सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभापति देउवा आज पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै


  •    न्युजभित्तो/२९ असार २०७८, मंगलवार १४:३६ 
  • काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनःस्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

    सोही फैसलानुसार राष्ट्रपतिले आज साँझसम्म उहाँलाई प्रधानमन्त्रीको शपथ गराउने तयारी गर्नुभएको बुझिएको छ । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिनुभएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उहाँ हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।

    खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएको हो । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ ।

    विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उहाँ २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो ।विसं २०४८ मा गृहमन्त्री बन्नुभएका देउवाले त्यसपछि पटकपटक गरी चार पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो । त्यसपछि उहाँ २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री हुनुभयो ।

    सोही वर्ष असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गर्नुभएको थियो । प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने पनि राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गर्नुभएको थियो ।

    प्रधानमन्त्री हुँदा उहाँले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस ९कदमजम० को अवधारणा ल्याउनुभएको हो । त्यस्तै उहाँकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

    पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक)का उहाँ सभापति बन्नुभयो । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस ९प्रजातान्त्रिक०को एकतापछि उहाँ काग्रेसको वरिष्ठ नेता हुनुभएको थियो ।

    त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनमा उहाँ तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको थियो । सभापति एवम् संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।

    संविधान कार्यान्वयनका लागि उहाँकै नेतृत्वमा २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमध्ये प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले पराजय बेहोरेपछि उहाँले २०७४ फागुन ३ गते पदबाट राजीनामा दिनुभएको थियो ।

    सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तरराष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताउनुभएको छ । नेता देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, डेनमार्क, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, अष्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.