सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घण्टौँसम्म इन्टरनेट गेममा झुम्मिने बालबालिकाका कारण चिन्तामा अभिभावक


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार १०:३१ 
  •  धनगढी, १९ जेठ । निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ ।

    कोरोना सङ्क्रमणको जोखिमका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका कारण घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएपछि उनीहरू एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बन्द कोठामा घण्टौँसम्म मोबाइल गेममा झुण्डिरहँदा अभिभावकहरूमा चिन्ता बढ्दै गएको हो । अध्ययन गर्न काठमाडौँ जानुभएका धनगढीका १४ वर्षीय एक किशोर आजभोलि कोरोना सङ्क्रमणका कारण आफ्नो घर धनगढी आउनुभएको छ ।

    पहिलापहिला काठमाडौँबाट घर आउँदा परिवारका सबै सदस्यसँग समय व्यतीत गर्न रुचाउने उनको व्यवहारमा आजभोलि आएको परिवर्तन देखेर परिवारका सदस्यहरू चिन्तित भएका छन् । सामान्य समयमा आफ्नो कोठा र घरबाहिर धेरै समय बिताउने किशोर आजभोलि घण्टौँसम्म बन्द कोठामा खानेकुराको पर्वाह नगरी इन्टरनेटमा झुम्मिन थालेपछि परिवारमा चिन्ता थपिएको हो ।

    “पहिला पहिला काठमाडौँबाट घर आउँदा साथीभाइ, अभिभावक तथा आफन्तहरुसँग बढी समय रमाउँथ्यो, एक्लै बस्न कत्ति पनि रुचाउँदैन थियो तर यसपालि के पो हो त्यो ‘फ्री फायर गेम’ खेल्छ, रातदिन कसैसँग बोल्दैन, केही खाँदैन, त्यसैले चिन्ता लाग्ने गरेको छ”, ती किशोरका बुबाले भन्नुभयो । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणबाट बच्न सङ्घर्ष गरिरहनुभएका कैलालीको घोडाघोडीका हरिराम विकलाई यो निषेधाज्ञाको समयमा कोरोनाभन्दा पनि आफ्नी १५ वर्षीय छोरीले दिनरात एकोहोरिएर खेलिरहने इन्टरनेट गेमका कारण छोरीको मानसिक अवस्था केही होला कि भन्ने डरले सताएको छ ।

    हप्काउँदा वा कुटपिट गर्दा केही बालबालिकाले आफ्नो ज्यान जोखिममा पारेको सुन्नुभएका हरिराम छोरीलाई हप्काउन वा तर्साउन आफैँ डराउने गरेको बताउनुहुन्छ । “घरमा हामी आमाबाबुले बोलाउँदा नसुन्ने, झर्को मान्ने तथा एकोहोरिने खालका स्वभावले अझै चिन्ता थपिएको छ”, हरिराम भन्नुहुन्छ, “कहिलेकाहीँ मौका पारेर उसले प्रयोग गर्ने मोबाइल लुकाइदिँदा पनि गेम खेल्न नपाउँदा झिँजो मान्ने, झगडा गर्ने गरेको तथा बेलाबेलामा आफैँले भनेका कुराहरू पनि बिर्सिने गरेकाले इन्टरनेट गेमका कारण स्मरणशक्ति कमजोर भयो कि भन्ने हामीलाई लागेको छ, निषेधाज्ञा खुल्ने बित्तिकै नेपालगञ्ज उपचारका लागि लैजाने विचार गरेका छौँ ।”

    दशदेखि १५ वर्षसम्मका बालबालिकाहरू घण्टौँसम्म इन्टरनेटमा बिताइरहँदा उनीहरूमा मानसिक समस्या देखिने तथा आफूले खेलिरहेको खेलबाहेक अन्य कुनै कुराको ध्यान नहुने यहाँसम्म कि समयमा खाना समेत नखाने, अभिभावकले खाना खान बोलाउँदासमेत झर्किने, अभिभावकसँग झगडा गर्ने स्वभाव बढ्दै जाने मनोपरामर्शदाता सीता भण्डारीको भनाइ छ । अझ अहिले जारी निषेधाज्ञाको समयमा बालबालिकाहरु कोठाभित्र आनन्दले बसिरहेका छन् भनेर ढुक्कसँग बस्न नहुने उहाँको भनाइ छ । बालबालिकामा इन्टरनेट गेमको बढ्दो लत नियन्त्रण गर्न अभिभावक नै सचेत रहनुपर्ने मनोपरामर्शदाता भण्डारी बताउनुहुन्छ ।

    परिवारमा अभिभावक र बालबालिकासँगै बढी समय बिताउने तथा उनीहरूसँग कुराकानी गरिरहने र बालबालिकालाई नयाँनयाँ पकवानहरू बनाउन सिकाएर बढी समय व्यस्त बनाउन अभिभावकहरू सक्रिय हुँदा पनि बालबालिकामा बढ्दो इन्टरनेट गेमको लत घट्न सक्ने विश्वास भण्डारीको छ । अभिभावकले समयमै बालबालिकाको यो लतलाई नियन्त्रण गर्न प्रयास नगर्ने हो भने पछि गएर ठूलो समस्या हुने भन्दै अभिभावकले बढीभन्दा बढी समय आफ्ना बच्चाहरूसँग बिताउनुपर्ने मनोपरामर्शदाता भण्डारीको सुझाव छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.