सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पशुपतिनाथ मूल मन्दिर क्षेत्र सुनसान, बाहिर भक्तजनको चहलपहल


  •    न्युजभित्तो/१ श्रावण २०७८, शुक्रबार ११:१५ 
  • काठमाडौँ, १ साउन । साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ ।

    सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । मूल मन्दिर क्षेत्रमा भक्तजनलाई जान दिइएको छैन । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।

    वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा म्ुख्य ढोकामा तालाबन्दी गरिएको छ । धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको सदस्यसचिव ढकाल बताउनुहुन्छ । साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन् ।

    गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो । साउन १ गते भएकाले आज बिहान पशुपति क्षेत्रको बाहिरी परिसरमा भने गत दिनहरूमा भन्दा बढी चहलपहल देखिएको कोषले जनाएको छ ।

    विसं २०७६ चैत पहिलो सातादेखि मङ्सिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरिएको थियो । पुस १ गतेदेखि बिहान छ बजेदेखि मध्याह्नसम्म खुला गरिएको थियो । महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो । वैशाख लागेपछि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पुनः बन्द गरिएको हो । सदस्यसचिव डा ढकाल वातावरण सामान्य बन्दै गएमा तीजमा भने मन्दिर खोल्न सकिने बताउनुहुन्छ ।

    भक्तजनका लागि बन्द गरिए पनि पशुपतिनाथ मन्दिरमा नित्य पूजालगायत कर्म भने जारी छ । पशुपति क्षेत्रको घाट सेवा पनि सञ्चालन भइरहेको छ । यस कोरोनाका कारण निधन हुनेको सङ्ख्या बढेपछि आर्यघाट, भष्मेश्वरघाट, विद्युतीय शवदाह गृहलगायत स्थानमा शव जलाउने क्रम पनि वृद्धि भएको छ । कोरानो उच्च विन्दुमा पुगेका बेला वैशाख अन्तिम र जेठ दोस्रो सातासम्म दैनिक २०० सम्म शव आएको कोषले जनाएको छ । विद्युतीय शवदाह गृहको क्षमताले नधानेपछि वाग्मती किनारमै पनि कोरोनाबाट निधन भएकाको शव जलाइएको थियो । पशुपति क्षेत्रमा विद्युतीयसमेत १५ वटा घाट सेवा उपलब्ध छ ।

    साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । राजधानीका अन्य शिवालयमा भने भक्तजनको चहलपहल देखिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.