ६ साउन । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

    हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँका अनुसार आजभोलि नै भारत सरकारले हस्तान्तरण गर्ने गरी कार्यक्रम राखिएको थियो । अहिले मन्त्रालयस्तरमा सल्लाह गरेर केही कागजात आदानप्रदान र हस्तान्तरण गर्न बाँकी छ । उहाँले भन्नुभयो, “पूर्वाधार हस्तान्तरण भएपछि उद्घाटन हुने हो ।”

    भारत सरकारले नेपाल सरकारलाई रेल सञ्चालनका लागि बनाएको सबै संरचना हस्तान्तरण गर्ने महाप्रबन्धक भट्टराईले बताउनुभयो । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएका रेलको ट्र्याक, स्टेशन, भवन, आवास भवन, कम्प्युटरलगायतका सामग्री विधिवत् हस्तान्तरण हुनेछ । दुई देशबीच रेल सञ्चालनका लागि आवश्यक पर्ने अरु कागजात आदानप्रदान गर्नुपर्ने उहाँले बताउनुभयो । भारतको सरकारी कम्पनीसँग गरेको समझदारीको कागजात पनि आदानप्रदान गर्न बाँकी छ । उहाँले भन्नुभयो, “यी तीनवटै विषयमा कागजात आदानप्रदान गर्ने कार्यक्रम थियो, सरकार परिवर्तनले गर्दा केही दिन ढिला भएको छ ।”

    कम्पनीले रेल सञ्चालनका लागि आवश्यक जनशक्ति पनि तयारी गरेको छ । रेल सञ्चालनमा संलग्न जनशक्तिलाई तालिम दिइएको कम्पनीले जनाएको छ । तीन जना भारतीयले तालिम दिएका थिए भने पाँच÷छ जना भारतीय एक÷दुई दिनभित्र ल्याउन लागिएको छ । अब आउन लागेका व्यक्तिले रेलको संरचनाका बारेमा र सञ्चालन खाकाका बारेमा जानकारी गराउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कसको जिम्मेवारी के हो र कसरी गर्ने भनी बुझाउने काम हुनेछ ।”

    रेल सञ्चालनका लागि आवश्यक परीक्षण सकिएको छ । ‘ट्रायल ट्र्याक टेस्ट’ भइसकेको महाप्रबन्धक भट्टराईले बताउनुभयो । उहाँका अनुसार ट्र्याक, सिग्नल काम गरे÷नगरेको हेरिएको छ । रेल सञ्चालन गर्नुभन्दा पहिले ट्र्याकमा सवारी साधन ल्याएर ठीक छ÷छैन हेर्नुपर्ने उहाँले बताउनुभयो । ट्र्याकमा समस्या छ÷छैन भनी त्यसमा सवारी साधन दौडाएर हेरेर मात्रै जानकारी हुने उहाँले बताउनुभयो । परीक्षणका क्रममा ‘एलाइनमेन्ट’ तलमाथि छ कि भनेर हेरिएको थियो । रेल सञ्चालनका लागि ट्र्याक उपयुक्त छ भनेर प्रमाणीकरण गर्नुपर्नेमा त्यो काम भइसकेको उहाँले जानकारी दिनुभयो ।

    एक वर्षयता रेल सञ्चालनका विषयमा सरकारले पटक–पटक भारत सरकारसँग कुराकानी गरिरहेको छ । भारतीय पक्षले नेपालमा छिटो सञ्चालन होस् भनी घच्घच्याइरहेको कम्पनीले जनाएको छ । अहिले कोभिड सङ्क्रमणको त्रास भए पनि भारततर्फ जयनगरसम्म जानका लागि बाधा नहुने उहाँले बताउनुभयो । अरु सार्वजनिक सवारी साधन चलिरहेकाले रेल पनि आपसी छलफलपछि चलाउन सकिने उहाँले बताउनुभयो । त्यसका लागि दुई देशका सरकारको तहबाट निर्णय गर्नुपर्छ । अहिले तत्कालका लागि जयनगर–जनकपुर चलाउने भन्ने छलफल भइरहेको छ । रेल चलेपछि नेपालबाट भारत र भारतबाट नेपाल दुवैतर्फ नै आवतजावत हुनेछ । उहाँले भन्नुभयो, “त्यसैले पनि दुवै देशका प्रतिनिधि बसेर छलफल गरेर टुङ्ग्याउनुपर्छ ।”

    राष्ट्रपति विद्यादेवी भण्डारीले केही समय पहिले रेलसम्बन्धी अध्यादेश स्वीकृत गर्नुभएको थियो । अध्यादेश आएको ६० दिनभित्र संसद्मा पेश गर्नुपर्ने व्यवस्थानुसार अहिले त्यो पेश भइसकेको छ । प्रतिनिधिसभा विघटन हुनुपूर्व पनि संसद्मा रेलसम्बन्धी अध्यादेश संसद्मा पेश भएको थियो । सोही विधेयक नै अध्यादेशका रूपमा सरकारले ल्याएको थियो । अहिले पुनः संसद्मा टेबुल भएकाले त्यसलाई अघि बढाउनुपर्ने महाप्रबन्धक भट्टराईले बताउनुभयो ।

    कम्पनीले रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका जनशक्ति तयार गरिसकेको छ । त्यसमा नेपाली र भारतीय गरी दुवै किसिमका जनशक्ति छन् । नेपालमा रेल सञ्चालनको अनुभव भएका जनशक्ति नभएकाले भारतबाट करारमा जनशक्ति ल्याइएको हो । अहिले आवश्यकतानुसार जनशक्ति आएर तालिम दिइएको उहाँले बताउनुभयो । अहिले तत्कालका लागि आवश्यक केही भारतीय तत्काल आउने र बाँकी चालक दलका सदस्यहरु रेल चलाउने मिति तय हुनासाथ आउनेछन् । कम्पनीमा २०० नेपाली र २६ भारतीय कर्मचारी रहने जनाइएको छ ।

    भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पाँचवटा रेलमार्ग अघि बढाइने सहमति भएको थियो । त्यसमध्ये सबैभन्दा पहिले जयनगर–कुर्था निर्माण भइसकेको छ । कुर्थाबाट बर्दिबाससम्मको रेलमार्ग निर्माण पनि अघि बढेको छ । जयनगर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाल सरकारले गत आवमा भारतीय सरकारी कम्पनीसँग रेल सेट खरिद गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.