सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट


  •    न्युजभित्तो/३ कार्तिक २०८३, सोमबार १२:४१ 
  • भीष्मराज ओझा 

    काठमाडौँ, २ कात्तिक । नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही कात्तिक ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन् ।

    यो सञ्जाल हिमालयका याक कृषक समुदायमा मात्र केन्द्रित पहिलो क्षेत्रीय मञ्च हो । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार यसको स्थापना कृषक, सरकार र विकास साझेदारबीच करिब एकदशकदेखि जारी सहकार्यको परिणाम हो । जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण र बसाइँसराइका कारण हिमाली समुदायले बढ्दो चुनौतीको सामना गरिरहेका बेला यो सञ्जाल स्थापना हुन लागेको हो । महोत्सवमा भुटानका राजा तथा प्रधानमन्त्रीको उपस्थिति रहने इसिमोडले जनाएको छ ।

    यो सञ्जाल याक कृषक समुदायबीच सामूहिक पैरवी, ज्ञान आदानप्रदान, क्षमता विकास र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्षेत्रीय मञ्च हो । कृषकद्वारा स्थापित र उनीहरूकै नेतृत्वमा सञ्चालित विश्व ‘रेनडियर एसोसिएसन’बाट प्रेरित यस सञ्जालको नेतृत्व हिमालय क्षेत्रका याकपालक कृषकले गर्नेछन् । यसको सचिवालय भुटानमा रहनेछ ।

    महोत्सवमा याक तथा चौँरी कृषक महासङ्घ नेपाल, भुटान याक महासङ्घ र भारत याक महासङ्घका साथै नेपाल, भुटान र भारतका सरकारी प्रतिनिधिहरू, अनुसन्धानकर्ता, विकास साझेदार तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ । महोत्सव यही असोज ६ र ७ गते भुटानमा हुँदैछ ।

    याकपालनले हिमाली भेगमा बसोबास गर्ने समुदायको जीविकोपार्जन, संस्कृति र स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउँछ । तथापि, तीनै याकपालक समुदायले विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् । इसिमोडका वरिष्ठ पशुपालन तथा चरन क्षेत्र विशेषज्ञ ताशी दोर्जीका अनुसार याकपालक समुदायले खासगरी याक चौँरीको सङ्ख्या घट्दो क्रममा रहेको, चरन क्षेत्रहरू खुम्चिँदै र क्षयीकरण हुँदै गएका, जलवायु परिवर्तनका असरहरू, याकको आनुवंशिक विविधतामा ह्रास, वन्यजन्तुबाट हुने पशुधन क्षति, बजार तथा सेवामा सीमित पहुँच, उच्च पहाडी र हिमाली क्षेत्रबाट युवाको बसाइँसराइजस्ता चुनौतीको सामना गरिरहेका छन् ।

    यी चुनौती राष्ट्रिय सीमाभन्दा परसम्म फैलिएका छन् र तिनको समाधानका लागि क्षेत्रीय सहकार्य आवश्यक छ । हिमालय याक कृषक सञ्जालले सामूहिक पैरवी, ज्ञान आदानप्रदान, क्षमता विकास र सीमापार सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गर्नेछ । तीनै देशका राष्ट्रिय महासङ्घलाई एकैठाउँमा ल्याउँदै यस सञ्जालले उत्थानशील जीविकोपार्जनका अवसर विस्तार गर्ने, स्वस्थ चरन क्षेत्रको संरक्षण गर्ने र याकका आनुवंशिक स्रोतको संरक्षणलाई सुदृढ बनाउने लक्ष्य राखेको विशेषज्ञ दोर्जीको भनाइ छ ।

    क्षेत्रीय याक कृषक सञ्जालको परिकल्पना सन् २०१६ मा भएको थियो । त्यसबेला इसिमोडको कञ्चनजङ्घा भू–परिदृश्य संरक्षण तथा विकास पहलमार्फत तीनै देशका याक कृषक, अनुसन्धानकर्ता तथा सरकारी प्रतिनिधि एकै ठाउँमा भेला भएका थिए । सन् २०१८ मा यस क्षेत्रका प्रतिनिधि नर्वेमा आयोजित आर्कटिक फ्रन्टियर्स सम्मेलनमा सहभागी भए र विश्व रेनडियर कृषक सङ्घसँग अन्तरक्रिया गरेका थिए ।

    उक्त सङ्घको सीमापार मोडेलबाट प्रेरित भएर हिन्दुकुश हिमालय क्षेत्रमा पनि यस्तै क्षेत्रीय मञ्च स्थापना गर्ने अवधारणा विकसित भएको हो । त्यसपछि तीनै देशले क्षेत्रीय सञ्जाल स्थापना गर्नुअघि सशक्त राष्ट्रिय महासङ्घ गठन गर्ने सहमति गरेका थिए । सोहीअनुसार भुटानमा सन् २०२२, नेपालमा सन् २०२३ र भारतमा सन् २०२५ मा राष्ट्रिय महासङ्घ औपचारिक रूपमा गठन भएका थिए ।

    सन् २०२५ मा भियतनाममा आयोजित विकासशील देशका लागि दिगो पशु कृषिसम्बन्धी दशौँ सम्मेलनमा महासङ्घका नेतृत्वकर्ता र सरकारी प्रतिनिधिले हिमालय याक कृषक सञ्जालको स्थापना गर्ने औपचारिक प्रतिबद्धता जनाएका थिए । भुटानको रोयल हाइल्यान्ड महोत्सवमा हुन लागेको यो शुभारम्भ हिमालयका याक कृषक समुदाय र उनीहरूका साझेदारबीच करिब एकदशकदेखि हुँदै आएको सहकार्यको महत्त्वपूर्ण उपलब्धि हो ।

    तीन देशमा चरन क्षेत्र र याकपालनको अवस्था  

    हिन्दूकुश हिमालय क्षेत्रको ६० प्रतिशतभन्दा बढी भू–भाग चरन क्षेत्रले ओगटेको छ । जीविकोपार्जनका लागि प्रत्यक्ष रूपमा निर्भर रहेका दुई करोड ५० लाखदेखि तीन करोड आदिवासी तथा स्थानीय समुदायका लागि चरन क्षेत्र नै प्रमुख स्रोत हो ।

    राष्ट्रिय कृषि गणना (२०२१/२२) अनुसार, नेपालका नौ हजार ८९९ कृषकले अनुमानित ५३ हजार १९५ याक/नाक/चौँरी पालेका छन् । नेपालको कर्णाली प्रदेशमा मात्रै चरन क्षेत्रले देशको कुल क्षेत्रफलको ३४ प्रतिशत हिस्सा ओगटेको छ । यहाँ ९२ प्रजातिका औषधीय वनस्पति पाइन्छन्, जसमध्ये ८२ प्रजातिको हाल बजारमा सक्रिय रूपमा कारोबार हुन्छ । यी वनस्पतिको व्यापारबाट वार्षिक करिब तीन करोड ६० लाख नेपाली रुपैयाँ आम्दानी हुने गरेको छ ।

    भारतको २०औँ पशुधन गणना (२०१९) अनुसार, देशमा करिब ५८ हजार याक थिए । याक फेडेरेसन अफ इन्डियाका अनुसार, सन् २०२६ मा फेडेरेसनका ५२६ सदस्य घरधुरीसँग करिब ३२ हजार याक छन् ।

    भुटानको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनएसबी) को सन् २०२४ को तथ्याङ्कअनुसार, देशका ७४६ घरधुरीले कुल २९ हजार ४३२ याक पालेका छन् । देशको कुल पशुजन्य उत्पादनमा याकपालनको योगदान चार प्रतिशत रहेको छ ।

    भुटान, भारत र नेपालमा विगतका केही दशकयता भू–उपयोगको बदलिँदो स्वरूप, चरन क्षेत्रको क्षयीकरण, जलवायुजन्य दबाब र सामाजिक–आर्थिक परिवर्तनका कारण याकको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको इसिमोडको तथ्याङ्क छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.