सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खोप लगाउन दबाब


  •    न्युजभित्तो/२५ जेष्ठ २०७८, मंगलवार १२:०८ 
  • चितवन, २५ जेठ । यसअघि मापदण्डमा परेर पनि कोरोना विरुद्धको खोप लगाउन वास्ता नगरेकाहरूले यस पटक खोप लगाइदिन दबाव दिएका छन् । जिल्लामा आज र भोलि गरेर ११ हजार जनालाई खोप लगाइँदै छ ।

    जिल्लाका सात पालिकाका ७९ केन्द्रमार्फत खोप लगाउन लागिएको हो । विसं २०१४ जेठ २५ गतेदेखि २०१६ जेठ २५ गतेभित्र जन्मिएका वृद्धवृद्धालाई मात्रै खोप लगाइने छ । मापदण्डमा नपरेका र छुटेकाले सम्बन्धित स्वास्थ्य कार्यालयमा दबाव दिँदै आएका छन् । राजनीतिक दल, पद र प्रतिष्ठाको धाक लगाउँदै उक्त समूहमा नपरेकाहरूले पनि ‘खोप लगाइदिन पयो’ भन्दै दबाव दिन थालेका हुन् ।

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले तोकिएको उमेर समूहबाहेकका कसैलाई पनि खोप लगाउन सम्भावना नै नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “थेग्नै नसक्ने गरी दबाव आएको छ ।” उहाँले सरकारले निश्चित उमेर समूह र सङ्ख्या तोकेर निश्चित खोप मात्रै पठाएकाले तोकिएकाबाहेक कसैलाई पनि खोप लगाउन नसकिने बताउनुभयो । अतिरिक्त खोप नभएकाले अन्यलाई लगाउन सक्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

    यसअघि खोप लगाउँदा लक्षित समूहकाले खोप लगाउन अस्वीकार गरेको ठाउँमा अन्यले लगाएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको उहाँको भनाइ छ । चीन सरकारको अनुदानमा प्राप्त भेरोसिल नामक खोप जो जहाँ छ त्यहीँ लगाउने गरी दिइन थालिएको हो । हरेक वडामै खोपको व्यवस्था गरिएको छ । कतिपय वडाहरू जोडेर खोप केन्द्र तोकिएको छ । भरतपुर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदी सबैतिरबाट खोप लगाइदिन दबाव आएको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “चिनेका र अत्यावश्यकबाहेक कसैको पनि फोन उठाउन सकेको छैन ।” उहाँले आआफ्नो वडाको खोप केन्द्रमा नै गएर खोप लगाउनसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “एउटा वडाको व्यक्ति अर्काे वडामा जाँदा खोप व्यवस्थापनमा समस्या पर्छ ।” नेपाल सरकारले जारी गरेका नागरिकता, ज्येष्ठ नागरिक परिचयपत्र, लाइसेन्स जस्ता कुनै पनि परिचयपत्रका आधारमा खोप लगाइने उहाँले बताउनुभयो ।

    कुनै पनि परिचयपत्र नभएकाका लागि भने सम्बन्धित वडाको सिफारिसमा खोप लगाउने व्यवस्था गरिएको छ । यस्तै भेरोसिलको पहिलो डोज लगाएर दोस्रो डोज नलगाएकाहरूले पहिलो खोप लगाएको कार्ड लिएर आएमा भने दोस्रो डोज खोप लगाइने व्यवस्था गरिएको छ ।

    यसअघि काठमाडौँसहित केही जिल्लामा भेरोसिलको पहिलो डोज लगाइएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अन्य जोखिममा रहेका समूहका लागि खोपको माग गरेर पत्राचार गरिएको भन्दै अहिले लक्षित समूहबाहेक अन्यलाई खोप लगाउन नसकिने बताउनुभयो । उहाँले खोप आए लगत्तै लक्षित र जोखिममा परेकाहरूलाई क्रमशः खोप लगाइने भएकाले यस अभियानमा सहयोग गरिदिन अनुरोध गर्नुभयो । प्रत्येक खोप केन्द्रमा नेपाल प्रहरीले सुरक्षा दिने छ ।

    बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ । कोरोना कहरका कारण भिडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको हो । खोप केन्द्रमा छुटपुट भएकालाई जेठ २७ गते एउटा पालिकामा एक ठाउँमा खोप दिने व्यवस्था रहेको छ ।जिल्लामा यसअघि दुई चरणको खोप अभियान सम्पन्न भएको छ । ती अभियानमा ३९ हजार जनताले पहिलो खोप लगाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.