सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बुद्धमङ्गल तालबीचमा बुद्धमूर्ति : बौद्धकालीन सभ्यता र पर्यटकीय आकर्षण


  •    न्युजभित्तो/२४ असार २०७८, बिहीबार १३:४५ 
  • परासी, २४ असार । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमङ्गल ताललाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरी विकास अघि बढाइएको छ ।

    बुद्धकालीन हलिदाबसन शहरसँग मेल खाने यस क्षेत्रमा बुद्धकालीन सभ्यताको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने गरी यहाँको विकास, संरक्षण तथा प्रवद्र्धन थालिएको हो । बर्दघाट नगरपालिका–१२ मा अवस्थित यस ताल भगवान् गौतम बुद्धसँग जोडिएकाले यहाँको ऐतिहासिकता र पर्यापर्यटन विकासका लागि काम भइरहेको बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले राससलाई जानकारी दिनुभयो ।

    पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्यको सम्भावना रहेको यस क्षेत्रमा अहिले तालको बीचमा बुद्धको ठूलो मूर्ति निर्माण गरिएको छ । बुद्धग्रन्थहरुमा उल्लेख गरिएअनुसार तत्कालीन कोलिय गणराज्यको हलिदावसन शहरमा बुद्ध आएर नित्य पाठ गरी शिष्यहरुलाई दीक्षित गर्नुभएको ऐतिहासिक तथ्य यसै क्षेत्रमा फेला परेकोे उहाँले बताउनुभयो । नगरपालिकाले यस क्षेत्रलाई प्राचीन हलिदावसन शहर घोषणाको पनि तयारी गरेको छ ।

    उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल परेको यस क्षेत्रलाई पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न, बुद्धकालीन ऐतिहासिकतालाई जोड्न र बुद्ध परिपथमा समावेश गर्ने आधार निर्माणका लागि पनि तालको बीचमा बुद्धको मूर्ति निर्माण गरिएको उहाँले बताउनुभयो । बुद्धकालीन सभ्यतालाई झल्काउने गरी तालको बीचमा बुद्धको मूर्ति राखिएको कमै स्थान रहेकाले पनि यसको विशेष महत्व रहेको उहाँको भनाइ छ । नगरपालिका र लुम्बिनी प्रदेश सरकारको पहलमा अहिले यहाँ तालको सौन्दर्यीकरण र पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् । सौन्दर्यीकरणपछि अहिले ताल सुन्दर देखिएको छ ।

    वरिष्ठ कलाकार बिके नरबहादुरले तालको बीचमा १२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्नुभएको हो । तीन महिनामा मूर्ति निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । “तालको बीचमा मूर्ति निर्माण आफँैमा ऐतिहासिकता र चुनौती हो”, उहाँले भन्नुभयो, “यस किसिमका प्राचीन र कलात्मक मूर्ति र चित्रले बुद्धकालीन सभ्यताको झल्को मेटाउँछ, चित्रले त्यसबेलाको संस्कृति बोल्छ, मूर्तिको आफैँमा विशेष महत्व छ ।

    ” परासी–त्रिवेणी हुलाकी सडकबाट आधा किलोमिटर उत्तरतर्फ सुन्दर र रमणीय वातावरणमा अवस्थित यो ताल क्षेत्र करिब सात बिघा क्षेत्रफलमा फैलिएको बुद्धमूर्ति निर्माण समितिका सचिव मनोज पौडेलले बताउनुभयो । उहाँका अनुसार ताल वरपर सरस्वतीको मन्दिर, शिवालय, बुद्धमार्गीको गुम्बा, १०८ शिवलिङ्ग, प्रतीक्षालय, सामुदायिक वनलगायतका प्राकृतिक तथा भौतिक संरचनाको निर्माण तथा विकास गरिएको छ । हाल यहाँ जलदेवी मन्दिरको निर्माणकार्य पनि भइरहेको निर्माण समितिका अध्यक्ष प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । थारू समुदायले विशेष आस्थाको रूपमा मान्दै आएको जलदेवीको मन्दिर पुरानो भएपछि अहिले स्थानीय राधाकृष्ण बुद्धमङ्गल ताल भजन समूहको पहलमा मन्दिर निर्माण थालिएको उहाँले बताउनुभयो ।

    बुद्धमङ्गल जागृति महिला सामुदायिक वन उपभोक्ता समूहअन्र्तगत स्थानीय क्लब र स्थानीय बासिन्दा यस तालको सौन्दर्य वृद्धि र संरक्षण निरन्तर लागिरहेका छन् । स्थानीय दीप प्रकाश लोहनीका अनुसार गौतम बुद्ध काठमाडौँ खाल्डो जाने क्रममा मनोरम यो ताल देखेपछि आफ्नो अनुयायीसहित यसै ताल छेउ राति बास बस्नुभएको र सो बसाइँको क्रममा स्थानीयवासी दुई जमिन्दार भाइ दबिला र मङ्गललाई आफ्नो प्रवचनबाट दीक्षित बनाएको इतिहास छ ।

    ती दुई दाजुभाइमध्ये दबिलाको नामबाट आज पनि दुई गाउँ (पुरानो दबिला, नयाँ दबिला) रहेका छन् भने मङ्गलको नाउँ अगाडि बुद्धसमेत जोडी बुद्धमङ्गल ताल नामाकरण गरिएको छ । तत्कालीन समयमा घना जङ्गलबीच शान्त ताल रहनु र यस क्षेत्रमै नारायणी नदी पछि जल सुन्दरताका हिसाबले यही ताल नै उत्कृष्ट रहनुले पनि बुद्ध जीवनी, बौद्ध धार्मिक ग्रन्थहरुको मिहीन अध्ययन र अनुसन्धान हुने हो भने यस सम्बन्धमा थप तथ्यहरु फेला पर्ने उहाँको भनाइ छ ।

    सिमसार क्षेत्र भएकाले विविध जलचर र ताल किनारमा सामुदायिक वनको समेत विकास गरिएकाले चराचुरुङ्गीको बासस्थानका रुपमा यो ताल रहन पुगेको छ । त्रिवेणीबाट कपिलवस्तुसम्मको क्षेत्र लुम्बिनी बुद्ध परिपथअन्तर्गत पर्ने अत्यन्त महत्वपूर्ण क्षेत्र हो । तसर्थ पनि यस क्षेत्रलाई बुद्धपरिपथमा समावेश गर्नुपर्ने आवाज उठ्दै आएको छ ।

    लुम्बिनी घुमेर फर्कने आन्तरिक तथा विदेशी पर्यटकलाई नवलपरासीको रामग्राम स्तुप हुँदै यहाँसम्म ल्याउन सके यहाँको पर्यटन व्यवसाय तथा स्थानीयवासीको आर्थिक उन्नतिमा पनि टेवा पुग्ने स्थानीयवासीको विश्वास छ । (तस्बीर उपलब्ध छ)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.