सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना परीक्षणमा आनाकानी


  •    न्युजभित्तो/२३ मंसिर २०७७, मंगलवार १४:४७ 
  • सुदूरपश्चिम, २३ मङ्सिर । धनगढीको व्यापारिक फर्ममा काम गर्दै आउनुभएका स्थानीय एकजना पुरुषलाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि बिदा मागेर घरमै बस्नुभयो । कोरोना भाइरस सङ्क्रमण भएको शङ्का गर्दै छिमेकी र परिवारका सदस्यले नमूना परीक्षण गराउन पटक पटक सल्लाह दिए पनि उहाँले परीक्षण गराउन मान्नु भएन ।

    घरमै तुलसीपात र ज्वानो घोलिएको तातोपानी नियमित खाने गर्नुभयो । घरको बसाइमा उहाँ १२ दिनमै सञ्चो भई आफ्नो नियमित काममा फर्किनुभयो । रुघाखोकी र ज्वरोको लक्षण देखिएका धनगढीकै अर्का नाम उल्लेख गर्न नचाहने पुरुषले पनि नमूना जाँच गराउन परिवार र छरछिमेकीले दिएको सल्लाह मान्नु भएन । उहाँले भन्नुभयोे, “नमूना लिन घरमै स्वास्थ्यकर्मी आइदिएको भए दिन्थे, घरबाहिर गएर नमूना दिन असहज महसुस हुँदा दिएन ।”

    कोरोनाको सङ्क्रमण भए/नभएकोबारे जानकारी नभए पनि बिरामी भएको समयमा घरमा बस्दा परिवारका अन्य सदस्यको स्वास्थ्य सुरक्षाका लागि भने आफू सचेत भएको उहाँले बताउनुभयो । घरमै अलग्गै बस्नुभएका उहाँ दुई हप्तापछि निको भई काममा फर्किनुभयो ।

    उहाँहरु जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने, हातखुट्टाका जोर्नी दुख्ने लक्षण देखिने कतिपय व्यक्ति पछिल्ला दिनमा आफ्नो नमूना परीक्षण गराउन इच्छुक देखिँदैनन् । कोरोना भएको पुष्टि भएमा समाजले सम्बन्धित व्यक्तिमाथि गर्ने व्यवहार र परिवारका सदस्यमा देखिन सक्ने त्रासका कारण पनि कतिपय व्यक्तिले आफ्नो नमूना जाँच गराउन इच्छुक नदेखिनु भएको बताइन्छ । यस्तो लक्षण देखिने व्यक्ति बिरामी भएर घरमै बस्ने गरेका छन् ।

    लक्षणसहित सिकिस्त अवस्थाका बिरामीले भने नमूना जाँच र परीक्षण गराउने गरेका छन् । पछिल्ला दिनमा प्रदेशमा नमूना सङ्कलनमा पनि कमी हुँदै गएको छ । प्रदेशका प्रयोगशालमा दैनिक छ हजार नमूना परीक्षण गर्ने क्षमता रहे पनि नमूना सङ्कलन सुस्त हुँदा निकै कम नमूनाको परीक्षण हुने गरेको छ ।

    पछिल्ला दिनमा अस्पतालमा गम्भीर अवस्थाका बिरामी बढ्दै जाँदा मृत्यु दर पनि बढ्दै गएको देखिएको छ । मङ्सिर १६ गतेयता एक हप्ताको अवधिमा प्रदेशका विभिन्न जिल्लाका कोभिड–१९ का शङ्कास्पद दुई हजार ३०६ जनाको नमूना सङ्कलन हुन सकेको छ । सो अवधिमा सक्रिय सङ्क्रमित ३३० जना थपिएका छन् भने चारजनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा एक हप्तामा थप ४६४ मा सङ्क्रमण देखिँदा १३१ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ८१६ पुग्दा नौ हजार ६४८ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज हुनुभएको छ ।

    सङ्कलन भएका केही नमूनाको परीक्षण हुन बाँकी छ । सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमर कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताउनुहुन्छ । “जाडो मौसममा भाइरल इम्फेक्सनको जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्न सक्छन्”, उहाँले भन्नुभयो, “कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दो छ ।”

    स्वास्थ्य निर्देशनालय दीपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले कोरोनाको जस्तो लक्षण भएर पनि कतिपयले आफ्नो नमूना जाँच नगराइरहेको भन्ने जानकारी नभएको बताउनुभयो । “हरेक पालिकामा व्यवस्था गरिएको सङ्कलन केन्द्रमा नमूना दिन सकिने व्यवस्था गरिएको छ”, जोशीले भन्नुभयो, “नमूना नदिनेलाई कोरोना भाइरसको सङ्क्रमण भएको भए त्यसले समाजमा थप जटिलता निम्त्याउन सक्छ ।”

    लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका व्यक्ति, अन्यत्र ठाउँवाट आएर क्वारेन्टिनमा बसेकाहरुको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्ने बताइएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीमा २२, कञ्चनपुरमा छ, डडेलधुरा र बझाङमा तीन/तीन, अछाम, बाजुरा, दार्चुलामा दुई/दुई, डोटी र बैतडीमा एक/एकजना छन् । सङ्क्रमित भई होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

    सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सातको सघन उपचार कक्ष (आइसियु)मा र दुईजनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । कोरोना भाइरस सङ्क्रमणको समस्यासँगै सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा सञ्चालनमा ल्याइएका पिसिआर मेसिनमार्फत कोरोनाको नमूना परीक्षण भइरहेको छ । तर मेसिन सञ्चालन गर्न आवश्यक सामग्रीको व्यवस्थापनमा ढिलाइ हुँदा कञ्चनपुरको महाकाली अस्पतालको यो मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि सो अस्पतालमा पिसिआर मेसिनको व्यवस्थापन भएको थियो । कैलालीको सेती प्रादेशिक अस्पतालमा दुई र डडेलधुरा, डोटी, बैतडी, अछाम अस्पतालमा व्यवस्थापन गरिएका एक/एक पिसिआर मेसिनबाट कोरोनाको नमूना परीक्षण भइरहेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.