सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिममा धुमधामसाथ साउने सङ्क्रान्ति पर्व मनाइँदै


  •    न्युजभित्तो/१ श्रावण २०७८, शुक्रबार १०:१९ 
  • डोटी, १ साउन । सुदूरपश्चिम प्रदेशमा आज साउने सङ्क्रान्ति पर्व धुमधामका साथ मनाइँदै छ । यहाँका नौवटै जिल्ला बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा डोटीमा आज साउन महिनाको पहिलो दिन अर्थात साउन १ गते विभिन्न कार्यक्रम गरी यहाँका नागरिक साउने सङ्क्रान्ति पर्व मनाउँदै छन् ।

    असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी आजको दिन ठाउँअनुसार सबै एकै ठाउँमा जम्मा भई भोज खाएर सङ्क्रान्ति पर्व मनाउने परम्परा रहेको दिपायल सिलगढी नगरपालिका–५ का किरण भण्डारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विशेषगरी यहाँका पहाडी जिल्लामा आजको दिन रोगव्याधि नलागोस् भनेर लुतो फाल्ने चलन छ । आजकै दिन सुदूरपश्चिममा परम्परानुसार भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन रहेको शिखर नगरपालिका–१ कपल्लेकीका पण्डित गुणकर जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “आजको दिन लुतो सम्झेर बलेको अगुल्टो चारै दिशामा सबै रोगव्याधि लुतो लैजा भनी फयाँक्ने गरिन्छ ।” साउन महिनामा सूर्य कर्कट राशिमा रहने भएकाले गर्मी अत्यधिक हुनुका साथै निरन्तर झरी पर्ने भएकाले मान्छे आवतजावत गर्दा पानीमा रुझ्नसक्ने सम्भावना हुन्छ । त्यसमाथि कृषि अनि कृषि कार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्यझैँ हो ।

    गर्मी र बर्खायामको असरले वर्षाको महिनामा छालासँग सम्बन्धित रोगजस्तै लुतो, दाद, घमौरा या खटिरा आउनसक्ने सम्भावना अत्यधिक हुने भएकाले साउने सङ्क्रान्तिलाई सुदूरपश्चिममा लुतो फाल्ने दिनका रूपमा पनि लिइने गरिएको अर्का स्थानीयवासी मानबहादुर धामीले बताउनुभयो । उहाँका अनुसार लुतो फाल्ने आ–आफ्नै खालका जनविश्वास र चलन रहेको पाइन्छ । आजको दिन यहाँका नदी किनारमा गई शरीरमा लेसिलो पहेँलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वास छ । कसैले भान्टालाई दुलो पारेर चारबाटोमा फालेर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको जोरायल गाउँपालिका–५ का लीलाधर विष्टले बताउनुभयो ।

    सायल गाउँपालिकाका स्थानीयवासी तथा ज्योतिष चेतराज उपाध्यायका अनुसार उत्तरायणको बेला मृत्यु भएका मानिसले मोक्ष प्राप्त गर्छन् भने दक्षिणायनको बेला मृत्यु भएका मानिसले पुनःजन्म लिनुपर्छ, यसैकारण पनि सूर्यका यी दुई स्थितिलाई मानिसको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको छ । दक्षिणायनको बेला रात लामो र दिन छोटो हुने गर्दछन् । दक्षिणायनमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभकार्य गर्नु उचित मानिँदैन तर यो समयमा इच्छा, कामना र भोगको वृद्धि हुने भएकाले यस बेला चोखोनितो गरेर लिइएको व्रत एवं गरेको पूजा आराधनाले रोग र शोक मेटिने विश्वास छ ।

    साउन १ गतेबाट रङ्गीन अर्थात हरियाली महिनाको शुरुआत हुने भएकाले यसलाई कर्कट सङ्क्रान्ति भन्ने गरिएको प्रसिद्ध देवी शैलेश्वरीका पुजारी प्रेमशङ्कर भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार हरियो रङमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकाङ्क्षा र यसका साथै परिवारजनमा सुख, शान्ति र कान्ति छाइरहोस् भनेर पनि महिलाले यो महिनामा रङ्गीन हरिया चुरा लाउने चलन रहेको उहाँको भनाइ छ । साउन महिनामा बारीका मकै पनि ठूलै घोगा भइसकेका हुन्छन्, साउने झरीमा पोलेको या उसिनेको मकैको खाजा खानु स्वास्थ्यका लागि निकै उपयोगी हुने शैलेश्वरी अस्पतालका डा ललित लिम्बूले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
    १३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो बागमती साहित्य महोत्सव
    छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’
    • बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’
    • भिरबाट लडेर दुई जनाको मृत्यु
    • काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
    • हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.