सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

६ संस्करण कोपा खेल्ने पहिलो खेलाडी बने मेस्सी


  •    न्युजभित्तो/२७ असार २०७८, आईतवार १३:३३ 
  • काठमाडौं,२७ असार। घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले आइतबार ४७औं संस्करणको कोपा अमेरिकाको उपाधि जित्यो । राष्ट्रिय टिमले २८ वर्ष यता पहिलो उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पनि राष्ट्रिय टिमको जर्सीमा पहिलो ट्रफी उचाले ।

    विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामा ब्राजिललाई उसैको भूमिमा हराएर उपाधि जित्नु अर्जेन्टिनाको लागि गौरवकै विषय रह्यो । मेस्सीलाई अर्जेन्टिनाबाट खेल्न थालेको १६ वर्षसम्म पनि केही जित्न नसकेको भनेर लाग्ने गरेको आरोप अब हटेको छ ।

    यसपटक मेस्सी र उनको टिमको प्रदर्शन राम्रो रह्यो । प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा मेस्सी उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता समेत बने ।

    यस्तै २८ वर्षपछि उपाधि जितेको अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमानसँग समेत बराबरी गरेको छ । यस्तै मेस्सीले यसपटक कोपामा केही कीर्तिमान समेत बनाएका छन् ।

    कोपामा सर्वाधिक ३४ खेल

    मेस्सीले कोपा अमेरिकाको इतिहासमा सर्वाधिक खेल्ने कीर्तिमान बराबरी गरे । ब्राजिलविरुद्ध फाइनल खेलेपछि मेस्सीले कोपामा सर्वाधिक ३४ खेल खेल्ने चिलीका सर्जियो लिभिङस्टोनको कीर्तिमानसँग बराबरी गरेका छन् ।

    सन् २००७ देखि कोपा खेल्न थालेका मेस्सीले ६ संस्करण खेल्दै कीर्तिमान बराबरी गरेका हुन् । उनले २००७, २०११, २०१५, २०१६, २०१९ र २०२१ मा गरी कुल ३४ खेल खेले । जसमा २१ खेलमा जित हात पारे ।

    यस्तै २०१५ र २०१६ को फाइनलको पेनाल्टी सुटआउट बाहेक जम्मा ३ खेलमा मात्र मेस्सी सम्मिलित अर्जेन्टिना पराजित भएको थियो ।

    कोपाको एकै संस्करणमा सर्वाधिक पाँच असिस्ट

    मेस्सी गोल गर्न मात्र नभई गोलका लागि सहयोग गर्न समेत माहिर छन् । जुन उनले यसपटकको कोपामा पनि गरेर देखाए । अर्जेन्टिनाले उपाधि जित्दा कुल १२ गोल गर्‍यो । त्यसमा मेस्सीले ४ गोल गरे भने ५ गोलका लागि सहयोग गरे । अर्जेन्टिनाले गरेको १२ गोलमध्ये ९ गोलमा मेस्सीको भूमिका रह्यो ।

    यस संस्करणमा ५ असिस्ट गरेका मेस्सी एकै संस्करणमा सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत बने । यस्तै उनले कोपामा ३४ खेल खेल्दा अहिलेसम्म १५ असिस्ट गरेका छन् जुन अर्को कीर्तिमान हो । उनीपछि रहेका अर्जेन्टिनाकै कार्लोस टेभेजले ६ असिस्ट गरेका छन् ।

    अर्जेन्टिनाका लागि सर्वाधिक १५१ खेल

    मेस्सीले यसपटकको कोपामा अर्जेन्टिनाले खेलेका सबै ७ खेल खेले । त्यस क्रममा उनले राष्ट्रिय टिमका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि बनाए । कोपा अघि मेस्सीले राष्ट्रिय टिमबाट १४४ खेल खेलेका थिए ।

    समूह चरणमा चिली, उरुग्वे र पाराग्वेसँग खेल्दै ज्याभिएर मास्केरानोको नाममा रहेका १४७ खेलको कीर्तिमान बराबरी गरेका मेस्सीले बोलिभियाविरुद्ध खेल्दै उक्त कीर्तिमान तोडे । त्यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलेका मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक १५१ खेल खेलेका छन् ।

    ६ संस्करण कोपा खेल्ने खेलाडी

    मेस्सी ६ पटक कोपा अमेरिका खेल्ने पहिलो खेलाडी समेत बने । यसका लागि पनि उनले मास्केरानोकै कीर्तिमान तोडे । मास्केरानोले ५ संस्करण कोपा खेलेका छन् । सन् २००७ मा कोपामा डेब्यु गरेका मेस्सीले त्यसयता लगातार ६ संस्करण खेलेका हुन् ।

    सन् २०१५ र २०१६ मा मेस्सीकै नेतृत्वमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित भएको थियो । यसपटक भने मेस्सीकै नेतृत्वमा अर्जेन्टिना च्याम्पियन बन्यो ।

    र, यो पनि

    मेस्सीले कोपा अमेरिकामा ६ संस्करण खेल्दा कुल १३ गोल गरेका छन् । फिफा विश्वकपमा ६ गोल गरेका मेस्सीको ठूला प्रतियोगितामा गोल संख्या १९ पुगेको छ ।

    कोपा अमेरिकाको इतिहासमा सर्वाधिक गोल गर्नेमा भने मेस्सी संयुक्त रुपमा सातौं स्थानमा छन् । उनी अर्जेन्टिनाकै नोर्बेटो मेन्डेज र ब्राजिलका जिजिन्हो भन्दा ४ गोलले पछि छन् । दुवै खेलाडीले समान १७ गोल गरेका छन् ।

    पेरुका लोलो फर्नान्डेज र उरुग्वेका साभेरिनो भारेलाले समान १५ गोल गरेका छन् भने पेरुका पाउलो गुरेएरो र चिलीका एडुवार्डो भर्गासले समान १४ गोल गरेका छन् ।

    मेस्सीसँगै अर्जेन्टिनाका गाब्रिएल बाटिस्टुटा र जोस मानुएल मोवरेनो, ब्राजिलका एडेमिर जेइर अनि उरुग्वेका हेक्टर स्कारोनले पनि १३ गोल नै गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.