सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार १०:५८ 
  • दार्चुला,२० जेठ । दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ ।

    आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्यही यार्सागुम्बा हिमाली क्षेत्रका नागरिकका लागि काल बनेर आएको छ । अपिहिमाल गाउँपालिकाका स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि अहिले पाटनमा छन् । जेठ पहिलो साताबाट सङ्कलनमा हिँडेकामध्ये तीन साता नपुग्दै तीन जनाले ज्यान गुमाएका छन् ।

    घरमा खान लगाउन नपुग्ने भएपछि लेकतिर हिँडेकामध्ये दुई महिला र एक पुरुषले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । अपिहिमाल–३ काटैका जयमती कार्कीको यही जेठ १७ गते गाउँ नजिकैको मिच्छा वनमा यार्सागुम्बा सङ्कलनका क्रममा भीरबाट लडेर ज्यान गयो । स्थानीयवासी निरुता कार्कीका अनुसार गाउँ नजिकैको यार्सागुम्बा पाइने वनमा जयमती गत जेठ १० गतेमात्रै यार्सागुम्बा सङ्कलन गर्न पाटन गएकी थिइन् ।

    घरमा चार छोरी र एक छोरा छन् । यार्सागुम्बाबाट आर्थिक उपार्जन गर्ने उद्देश्यले लेक गएकी जयमतीको सङ्कलन गर्न गएको एक सातामै ज्यान गयो । अहिले परिवार पूरै शोकमा छ । आर्थिक उपार्जनको लागि गएका अधिकांश गाउँका स्थानीयवासी अहिले निराश बनेर घर फर्किएको निरुताले बताउनुभयो ।

    गत साता अपिहिमाल–५ का चुन्धरी धामीको सातगङ्गा वनमा यार्सागुम्बा सङ्कलनका लागि गएको बेला पाटनमै मृत्यु भयो । सामान्य पेट दुख्ने बिरामी भएकी धामीको औषधि उपचार पाउन नसक्दा यार्सागुम्बा पाइने पाटनमै अकालमै मृत्यु भयो । लेकमै मृत्यु भएको दुई दिनपछि मात्रै परिवारले जानकारी पाएका थिए ।

    यस्तै जेठ पहिलो साता अपिहिमाल–४ का मोहनसिह ठेकरे हिउँ पहिरोमा परी बेपत्ता भए । बेपत्ता ठेकरेको शव अझै फेला परेको छैन । यार्सागुम्बा सङ्कलन शुरु भएको तीन साताको अवधिमा अपिहिमालकै मात्र तीन जनाले ज्यान गुमाएका छन् ।

    जिल्लाभरि अहिले हिमाली क्षेत्रका नागरिकहरु यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएका छन् तर यो पटक मौसममा देखिएको परिवर्तनले ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । “मान्छेको मृत्यु हुन थालेपछि धेरै यार्सागुम्बा सङ्कलक अहिले गाउँ फर्किरहेका छन्”, अपिहिमाल–२ का हरीशचन्द्रसिंह कार्कीले भन्नुभयो, “गाउँका अधिकांश मानिस फर्किएर गाउँमै योजनाका काममा खटिएका छन् । लेकमा यार्सा पाइँदैन । हिउँ पग्लिएको छैन, जोखिम मोल्नुभन्दा गाउँकै विकास निर्माणमा लाग्छौँ भनेर फर्किएका छन् ।

    व्यास–१ का योगेश बोहरा यो वर्ष पाटनमा खासै यार्सागुम्बा नपाइने गरेको बताउनुहुन्छ । “मान्छे आउने जाने क्रम चलेको छ । मौसम पनि राम्रो छैन्”, उहाँले भन्नुभयो । यो वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छैन । विगतमा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि अनुमति पत्र दिने गरेको थियो । सोहीअनुसार सङ्कलकहरु लेक जाने गरेका थिए ।

    “हिमाली क्षेत्रका स्थानीयवासीको आर्थिक स्रोतका रूपमा विकल्प नभएपछि अनुमतिबिनै यार्सागुम्बा सङ्कलन गर्नुपर्ने उनीहरूको बाध्यता हो”, अपिहिमाल–१ का जीवन लोथ्याल भन्नुहुन्छ, “हिमाली क्षेत्रका जनताको आयको प्रमुख स्रोत भनेकै जडीबुटी हो । उहाँका अनुसार कोरोना महामारीका बीच पनि पेट पाल्नकै लागि पाटनतिर जानुपर्ने उनीहरुको रहर नभएर बाध्यता हो । “रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता अपिहिमालका बासिन्दालाई लागेको छ । यहाँ उत्पादन भएको खाद्यान्नले छ महिना पनि खान पुग्दैन ।”

    यस्तै विचार अपिहिमालका धेरै नागरिकले राखेका छन् । गाउँमा रोजगारीको विकल्प नहुनु र आयस्रोत नहुँदा यार्सागुम्बा सङ्कलन गर्नुपरेको हो तर सङ्कलनका क्रममा भइरहेको घटनाका कारण अहिले धेरै निराश बनाएको छ ।
    विगतमा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु भएका नागरिकलाई बिमा उपलब्ध गराएको थियो । यो पटक भने कोरोनाका कारण अनुमति जारी गर्न रोक लगाइएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताउनुभयो ।

    जिल्लामा हरेक वर्ष यार्सागुम्बा सङ्कलनको क्रममा पाँच÷सात जनाले अकालमै ज्यान गुमाउने गरेको जिल्ला प्रहरीको तथ्याङ्क छ । जिल्लाबाट हरेक वर्ष पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.