सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन


  •    न्युजभित्तो/१८ माघ २०७७, आईतवार ११:५० 
  • – शर्मिला पाठक, काठमाडौँ, १८ माघ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु गरिएको हो ।

    गोर्खा भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन सकेको थिएन । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि आकर्षक ढङ्गले पुनःनिर्माण सकिए पनि नौ महिनापछि गत कात्तिक ५ गते स्कुल राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो ।

    कारोनाकै कारण लामो समय यस विद्यालयका विद्यार्थी र शिक्षकले पनि अन्यले जस्तै अनलाइनको माध्यमबाट घरबाटनै पठनपाठन अघि बढाएका थिए । एक हप्ताअघि नै कामपाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आजदेखि विद्यालय सञ्चालन गर्न लागिएको कामपा वडा २७ का सदस्य परिवेशमान बज्राचार्यले जानकारी दिनुभयो ।

    निर्धारित कोटाअनुरुप अहिले भानु माविको कक्षा ५, ६,७ र ८ मा विद्यार्थी सङ्ख्या पुगेको छ । भवनको निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए । नयाँ भवनमा विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले कक्षा ५, ६, ७ र ८ कक्षामा विद्यार्थीको बस्नका लागि सिट क्षमता बढाएको छ ।

    पुनःनिर्माणपछि सो विद्यालयमा प्रति कक्षा ३६ जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः छ जना विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिलकोे जस्तै देखिन्छ ।

    नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चार तले छ र यसमा ६० वटा कक्षा कोठा रहेका छन् । नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र साँस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको यस ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् । नयाँ भवनमा प्रयोशाला समेतको सुविधा र अङ्ग्रेजीमाध्यममा पढाइ हुने गरेको छ ।

    चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको निर्माणको काम चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले गरेको हो । भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुई वटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन् । रु ८५ करोड ५९ लाख लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ ।

    नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कुल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनी मार्गस्थित बाल्मिकी विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो । तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल रहन गएको हो ।

    तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कुल’ स्थापना गरेका थिए । राजा महाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको थियो । विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कुलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको हो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.