सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने


  •    न्युजभित्तो/२४ चैत्र २०८२, मंगलवार १२:१८ 
  • काठमाडौँ, २४ चैतः नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो । विशेषगरी ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया अघि बढाइएको छ ।

    सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने उद्देश्यसहित १० बुँदे सुधारात्मक कार्ययोजना ल्याएको छ । यस योजनामा नेपाल टेलिकमको सेवा सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । यसअन्तर्गत ग्राहक सेवालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । विगतमा सेवा अवरोध, ढिलो प्रतिक्रिया, अनावश्यक प्रक्रियागत झन्झट र ग्राहकको गुनासो समाधानमा ढिलाइजस्ता समस्या बारम्बार उठ्दै आएका थिए । यिनै समस्यालाई सम्बोधन गर्न अहिले मन्त्रालय र कम्पनी दुवैले समन्वयात्मक ढंगले काम गरिरहेका छन् ।

    नेपाल टेलिकमका प्रयोगकर्ताहरूले लामो समयदेखि डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याबारे गुनासो गर्दै आएका थिए । अब यो प्रणाली अन्त्य गरिएको छ । यसको सट्टा ग्राहकले थप पारदर्शी र आफैँ छान्न सक्ने विकल्पसहितको सेवा पाउनेछन् । अब ग्राहकले लिएको डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिइनेछ । जसले बाँकी डाटा कति छ भन्ने जानकारी समयमै दिन्छ । यससँगै ‘पे–एज–यू–गो’ (पिएवाईजी) अर्थात् डाटा प्याकेजबिनै इन्टरनेट चलाउने र रकम काट्ने विकल्प उपलब्ध गराइएको छ । जसले ग्राहकलाई प्याकेजबिना पनि आवश्यकताअनुसार इन्टरनेट प्रयोग गर्नसक्ने सुविधा दिन्छ । साथै, ग्राहकले नयाँ प्याकेज लिने वा सिधै पिएवाइजी मोडमा जाने भन्ने निर्णय आफैँ गर्न सक्नेछन् ।

    नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो प्रणाली हाल परीक्षण चरणमा रहेको र केही दिनभित्रै पूर्ण रूपमा लागू हुनेछ । उहाँका अनुसार ‘युएसएसडि’मार्फत खरिद गरिने डाटा प्याकमा यो सुविधा तीनदेखि पाँच दिनभित्र लागू हुनेछ भने नेपाल टेलिकमको मोबाइल एप प्रयोग गर्ने ग्राहकका लागि सातदेखि १० दिनभित्र कार्यान्वयनमा आउनेछ । यसले डिजिटल माध्यममार्फत सेवा प्रयोग गर्ने ग्राहकहरूलाई अझ सहज अनुभव दिने विश्वास लिइएको छ ।

    नेपाल टेलिकमका ग्राहक सेवा प्रक्रियालाई सरल र प्रभावकारी बनाउन ‘वन टाइम केवाइसी’ प्रणाली लागू गर्न पनि सञ्चारमन्त्री तिमिल्सिनाले निर्देशन दिनुभएको छ । यसबाट ग्राहकले एकपटक मात्र आफ्नो विवरण बुझाएपछि भविष्यमा फेरि त्यही विवरण पेस गर्नुपर्ने झन्झट अन्त्य हुने जनाइएको छ । अहिले सिम कार्ड लिन, नवीकरण गर्न वा अन्य सेवा लिन जाँदा बारम्बार कागजात पेस गर्नुपर्ने समस्या थियो । जसले ग्राहकलाई हैरानी दिँदै आएको थियो । नयाँ प्रणाली लागू भएपछि सेवा प्राप्ति प्रक्रिया छिटो, सरल र झन्झटरहित हुने अपेक्षा गरिएको छ । यो प्रणाली आगामी ३० दिनभित्र कार्यान्वयनमा ल्याइसक्ने लक्ष्य राखिएको छ ।

    डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरू पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी पनि तीव्र बनाएको छ । ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा सिम स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू अब घरमै बसेर अनलाइन माध्यमबाट लिन सकिनेछ । यसले विशेषगरी दुर्गम क्षेत्रका ग्राहकलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ । साथै कार्यालयमा हुने भीड घटाउने र सेवा वितरणलाई थप व्यवस्थित बनाउने ठानिएको छ ।

    ग्राहक सेवा सुधारकै अर्को महत्वपूर्ण पक्षका रूपमा ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने योजना अघि सारिएको छ । मन्त्रालयको कार्ययोजनाअनुसार नेपाल टेलिकमका सबै कार्यालयमा यस्तो सहायता कक्ष स्थापना गरिनेछ र ग्राहकले एकै ठाउँबाट आफ्ना सबै समस्याको समाधान पाउनेछन् । यसले विभिन्न काउन्टर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने र सेवा प्राप्तिको समय घटाउने अपेक्षा गरिएको छ ।

    यससँगै, फोरजी मोबाइल नेटवर्क सेवाको गुणस्तर सुधार गर्ने काम पनि भइरहेको छ । हाल देशका विभिन्न स्थानमा फोरजी सेवा कमजोर रहेको गुनासो व्यापक रूपमा उठ्दै आएको छ । यस समस्यालाई समाधान गर्न नीतिगत व्यवस्था परिमार्जन गर्ने र थप फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । आगामी ३० दिनभित्र आवश्यक नीतिगत सुधार सम्पन्न गरी सेवा गुणस्तरमा सुधार ल्याउने लक्ष्य राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.